गौरवको बबई सिंचाइमा ढिलासुस्ती

गौरवको बबई सिंचाइमा ढिलासुस्ती

गुलरिया : तीन दशक अघि बर्दियाका खेती योग्य जमिनहरुमा सिंचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित सुरु गरिएको बबई सिंचाइ आयोजना निर्माणको काम समयमै सम्पन्न नहुँदा किसानहरु निराश बनेका छन्। पाँचौ गुरुयोजनाको चरणमा रहेको आयोजनामा बर्षेनी योजना थपिँदा निर्माण कार्यले पूर्णता पाउन नसकेको हो। 

    
आयोजनाले स्थानीयको आशा अनुसार चाहिने समयमा सिंचाइ सुविधा उपलब्ध गराउन नसकेको बाँसगढी नगरपालिका-५ निवासी लोकराज पौडेलको गुनासो छ। 'आवस्यक परेका बेलामा कुलोमा पानी नआउँदा हामी चिन्तित छौं। बिउ राख्दा, गहुँ, मकै छर्ने बेलामा सिंचाइ सुविधा नपाउँदा पिडित हुन्छौं', उनले भने, 'बबई सिंचाइ आयोजनाको निर्माणाधीन संरचना पूर्ण रुपमा सम्पन्न नहुँदा सास्ती खेप्नु परेको छ।'

पौडेलले राष्ट्रिय गौरवको बबई सिंचाइ आयोजना बर्दियाली किसानहरुका लागि आशा र भरोसाको केन्द्र भएकाले सरकारले नयाँ रणनितिका साथ तोकिएकै समयमा काम सम्पन्न गरी किसानप्रति उत्तरदायी बन्नु पर्ने बताए। राष्ट्रिय गौरबको आयोजना कृषिको उर्भरभुमी मानिने बर्दियाका किसानहरुको आशाको केन्द्रका रुपमा स्थापित भएको छ। आयोजना निर्माणको ३३ वर्ष पुगिसक्दा पनि निर्माण सम्पन्न हुन नसक्नु बर्दियाबासीको र्दुभाग्य हो। 

बर्दियाका ३६ हजार हेक्टर क्षेत्रफलमा बाह्रै महिना सिंचाइ सुविधा पुर्याउने लक्ष्य लिएर बबई सिंचाइ आयोजनाले काम अघि बढाएको आयोजना निर्देशक नविन चन्द्र अधिकारीले बताए। उनले भने, '०४५ सालमा स्थापना भएको बबई सिंचाइले ८ वर्ष अघि मात्र राष्ट्रिय गौरवको आयोजनाको रुपमा काम गर्दै आएको छ। स्थापना कालदेखि २४ वर्षको समयावधिसम्म आयोजनाले सामान्य रुपमा काम गर्दै आएको थियो। गौरबको आयोजना घोषणापछि तीव्र रुपमा काम अघि बढेको छ।' उनले बर्दियाको खेतीयोग्य जमिनमा निरन्तर पानी पुर्याउने लक्ष्य रहेको बताए।

आयोजनालाई जग्गा प्राप्तीमा सामाजिक तथा प्रकृयागत जटिलता पनि ढिलाएको कारण बनेको उनले बताए। मुआब्जा दर निर्धारण, नदीजन्य सामाग्री अभाव लगायत ५ महिना मात्र काम गर्ने समयका कारण आयोजनाको कामले तीव्र गति लिन नसकेको उनले प्रष्ट्याए। बबई सिंचाइ आयोजनाले पूर्वमा बढैयाताल गाउँपालिका, बारबर्दिया, बाँसगढी र गुलरिया नगरपालिकाका केही क्षेत्र र पश्चिमतर्फ ठाकुरबाबा, मधुवन र गुलरिया नगरपालिकाको बाँकी क्षेत्रमा सिंचाइ सुविधा पुर्‍याउने गरी काम गर्दैछ।

आयोजनाले आधा काम मात्र गर्न भ्याएको छ। आयोजनाले भौतिक तथा वित्तीय प्रगती पूर्ण रुपमा गर्न बाँकी नै छ। बबई सिंचाइ आयोजनातर्फ ३४ किलोमिटर र पश्चिमतर्फ २८ किलोमिटर नहरको भौतिक संरचना निर्माण सम्पन्न गरेको छ। पश्चिमतर्फ १५ किलोमिटर नहर निर्माणको काम अझै बाँकी रहेको बबई सिंचाइ आयोजनाका सिनियर डिभिजनल ईन्जिनियर रामकृष्ण घोरासैनीले बताए। आयोजनाले सुरुदेखि आजको दिनसम्म साढे १० अर्ब बजेट खर्च गर्दै समष्टिगत रुपमा ५३ दशमलव ६९ प्रतिशत वित्तीय र ५७ दशमलव ३४ प्रतिशत भौतिक प्रगती गरेको छ। 

चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्ममा ६२ करोड रुपैयाँ खर्च गर्दै ५९ वटा ठेक्का चालु अवस्थामा छन्। आयोजनाले हालसम्म ४ सय २३ दशमलव ४७ हेक्टर जग्गा अधिग्रहण, ७९ दशमलव ७५ प्रतिशत मूलनहर निर्माण र २०९ दशमलव ३८ किलोमिटर शाखा, उपशाखा तथा प्रशाखा नहर निर्माणको काम सम्पन्न गरेको प्रष्ट्याउँदै सिनियर इन्जिनियर घौरासैनीले भने, 'बबई सिंचाइ आयोजना स्थापना भएदेखि गौरवको आयोजना नहुँदासम्मको अवधिमा भौतिक तथा वित्तिय प्रगतिमा फड्को मार्न सकेको देखिंदैन।'

गौरबको आयोजना घोषणापश्चात् बजेटको भोल्युम बढेपछि कामले पनि गति लिएको छ। त्यसअघि न्युन बजेटका कारण आयोजनाको प्रगति कछुवाको गतिमा भएको हो। आयोजनाले किसानहरुका लागि ७ महिना नहरमा पानी दिनुपर्छ। ५ महिना मात्र आयोजनाको भौतिक निर्माणको समय रहेकाले पनि भौतिक प्रगतिमा समस्या पर्ने गर्छ। ३६ हजार हेक्टर क्षेत्रफलमा सिंचाइ सुविधा पुर्याउने लक्ष्य लिए पनि योजना सम्पन्न नहुँदा साढे २४ हजार हेक्टरमा मात्र ७ महिना सिंचाइ सुविधा उपलब्ध हुने गरेको छ। आयोजनाको भौतिक संरचना निर्माणाधीन अवस्थामा रहेकाले सुख्खा महिनामा पानीको अभाव हुने गरेको उनले बताए। 

'आयोजनाको आर्थिक वर्ष ०८२/८३ सम्ममा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य छ। रुस युक्रेन युद्धको प्रभावले तेल लगायत आयातित बस्तुमा मुल्यबृद्धि हुँदा निर्माण कम्पनीहरुले नहर निर्माणको कार्य गर्न समस्या परेको बताउँदै आएका छन्। डण्डी लगायतका निर्माण सामाग्रीको मुल्य आकाशीयपछि कतिपय ठेकेदारहरुले साईट निर्माणको काम ठप्प पारेका छन्', घोरासैनीले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.