काठमाडौंको मेयर रेसबाट पछि हटे भुवन केसी, नकारात्मक टिप्पणीले खिन्न
काठमाडौं : अभिनेता भुवन केसीले काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा उम्मेदवारी नदिने भएका छन्।
शनिबार विज्ञप्ति जारी गर्दै अभिनेता केसीले प्राविधिक र कार्यव्यस्तताका कारण महानगरपालिकाको मेयर पदमा उम्मेदवार बन्नका लागि असमर्थ रहेको बताएका हुन्।
यसअघि उनी स्वागत नेपालको उन्नत लोकतन्त्र पार्टीका तर्फबाट मेयर पदमा लड्ने खबरहरु आएको थियो। पार्टीले केसीलाई उम्मेदवार भन्दै प्रचार नै थालेको थियो।
तर केसीले आफू कुनै पनि पार्टीमा नरहेको स्पष्टीकरण दिँदै कार्यव्यस्तताले मेयर उम्मेदवार बन्न नसक्ने उल्लेख गरेका छन्।
स्थानीय निर्वाचनको संघारमा धेरै पार्टीसँग छलफल भएको र धेरैले आफूलाई आफ्नो पार्टीमा आउन आमन्त्रण गरेको सन्दर्भमा आफूले उन्नत लोकतान्त्रिक पार्टीसँग छलफलमा बसेको तर कुनै ठोस निर्णय नभएको पनि केसीले जानकारी गराएका छन्।
उनले ‘राइट टु रिजेक्ट र राइट टु रिकल’को जनताको अधिकारका लागि लड्ने उन्नत लोकतन्त्र पार्टीप्रति भने नैतिक समर्थन रहने स्पष्ट पारेका छन्। ‘तर अबको दिनमा राजनीति कहाँ, कुन पार्टीबाट गर्ने भन्ने मैले निधो गरिसकेको छैन । गरेको दिन यहाँहरूलाई सहर्ष जानकारी गराउँदै, यहाँहरूको साथ र सहयोगको अपेक्षा राख्ने नै छु,’ उनले भनेका छन्।
केसीले आफू उम्मेदवार बन्ने खबरहरुमा आएका नकारात्मक टिप्पणीले खिन्न बनाएको पनि उल्लेख गरेका छन्। ‘एउटा कलाकारले जनप्रतिनिधिको रुपमा जनताको सेवा गर्ने सक्तैन भन्ने प्रकारका टिप्पणीहरु आएको देख्दा अझै पनि नेपाली समाजमा राजनीतिप्रतिको एकलकाँटे दृष्टिकोण कति जबरजस्त रहेछ भन्ने बुझेर म खिन्न भएको छु,’ उनले भनेका छन्।
केसीको विज्ञप्ति:
आदरणीय आम नेपाली नागरिक, कला क्षेत्रका सम्पूर्ण शुभचिन्तक तथा मलाई माया गर्ने सम्पूर्ण दर्शकहरू !
उन्नत लोकतन्त्र पार्टीले मलाई आफ्नो चुनाव चिन्ह खुला किताब मार्फत काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनाउने निर्णय गरी मप्रति देखाएको विश्वास र सद्भावका लागि म आफ्नो तर्फबाट मात्र नभई पूरै कलाक्षेत्रको तर्फबाट सम्पूर्ण कला क्षेत्रको सम्मान हो भन्ने बुझी आभार तथा धन्यवाद ज्ञापन गर्न चाहन्छु । उन्नत लोकतन्त्र पार्टीको सो साहसिक निर्णय पनि थियो । उक्त निर्णयको स्वागत गर्ने आम नागरिकहरुप्रति पनि म हार्दिक धन्यवाद प्रकट गर्न चाहन्छु ।
यस बीचमा धेरै भ्रम अनावश्यक चर्चा र आरोप प्रत्यारोपहरू पनि सार्वजनिक भए सो क्रममा मविरुद्ध अनावश्यक र अनर्गल रुपमा उठाइएको टिप्पणीहरूको वस्तुपरक रुपमा धेरै सकारात्मक र केही नकारात्मक दुवै टिप्पणी गर्ने सबै साथीहरू प्रति पनि म आभार व्यक्त गर्दछु । मैले यो काठमाडौं उपत्यकाको पुस्तैनी रुपमा सम्पदा, समस्या र सम्भावनाहरूलाई मनैदेखि आत्मसात गरेको छु । त्यसैले यस महानगरको मेयरको रुपमा कुनै कलाकारले जनताको सेवा गर्ने इच्छा राख्नु अस्वाभाविक होइन भन्नेमा पनि विश्वस्त छु । तर एउटा कलाकारले जनप्रतिनिधिको रुपमा जनताको सेवा गर्ने सक्तैन भन्ने प्रकारका टिप्पणीहरु आएको देख्दा चाहिँ अझै पनि नेपाली समाजमा राजनीतिप्रतिको एकलकाँटे दृष्टिकोण कति जबरजस्त रहेछ भन्ने बुझेर म खिन्न पनि भएको छु ।
तर ती प्रतिक्रियाका कारण नभई प्राविधिक कारण तथा कार्यव्यस्ताका कारण म महानगरपालिकाको मेयर पदमा उम्मेदवार बन्नका लागि असमर्थ रहेको छु । र यसै पत्रमार्फत् हालका दिनसम्म म कुनै पनि पार्टीमा नरहेको पनि जानकारी गराउन चाहान्छु । स्थानीय निर्वाचनको संघारमा धेरै पार्टीसँग छलफल भएको र धेरैले आफूलाई आफ्नो पार्टीमा आउन आमन्त्रण गरेको सन्दर्भमा मैले उन्नत लोकतान्त्रिक पार्टीसँग छलफलमा बसेको तर कुनै ठोस निर्णय नभएको पनि यहाँहरूमा अवगत गराउन चाहान्छु ।
मैले हालसम्मको जीवनमा राजनीतिलाई नजिकबाट नियालेर निकालेको निष्कर्ष अनुसार नेपालमा राइट टु रिजेक्ट र राइट टु रिकलसहितको उन्नत लोकतन्त्रबिना जनताका अधिकारहरु स्थापित हुन र सुशासन कायम हुन सक्तैन । आशा एवम् विश्वास छ सबै नागरिकहरुबाट राइट टु रिजेक्ट र रिकलको जनताको अधिकारका लागि साथ समर्थन र सहयोग प्राप्त हुनेछ ।
यो अभियानको नेतृत्व गर्ने उन्नत लोकतन्त्र पार्टी र अध्यक्ष मेरा प्रिय मित्र मैले मेरो भाइ भनेर सम्बोधन गर्ने अधिवक्ता स्वागत नेपालप्रति मेरो नैतिक समर्थन रहनेछ । तर अबको दिनमा राजनीति कहाँ, कुन पार्टीबाट गर्ने भन्ने मैले निधो गरिसकेको छैन । गरेको दिन यहाँहरूलाई सहर्ष जानकारी गराउँदै, यहाँहरूको साथ र सहयोगको अपेक्षा राख्ने नै छु ।