चौवाटार सिँचाइ योजना सम्पन्न
सन्धिखर्क : अर्घाखाँचीकै गौरबको योजनाकोरुपमा रहेको चौवाटार सिँचाइ योजनाको निर्माण कार्य सम्पन्न भएको छ। छत्रदेव गाउँपालिका-६ ठुलापोखरामा रहेको यस सिँचाइ योजना सम्पन्न भएपछि चौवा फाट र आसपासका कृषकहरु खुशी भएका छन्।
सिँचाइ आयोजनाको शुक्रबार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री बिरबहादुर रानाले उद्धाटन गरेका छन्। सिँचाइ आयोजनाको उद्धाटन गर्दै मन्त्री रानाले सबै कृषकहरुलाई ब्यावसायीक कृषिमा लाग्न आग्रह गरेका छनु। उनले सरकारको लगानीमा निर्माण भएका भौतिक संरचनाहरुको स्थानीयहरुले संरक्षण गर्नुपर्नेमा जोड दिए।
यस सिँचाइ योजनाबाट २ सय २० घरधुरीका १४ सय ५० जना प्रत्यक्ष लाभान्वित भएका छन्। जरेखोला मिलमिलेबाट सेरीखोलासम्म ८ हजार २ सय मिटर लम्बाई रहेको यस सिँचाइ योजना ८ करोड ३९ लाखको लागतमा सम्पन्न भएको सिँचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीका प्रमुख इन्जिनीयर बिष्णु भण्डारीले बताए।
२०४३ साल देखिनै योजना पारेर कुलो निर्माण गर्न स्थानीयहरु अग्रसर भएपनि त्यो सपना अहिले ३६ बर्ष पछि पूरा भएको छ। २०७४ सालको स्थानीय तहको निर्वाचनमा जनतासँग आफूले गरेको चुनाबी प्रतिबद्धता अनुसार चौवाटार सिँचाइ योजनाको काम सम्पन्न भएको छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताए।