ताप्लेजुङमा शुक्रबारबाट प्रदेशस्तरीय स्नोकर प्रतियोगिता
ताप्लेजुङ : थेरेङ्नाम सांस्कृतिक मेलाको अवसरमा ताप्लेजुङमा शुक्रबारबाट प्रदेशस्तरीय स्नोकर प्रतियोगिता सुरु भएको छ।
प्रदेश नं १ का ५१ जना खेलाडी सहभागी हुने प्रतियोगिता आगामी बैशाख १ गतेसम्म सञ्चालन हुनेछ। किराँत याक्थुङ चुम्लुङ फुङलिङ नगरसमितिको आयोजना तथा मूनाल स्नोकर हाउसको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भएको हो।
खेलको फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले उद्घाटन गरेका छन्। प्रतियोगितामा नेपालको तर्फबाट एसियन कपमा सहभागी सन्जय बज्राचार्य र आयुष गौतमको पनि सहभागिता रहेको खेल संयोजक ज्ञानेन्द्र भट्टराईले बताए।
विलियाड स्नोकर एण्ड पुल एसोसिएसन नेपालको राष्ट्रिय नियम अनुसार सञ्चालन हुने खेलको विजेताले नगद ७० हजारसहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै उपविजेताले नगद ३० हजारसहित ट्रफि मेडल र प्रमाणपत्र, तृतिय हुने दुईजनाले जनही १० हजारसहित प्रमाणपत्र पाउने आयोजकले जनाएको छ।
यता विद्यागततर्फ बेष्ट प्लेयरले नगद १० हजार, हाईएष्ट ब्रेकले नगद १५ हजार र म्याक्सिमम ब्रेकले नगद ६० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
ताप्लेजुङमा प्रदेशस्तरीय स्नोकर प्रतियोगिता सञ्चालन गरेको यो पहिलोपटक हो।