स्मृतिभेटमा ‘प्रगति’ पत्रिकाको चर्चा
काठमाडौं : ‘प्रगति र नारायणप्रसाद बाँस्कोटा स्मृतिभेट’ नाम स्मृतिग्रन्थ लोकार्पण भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेतीले शनिबार ग्रन्थ सार्वजनिक गरेका हुन्।
नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा नारायणप्रसाद बाँस्कोटाले पुर्याएको योगदान र उनको व्यक्तित्वबारे ग्रन्थमा चर्चा गरिएको छ।
२०१०/०११ सालबाट प्रगति पत्रिका प्रकाशन सुरु भएको थियो। यो एक साहित्यिक द्वैमासिक पत्रिका थियो। झण्डै ६० वर्षअघि प्रकाशनमा आएको पत्रिका आर्थिक अभावले तीन वर्षमै प्रकाशन बन्द भयो। भारतबाट छापिएको यो पत्रिका १६ अंक प्रकाशन हुँदा चसले चर्चा बटुलेको थियो। सम्पादक थिए, नारायणप्रसाद बाँस्कोटा। उनी वितेको पनि २५ वर्ष भएको छ। उनले प्रगति साहित्यिक पत्रिकामार्फत नेपालको वाङ्गयमय क्षेत्रमा पुर्याएको योग्दानबारे नयाँ पुस्तालाई स्मृतिभेटले जानकारी दिएको छ।
प्रकाशित ग्रन्थमा प्रगति पत्रिको १६ वटै अंकको बारेका चर्चा गरिएको छ। डा. कमल बाँस्कोटाले संकलन गरेको समाग्रीको प्राडा बद्री विशाल भट्टराईले सम्पादन गरेका छन्।
कूलपति उप्रेतीले प्रगतिका सम्पादक बाँस्कोटा नेपाली वाङ्मय प्रवर्द्धनमा उल्लेख्य योग्दान दिएका विशिष्ट पात्र रहेको बताए।
‘इतिहासमा चर्चा कमाएको यो पात्र वर्तमानमा गुमनाम थिए। नयाँ पुस्तामार्फत स्मृतिभेटले प्रगति र नारायणप्रसाद बाँस्कोटालाई चर्चामा ल्याएको छ। उनको पुनर्जन्म भएको मलाई भान भइरहेको छ,’ उनले भने। प्रगति पत्रिका सबै सम्पादकीयहरुको अध्ययन गराएर पुस्तक प्रकाशन गरिने उनले उल्लेख गरे।
राजनीतिक भाँडभैलोले नेपाली साहित्यले समकालिक अवस्थामा विकासको गति लिन नसकेको प्रति कूलपति उप्रेतीले चिन्ता व्यक्त गरे।
कूलपति उप्रेतीका अनुसार महाकवि लक्ष्मी प्रसाद देवकोटाको संग्रहालय निर्माणको काम अन्तिम चरणमा छ। देवकोटासँग सम्बन्धित साहित्यिक रचनाहरुको खोजी भइरहेको छ। तर, भेटाउन निकै कठिन भइरहेको छ।
स्मृतिभेटका सम्पादक प्राडा भट्टराईले लो प्रोफाइलका सम्पादक बाँस्कोटाले हाइप्रोफाइलको काम गरेर नेपाली भाषा र साहित्यमा अमूल्य योग्दान गरेको बताए।
त्यसैगरी संस्कृतिविद् सत्यमोहन जोशीले प्रगति पत्रिका प्रकाशित गरेर नारायण बाँस्कोटाले नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा ठूलो योग्दान पुर्याएको कुरा सबैलाई थाहा रहेको ग्रन्थमा उल्लेख गरेका छन्।