३२ थरी गुराँस ढकमक्क
दक्षिण–मध्य चीन, म्यान्मार र तिब्बतमा मात्र पाइने रोडोडेन्ड्रन ट्राइकोक्लाडम् भारत, भुटानमा अहिलेसम्म फेला परेको अभिलेख छैन। तर, नेपालमा कसरी आइपुग्यो भन्ने सन्दर्भ पंत्तिकारलगायत केही नेपाली वनस्पतिविज्ञको मथिंगल दुखाइरहेको थियो। यो लेखले त्यो कुरा पनि किनारा लगाएको छ।
गुराँस रोडोडेन्ड्रन जातिअन्तर्गतका वनस्पति हो। सन् १७५३ मा ग्रिक भाषाको ‘रोडोन’ र ‘डेन्ड्रन’ २ शब्द संयोजन गराएर रोडोडेन्ड्रन जाति बनाइएको हो। अघिल्लो र पछिल्लो शब्दले क्रमशः गुलाब र रुख भन्ने अथ्र्याउँछ।यसले फूल गुलाबजस्तो र बोट रुखजस्तो हुने जनाउँछ। तर, सबै प्रजातिको बोट रुख हुन्न। कुनै झाडी वर्गमा पर्छन् त कुनै मात्र ५/६ इन्च अग्ला छन्। गुराँसको बोटको आकार ठूलो, मझौला वा सानो भएजस्तै पात, फूल आदिका आकृतिमा पनि विविधता छ। फरक जे जति भए पनि तिनका फूल र पातको आकृतिबाट यो जातिका वनस्पति अन्य जातिका वनस्पतिसँग प्रष्ट रूपमा छुट्टिन्छ।
गुराँस प्रजाति पहिचानको मुख्य आधार फूलको संरचनाअन्तर्गत पुष्पपत्र (पेटल)को एकमुष्ट संरचना हो। गुराँसको पाँचवटा पुष्पपत्रहरू जोडिएको हुन्छ। पुष्पपत्र जोडिएर ट्युब, घण्टी, सोली आदि आकारजस्तो देखिन्छ। यस्ता आकृति हेर्दा उस्ताउस्तै देखिए पनि गुराँस जातिअन्तर्गतका वनस्पतिमा आधा दर्जनभन्दा बढी किसिमका छन्।
यस्तै, पातमा रौं हुने, नहुनेसहित यसको पात तथा डाँठमा हुने कत्ला (स्केल्स) भित्रका रसयान यसका थप पहिचानका आधार हुन्। धेरैजसो गुराँसको पातमुनि ससाना रौंरूपी आकृतिबाट छपक्क कार्पेटले ढाकेजस्तो इन्डुमेन्टम हुन्छ। यस्ता रौं ८/९ भिन्न किसिमका छन्। पातमा स्पष्ट देखिने रौं भए त्यस्ता पातलाई हेयरी लिफ वा
टोमेन्टस लिफ भनिन्छ।
रोडोडेन्ड्रन एन्थोपोगोन :
सुनपाते भनिने यो प्रजाति ढुंगेनी पाखामा तीन हजारदेखि पाँच हजार मिटर भौगोलिक उचाइसम्म पाइन्छ। बोट एक मिटरसम्म अग्लो, पातको माथिल्लो सतहमा हल्का कत्ला र तल्लो सतहमा बास्नादार इन्डुमेन्टम हुन्छ। यो प्रजाति हल्का सेतो तथा नौनी रङमा वैशाखदेखि असारसम्म झुप्पोमा फुल्छ। पत्रदल किनारमा अर्थात् फूलको तल्लोपट्टि रौं बाक्लै हुन्छ। ल्याटिन भाषामा फूल (एन्थोस)को मुनिपट्टि (पोगन) रौं हुने अर्थमा यो प्रजाति नामकरणमा भएको हो। यसको बास्नादार मुन्टा तथा पात धुपका रूपमा प्रयोग गरिन्छ।
रोडोडेन्ड्रन अर्बोरियम् :
१२ सयदेखि ३५ सय मिटर उचाइसम्म पाइने यो प्रजातिको बोक्रा चिरा परेको हुनाले सजिलै उप्किन्छ। बोट ठूलो हुने अर्थमा यो प्रजाति नामकरणमा अर्बोरियम शब्द जोडिएको हो। अक्सर रातो रङमा फुल्ने भएकाले यसलाई लालीगुराँस भनिन्छ। तर पनि हल्का सेतो, खरानी, हल्का प्याजी, कतै गुलाबी रङमा पुसदेखि असारसम्म फुल्छ। पुष्पपत्रमा ससाना दागहरू हुन्छन्। भूगोल विशेषमा फरकफरक प्रकृतिका इन्डुमेन्टम हुन्छ। यस आधारमा यो प्रजातिलाई थप उप–प्रजाति तथा भेराइटीमा विभाजन गरिएका छन्। यो प्रजातिमा इन्डुमेन्टम नहुने पनि हुन्छ।
रोडोडेन्ड्रन बार्बाटम्
यो प्रजाति ७÷८ मिटरसम्म पाइन्छ। अग्लो, बोक्रा पातलो, सजिलै उप्किने र उप्किएको ठाउँ हल्का रातो हुन्छ। जुन २४ सयदेखि ३५ सय मिटरसम्मको भौगोलिक उचाइसम्म पाइन्छ। कलिलो मुनामा लामा रांै रहने यो प्रजाति गाडा रातो रङमा वैशाखदेखि असारसम्म फुल्छ। यसलाई रातो चिमाल भनिन्छ। पुष्पपत्रको भित्रपट्टि लालीगुुराँसमा जस्तो दाग नभए पनि यी दुई प्रजाति टाढाबाट कुन हो भनेर छुट्ट्याउन सकिन्न। ल्याटिन भाषामा बार्बको अर्थ रौं हुन्छ। त्यसैले यो प्रजातिको विशेष फरकपन बुझाउन प्रजाति नामकरणमा बार्बाटम शब्द प्रयोग भयो।
रोडोडेन्ड्रन क्यामेल्लिफ्लोरम्
यो प्रजातिको बोट १–१.५ मिटरसम्मको हुन्छ। जुन २४ सयदेखि ३४ सय मिटर भौगोलिक उचाइमा पाइन्छ। यो ओसिलो पाखा तथा झ्याउ उम्रेको ठूला चट्टानमा विरलै पाइन्छ। वैशाखदेखि असारसम्म हल्का पहेंलो र नौनी रङमा फुल्छ यो प्रजाति। जसको फूलमा भाले प्रजनन अंग अर्थात् स्टामेन गोलो घेरामा फुल्छ। फूलको आकार चियाको फूल जस्तो देखिन्छ। त्यसैले यो प्रजातिको नामकरण क्यामेल्लिफ्लोरम् राखिएको हो। यसको पातको मुनिको भाग खैरो इन्डुमेन्टम हुन्छ।
रोडोडेन्ड्रन कम्पानुलाटम्
पाँच मिटरसम्म अग्लो यो प्रजाति बोक्रा खैरोखैरो (ग्रेइस ब्राउन) हुन्छ। जुन २८ सयदेखि चार हजार मिटर भौगोलिक उचाइसम्म ओसिलो पाखामा हुन्छ। यो सेतो र बैजनी रङमा वैशाखदेखि असारसम्म फुल्छ। फूलको आकार घण्टीजस्तो हुन्छ। त्यसैले यसको प्रजाति नामकरण कम्पानुलाटम् भएको हो। फूलको माथिल्लो भागको पुष्पपत्रमा मसिना थोप्लाहरू हुन्छ। यसको पातको टुप्पो र भेट्नो अर्धगोलाकार तथा पातमुनिको सतह बाक्लो खैरो, उनजस्तो इन्डुमेन्टम हुन्छ। यो प्रजातिसँग रोडोडेन्ड्रन वालिची प्रजाति उस्ताउस्तै देखिन्छ।
रोडोडेन्ड्रन क्याम्पिलोकार्पम्
चार मिटरसम्म अग्लो हुने यो प्रजाति तीन हजारदेखि चार हजार मिटर उचाइसम्म पूर्वी नेपालमा पाइन्छ। यसको पात गोलाकार–अन्डाकार र टुप्पो तिखारिएको हुन्छ। वैशाखदेखि असारसम्म फुल्ने यसको पुष्पपत्र फिका सल्फर–पहेंलो (पेल सल्फर– येल्लोे) रङको हुन्छ। यसको स्त्री प्रजनन अंग बांगिएको भन्ने (क्यापिलोस) अर्थमा यसको प्रजाति नामकरण क्याम्पिलोकार्पम् भएको हो।
रोडोडेन्ड्रन लेपिडोटम्
भाले सुनपाते भनिने यो प्रजाति दुई मिटरसम्म अग्लो, कलिलो मुना कत्लाले ढाकेको हुन्छ। यसको बोक्रा खैरो हुन्छ। यो २४ सयदेखि ४५ सय मिटर उचाइसम्म पाइन्छ। यसको पातको माथिल्लो र तल्लो दुवै भागमा पहेंलो–खैरो इन्डुमेन्टमबाट अक्सर ढाकिएको हुन्छ। विभिन्न रङमा यसको फूल वैशाखदेखि असारसम्म फुल्छ। यसको काण्डमा लेपिडोट्स अर्थात् ससाना कत्ला वा स्केल्स हुन्छ। सोही अर्थमा यसको प्रजाति नामकरण लेपिडोटम् भएको हो। यसको मुन्टा तथा टुप्पा धुपमा प्रयोग गरिन्छ।
रोडोडेन्ड्रन ल्वोन्डेसी
यो नेपालमा मात्र पाइने सबैभन्दा होचो प्रजाति हो। जुन ५÷६ इन्च जति मात्र अग्लो यो तीन हजारदेखि ४५ सय मिटर भौगोलिक उचाइसम्म पाइन्छ। यसको फूल रोडोडेन्ड्रन लेपिडोटम् जस्तै हुन्छ। तर, लेपिडोटम्को सदाबहार प्रकृतिको वनस्पति हो। यसको पात कहिल्यै पनि सबै झर्दैन। रोडोडेन्ड्रन ल्वोन्डेसी पतझड प्रकृतिको वनस्पति हो। पात फुल्न लाग्दा पलाउँछ। जेठ–असारमा हल्को नौनी वा हल्का पहेंलो रङमा फुल्छ। ब्रिटिस आर्मीको कर्नेल डोनाल्ड जर्ज लोन्डेसले संकलन गरेकाले उनैको सम्मानमा यो प्रजाति ल्वोन्डेसी नामकरण भएको हो।
रोडोडेन्ड्रन निभाले
६०–१२० सेमि लामो यो प्रजाति जमिनमा एकापसमा बाक्लै जेलिएर लत्रिएर रहन्छ। जुन ४४ सयदेखि ४७ सय मिटर भौगोलिक उचाइमा पाइन्छ। यसको बोक्रा खैरौ र हल्का पहेंलो अनि पात अर्ध गोलाकार हुन्छ। भेट्नो छोटो, भेट्नो र टुप्पो अर्धगोलाकार, पातको माथि र मुनि मसिना कत्ला हुन्छ। यो जेठ–असारमा फुल्छ। यो प्रजाति नामकरणमा ल्याटिन भाषामा हिउँ सहन सक्ने अर्थमा निभाले प्रयोग गरिएको हो।
रोडोडेन्ड्रन ट्राइफ्लोरम्
यो प्रजाति सात मिटरसम्म अग्लो, छिप्पिको काण्डको बोक्रा चिल्लो, हल्का तामा रङको हुन्छ। उप्किने किसिमको यो २९ सयदेखि ३६ सय मिटर उचाइसम्मको भौगोलिक उचाइमा पाइन्छ। यो अक्सर खुल्ला ठाउँमा हुन्छ। पातको भेट्नु साँघुरिएको तथा टुप्पो चुच्चो, तल्लो सतहमा विरलै इन्डुमेन्टम हुन्छ। तीनवटा फूल भन्ने अर्थमा यसको प्रजाति नामकरण ट्राइफ्लोरम् भएको हो। यसको नमुना संखुवासभाको अरुण उपत्यकास्थित कसुवा खोला आसपासको क्षेत्रबाट सन् १९५६ र १९७४ मा संकलन भएका थिए।
रोडोडेन्ड्रन सिलिएटम्
यो प्रजाति २७ सयदेखि ३९ सय मिटर उचाइसम्म पाइन्छ। दुई अढाइ मिटर अग्लो बोट हुन्छ। यसको पात अन्डाकार लाम्चो र पातको माथिल्लो सतहमा रौं हुन्छ। वैशाख–जेठ महिनामा फिका गुलाबी तथा सेतो रङमा फुल्छ। फूलको भेट्नुमा पनि प्रशस्त रौं हुन्छ। फूलको आकार सिलिएट अर्थात् लाम्चो (पिँधतिर साँँघुरिएको) घण्टीजस्तो भएकै कारण यसको प्रजाति नामकरण सिलिएटम् भएको हो।
रोडोडेन्ड्रन सिन्नाबारिनम्
तीनदेखि पाँच मिटर अग्लो हुने यो प्रजाति तीन हजारदेखि ३८ सय मिटर उचाइसम्ममा पाइन्छ। यो अक्सर ढुंगेनी वा नागीतिर पूर्वी नेपालमा पाइन्छ। यसलाई सानो चिमाल तथा बुलु भन्ने गरिन्छ। यसको पातको भेट्नु तथा टुप्पो केही गोलाकार र पातको मुनि खैरो इन्डुमेन्टम हुन्छ। फूल सोली आकारको सुन्तले पहेंलो, रातो, गुलाबी रङमा वैशाखदेखि असारसम्म फुल्छ। यसको बोक्राको रङ हल्का रातो, खैरौं अर्थात् सिन्नबार हुने भएबाट यसको प्रजाति नामकरण सिन्नाबारिनम् भएको हो।
रोडोडेन्ड्रन कोबानियनम्
२.५ मिटरसम्म अग्लो यो प्रजाति अहिलेसम्म म्याग्दी, मुस्ताङ, मनाङ, गोरखा र रसुवा जिल्लामा तीन हजारदेखि चार हजार मिटर उचाइमा फेला परेको छ। पात अन्डाकार, टुप्पो अर्धगोलाकार, भेट्नु साँघुरिएका, पातमुनि इन्डुमेन्टम खिया रङको हुन्छ। पुष्पदलको किनारा तथा कलिला पातमा रौं हुन्छ। यो वैशाखदेखि असारसम्म रातो, गुलाबी रङमा फुल्छ। भाले सुनपाते सदाबहार प्रकृतिको वनस्पति हो। विश्वका निम्ति करिब २६ गुराँस प्रजाति पत्तो लगाउने जोहन कोवानको सम्मानमाको वानियनममा यो प्रजातिको नामकरण भएको हो।
रोडोडेन्ड्रन डाल्हाउसी
मक्किएको रुखका हाँगामा उम्रिने यो प्रजाति ४÷५ मिटरसम्म लामो हुन्छ। जुन दुई हजारदेखि २८ सय मिटर उचाइसम्म पाइन्छ। यसको पात लाम्चो, भेट्न तथा टुप्पोमा केही साँघुरिएको हुन्छ। ठूलो सोली आकारमा हल्का पहेंलो र सेतो रङमा हुने यो प्रजाति वैशाखदेखि असारसम्म फुल्छ। यसलाई धोक्रे गुराँस पनि भनिन्छ। यो प्रजाति लेडी डाल्हाउसीको सम्मानमा
डाल्हाउसी नामकरण भएको हो।
रोडोडेन्ड्रन फाल्कोनेरी
१२–१६ मिटरसम्म अग्लो यो २७ सयदेखि तीन हजार मिटरसम्ममा पाइन्छ। चौडापाते वनको खोंच तथा भिरालो ठाउँमा पाइन्छ। काण्ड खैरो, बोक्रा ठुल्ठुलो तर उप्किने, उप्किएको भाग चिल्लो, पात १८–३५ सेन्टिमिटर लामो हुन्छ। नौनी वा हल्का सेतो रङमा चैतदेखि जेठसम्म फुल्छ। यो प्रजाति स्कटल्यान्डका वनस्पतिविज्ञ ह्यु फाल्कोनरको नामबाट फाल्कोनेरी नामकरण गरिएको हो। यो प्रजातिको फूल र पातको आकार थोरै मात्रामा रोडोडेन्ड्रन हड्सोनीसँग मिल्छ। तर, हड्सोनीको फूल फिका तथा गाढा रातो हुन्छ।
रोडोडेन्ड्रन फुल्जेन्स
यो प्रजाति ३३ सयदेखि ४२ सय मिटरसम्ममा पाइन्छ। वैशाखदेखि जेठसम्म फुल्ने यो ४.५ मिटरसम्म अग्लो हुन्छ। यसको मुना रौंविहीन र बोक्रा रातो–खैरो हुन्छ। सजिलै उप्किने पात थोरै गोलाकारजस्तो हुन्छ। भेट्नो थोरै साँघुरिएको र टुप्पो अलिकति चुच्चो देखिन्छ। पातमुनि रातो, खैरो वा खिया रङको इन्डुमेन्टम हुन्छ। गाढा रातो चम्किलो रङमा वैशाख–जेठसम्म फुल्छ। ल्याटिन भाषामा फुल्जिओ भनेको चम्किलो हुन्छ। फूल चम्किलो हुन्छ भन्ने अर्थमा यसको प्रजाति नामकरण फुल्जेन्स भएको हो।
रोडोडेन्ड्रन पुुमिलम्
यो प्रजाति २५ सेमीसम्म अग्लो हुन्छ। कलिलो मुना ससाना कत्ला र रौंले ढाकेको खुला ढुंकेनी जमिनमा यो पाइन्छ। जुन ३५ सयदेखि ४३ सय मिटर उचाइसम्म पाइन्छ। पातको भेट्नुमा कत्ला, भेट्नु र टुप्पो अर्धगोलाकार र मुनिको भागमा खरानी रङको इन्डुमेन्टममा खैरा थोप्ला हुन्छन्। ल्याटिन भाषामा होचो वा ड्वार्फ भन्ने अर्थमा यसको प्रजाति नामकरण पुमिलम गरिएको हो।
रोडोडेन्ड्रन सेटोसम्
यो प्रजाति ५० सेमीसम्म अग्लो, कलिलो मुना बाक्लो कत्ला भएको हुन्छ। जुन ३५ सयदेखि ३८ सय मिटर उचाइसम्म पाइन्छ। पातको माथिल्लो सतह ससाना डट्स वा कत्लाले भरिएको हुन्छ। वैशाखदेखि असारसम्म गुलाबी बैजनी रङमा फुल्ने यसको पातको मुनि र वरिपरि कडा बाक्लै लामा रौं (सेटोस) हुन्छ। त्यसैले यसको प्रजाति नामकरण सेटोसम भएको हो। यसको मुन्टा तथा पात धुपीका निम्ति प्रयोग हुन्छ।
रोडोडेन्ड्रन थोम्सोनाई
यो प्रजाति चार मिटर अग्लो, कलिलो मुना रौंविहीन, कतैकतै ग्रन्थी छरिएको, बोक्रा चिल्लो, उप्किने, हल्का सुन्तले खैरो हुन्छ। जुन २५ सयदेखि चार हजार मिटर भौगोलिक उचाइसम्म हुन्छ। वैशाखदेखि असारसम्म घण्टी आकारमा गाडा रातो रङमा फुल्छ। पातको मुनि राखी रङको बाक्लो इन्डुमेन्टम र खैरा थोप्लाहरू हुन्छन्। वनस्पतिविज्ञ थोमस थोम्सोनको सम्मानमा यसको प्रजाति नामकरण थोम्सोनी गरिएको हो।
रोडोडेन्ड्रन विघ्टी
यो प्रजाति १५ मिटर अग्लो, बोक्रा खैरो, बोक्रा चिरिएर झर्ने खालको हुन्छ। जुन ३३ सयदेखि चार हजार मिटर भौगोलिक उचाइसम्म पाइन्छ। पातको भेट्नु र टुप्पोतिर अर्धगोलाकार हुन्छ। पातमुनिको सतह गाडा खिया रङको इन्डुमेन्टम हुन्छ। वैशाखदेखि असारसम्म हल्का पहेंलो– सेतो रङमा फुल्छ। यो प्रजातिको नाम बोटानिस्ट रोबर्ट विघ्टको सम्मानमा राखिएको हो।
रोडोडेन्ड्रन ग्लाउकोफाइलम
२७ सयदेखि ३४ सय मिटर भौगोलिक उचाइमा पाइने यो प्रजाति बोक्रा उप्किने तामा रङको हुन्छ। जुन १.५ मिटरसम्म अग्लो हुन्छ। पात लाम्चो गोलाकार र भेट्नुतिर साँघुरिएको पाइन्छ। टुप्पो चुच्चो, तल्लो सतहमा खैरो मैनजस्तो इन्डुमेन्टम हुन्छ। खैरो मैनजस्तो इन्डुमेन्टम पात हुने अर्थमा यसको प्रजाति नामकरण ग्लाउकोफाइलम गरिएको हो। जुन वैशाखदेखि असारसम्म सेतो, नौनी रङमा फुल्छ। यसको पुष्पदल पनि खैरौ रौंले ढाकिएको हुन्छ।
रोडोडेन्ड्रन ग्रान्डे
यो प्रजाति १२ मिटरसम्म अग्लो हुन्छ। बोक्रा उप्किएको र हल्का रातो–खैरो रङमा पाइन्छ। जुन समुद्री सतहबाट दुई हजारदेखि ३३ सय मिटर भौगोलिक उचाइमा पाइन्छ। पात लाम्चो, १४–३८ सेमि लामो तथा ६–११ सेमि चौडा हुन्छ। भेट्नु साँघुरिएको, टुप्पो चुच्चो तल्लो भाग चाँदी रङको हुन्छ। यो प्रजाति चैतदेखि जेठसम्म फिक्का रातो, नौनी तथा सेतो रङमा करिब २० वटा झुप्पामा फुल्छ। जसको पात ठूलो अर्थात् ग्रान्डी भन्ने अर्थमा प्रजाति नामकरण ग्रान्डे भएको हो।
रोडोडेन्ड्रन ग्रिफिथियनम्
१८ मिटरसम्म अग्लो यो प्रजातिको बोक्रा खैरो र पातलो हुनाले सजिलै उप्किने खालको हुन्छ। जुन २१ सयदेखि तीन हजार मिटरसम्मको भौगोलिक उचाइका चिस्यान तथा सेपिलो ठाउँमा पाइन्छ। पातमा रांै नभएको यो प्रजाति सेतो रङमा वैशाख–जेठसम्म फुल्छ। यसको फूल रोडोडेन्ड्रन कम्पानुलाटम र रोडोडेन्ड्रन वालिचीसँग मिल्दोजुल्दो देखिन्छ। तर, पुष्पपत्रमा दाग हुँदैन। ब्रिटिस बोनाष्टी विलियम ग्रिफिथको सम्मानमा यसको प्रजाति ग्रिफिथियिनयम नामकरण गरिएको हो।
रोडोडेन्ड्रन हड्सोनी
यो प्रजाति १० मिटरसम्म अग्लो हुन्छ। जसको बोक्रा फिका तामा रङको सजिलै उप्किने हुन्छ। जुन समुद्री सतहबाट २६ सयदेखि तीन हजार आठ सय मिटर उचाइसम्म पाइन्छ। पात १७–२४ सेमि लामो र ६–१२ सेमि चौडा पाइन्छ। भेट्नु साँघुरिएको, टुप्पो अर्ध गोलाकार, तल्लो सतह चाँदी रङ वा खैरो इन्डुमेन्टम हुन्छ। रातो र गुलाबी रङमा फुल्ने यो सर ब्राइन हड्सनको सम्मानमा हड्सोनी नामकरण भएको हो।
रोडोडेन्ड्रन हुकेरी
चार मिटरसम्म अग्लो यो प्रजाति बोक्रा चिल्लो र नयाँ मुना रौंरहित हुन्छ। जुन २५ सयदेखि ३५ सय मिटर उचाइसम्म पाइन्छ। जसमा पातको भेट्नु गोलाकार, टुप्पो अर्ध गोलाकार, तल्लो सतह खरानी रङ हुन्छ। चैत–वैशाखमा रातो र गुलाबी रङमा यो फुल्छ। यो प्रजातिको वैज्ञानिक नामकरण जोसेफ डाल्टन हुकरको सम्मानमा हुकेरी राखिएको हो।
रोडोडेन्ड्रन लानाटम्
चार मिटरसम्म अग्लो हुने यो प्रजाति कलिलो मुना रातो र खैरौ वा सेतो रौंले विरलै ढाकिएको हुन्छ। जुन २१ सयदेखि ४५ सय मिटर उचाइसम्म हुन्छ। पातको भेट्नु गोलाकार र टुप्पो चुच्चो हुन्छ। तल्लो सतह बाक्लो पहेंलो–खैरो झुस वा उनजस्तो इन्डुमेन्टम हुन्छ। ल्याटिन शब्द ‘लानाटम’ को अर्थ उन भन्ने हुन्छ। यसैबाट यसको प्रजाति लानाटम् नामकरण गरिएको हो। जुन नौनी रङमा वैशाखदेखि असारसम्म फुल्छ।
रोडोडेन्ड्रन भ्याक्सिनोइड्स
एक मिटरसम्म अग्लो यो प्रजाति काण्डमा खैरो कत्ला हुन्छ। जुन समुद्री सतहबाट दुई हजारदेखि तीन हजार मिटरसम्म भौगोलिक उचाइमा पाइन्छ। यसको पात काण्डवरिपरि घुमाउरो सिउँडी जसरी फन्को मारेर पलाएको हुन्छ। यो जेठ–असारमा सेतो फूलजस्तै फुल्छ। यसको पात गुराँस परिवारअन्तर्गत भ्याक्सिनियम भनिने जातिको पातजस्तो देखिन्छ। त्यसैले नामकरण पनि भ्याक्सिनोइड्स भएको हो।
रोडोडेन्ड्रन भिरगाटम्
यो प्रजाति १.५ मिटरसम्म अग्लो, कलिलो काण्डमा कत्ला, बोक्रा खैरो–सेतो हुन्छ। जुन दुई हजारदेखि चार हजार मिटर भौगोलिक उचाइसम्म पाइन्छ। पात भेट्नोतिर अर्धगोलाकार र टुप्पोतिर चुच्चो, तल्लो भाग खैरो–रातो इन्डुमेन्टम हुन्छ। वैशाख–जेठमा सेतो रङमा फुल्छ। प्रत्येक पुष्पपत्रको मध्य भागमा स्पष्ट नसाको धर्सो हुन्छ। धर्सोलाई स्ट्रेक र ल्याटिन भाषामा भिरगाटम् भन्ने अर्थमा यसको प्रजाति नामकरण भिरगाटम् नामकरण भएको हो। यसको मुन्टा तथा पात धुपका निम्ति प्रयोग गरिन्छ।
रोडोडेन्ड्रन वालिची
यो प्रजाति ४.५ मिटर अग्लो, कलिलो काण्डमा सेतो रौं, बोक्रा हल्का खैरो हुन्छ। जुन तीन हजारदेखि चार हजार मिटर भौगोलिक उचाइमा हुन्छ। पातको भेट्नु र टुप्पो साँँघुरिएको हुन्छ भने पातमुनिको सतह पातलो खैरो (स्पार्स डार्क ब्राउन) रङको इन्डुमेन्टम हुन्छ। वैशाख–जेठमा सेतो रङमा फुल्ने प्रजाति वनस्पतिविद् नाथानियल वालिचको सम्मानमा नामकरण भएको हो।
रोडोडेन्ड्रन मेकोन्गेन्स
दुई मिटरसम्म अग्लो यो प्रजाति कलिलो मुनामा कत्ला, बोक्रा हल्का खैरो र रातो हुन्छ। जुन तीन हजारदेखि चार हजार मिटर भौगोलिक उचाइसम्म पाइन्छ। यो पतझड प्रकृतिको वनस्पति हो। पात पलाउँदै गरेको अवस्थामा फूल फुल्छ। चैतदेखि असारसम्म हल्का पहेंलो फूल फुल्ने यो प्रजाति चीनको मेकोन्गेन पर्वतको नामबाट नामकरण भएको हो। जेडीए स्टेन्टनले ९ जुन १९५६ मा अरुण उपत्यकाको कसुवा खोला आसपासको क्षेत्रबाट संकलन गरेको हो। यो प्रजातिको नमुना न्याचुरल हिस्ट्री म्युजियम लन्डन र रोयल बोटानिक गार्डेन इडिन्बर्घ, स्कटल्यान्ड, यूकेमा संग्रृहीत छ।
यहाँ यो प्रजातिको नेपाल विवरणबारे थप खुलाउनु पर्छ। कुरा के हो भने नेपालबाट संकलित त्यो नमुना पहिले हिरोसी हाराबाट रोडोडेन्ड्रन ट्राइकोक्लाडम भनेर पहिचान गरिएको थियो। अर्थात् रोडोडेन्ड्रन मेकोन्गेन्सलाई हाराजस्तो महान् वनस्पतिविज्ञबाट रोडोडेन्ड्रन ट्राइकोक्लाडम भनेर पहिचान गरियो। यसै आधारमा नेपालमा रोडोडेन्ड्रन ट्राइकोक्लाडम पाइन्छ भन्ने जानकारी सन् १९८२ मा प्रकाशित एन इनुमेरेसन अफ द फ्लावरिङ प्लान्टस् अफ नेपाल शीर्षक पुस्तक भाग–३ को पृष्ठ ५९ मा लेखिएको छ। यो पुस्तक उनै हारा र अरूबाट लेखिएको हो। त्यस उप्रान्त नेपालको गुराँस प्रजातिसम्बन्धी लेखिएको चेकलिस्टमा उक्त प्रजाति नेपालमा पाइन्छ भनेर लेखिएका छन्।
रोडोडेन्ड्रन लिन्डलेई
एकदेखि चार मिटरसम्म लामो सानो लहराजस्तो देखिने भएकाले यसलाई सानो लहरे चिमाल भनिन्छ। जुन करिब तीन हजार मिटर भोगोलिक उचाइको आसपासमा पाइन्छ। कलिलो मुना भुवाले ढाकेको, पात भेट्नु र टुप्पो दुवैतिर साँघुरिएको हुन्छ। तल्लो सतहमा हल्का रातो इन्डुमेन्टम हुन्छ। वैशाख–जेठमा सेतो रङमा फुल्ने बोटानिस्ट जोहन लिन्डेलेको सम्मानमा प्रजाति नामकरण लिन्डलेई भएको हो।
रोडोडेन्ड्रन पेन्डुलम्
रुखमा १.५ मिटरसम्म लामो झुन्डिने यो प्रजाति २५ सयदेखि ३६ सय मिटर भौगोलिक उचाइमा पाइन्छ। पातको वरिपरि करौंतीको जस्तो पातलो धार र मुनिको सतह बाक्लो फिका, खैरो इन्डुमेन्टम हुन्छ। हल्का सेतो, केही भागमा गुलाबी जस्तो वैशाख–जेठमा फुल्ने यो प्रजाति झुन्डिएको हुन्छ। त्यही अर्थमा ल्याटिन शब्द पेन्डुलसबाट पेन्डुलम नामकरण गरिएको हो।
अन्त्यमा, नेपालको वनस्पतिसम्बन्धी लेखिएको सन् २०१७ प्रकाशित एक पुस्तकमा सेतो सुनपातीलाई गुराँसको छुट्टै प्रजाति रोडोडेन्ड्रन हाईपेनान्थम् भन्ने उल्लेख छ। तर, हालसालैका अन्तर्राष्ट्रिय प्रकाशनहरूमा यो प्रजाति नभई रोडोडेन्ड्रन एन्थोपोगन उपप्रजाति हाइपेनान्थम् हो भन्ने मात्र लेखिएको पढ्न पाइन्छ। यसकारण, यसलाई यो लेखमा छुट्टै प्रजातिको रूपमा समावेश गरिएन। यस्तै, दक्षिण–मध्य चीन, म्यान्मार र तिब्बतमा मात्र पाइने रोडोडेन्ड्रन ट्राइकोक्लाडम् भारत, भुटानमा अहिलेसम्म फेला परेको अभिलेख छैन। तर, नेपालमा कसरी आइपुग्यो भन्ने सन्दर्भ पंक्तिकारलगायत केही नेपाली वनस्पतिविज्ञको मथिंगल दुखाइरहेको थियो। यो लेखले त्यो कुरा पनि किनारा लगाएको छ।
तस्बिरहरू : कमल मादेन, एन्टोनी मिलर, सोनाम वाङ्ग्याल, पिओडब्लुओ क्यु, जेम्स कुलिन, मार्क कोलोम्बेल, सिद्धार्थ मचडो, डेभिड स्केरबेरिक र गुगल ।