गठबन्धनको भारी

गठबन्धनको भारी

आसन्न स्थानीय तहको मात्र होइन, आगामी वर्ष हुने प्रदेश र संघीय संसद्को निर्वाचन समेत हुँदैछ। सोका लागि हालका सत्तारुढ गठबन्धनसँग मिलेर संयुक्त रूपमा निर्वाचनमा जाने नेपाली कांग्रेसका सभापतिलगायत जिम्मेवार पदाधिकारीले घोषणा गरिसकेका छन्। जसले पार्टीभित्रै फरक विचार राख्ने पक्ष तथा आमकार्यकर्तामा चरम निराशा छाएको छ। किंकर्तव्यविमुढको अवस्था निम्त्याएको छ।

आफ्नो दह्रो उपस्थिति रहेको स्थानमा समेत हँसियाँ, हथौडा, कलम, मसालजस्ता पार्टीसँग सैद्धान्तिक र कार्यगत रूपमै भिन्न मत राख्ने पार्टीका चुनाव चिन्ह छन्। जसमा कसरी स्वस्तिक छाप लगाउने भनेर उनीहरूको मनमष्तिस्कमा आँधीहुरी चलेको छ। यद्यपि उनीहरूको निरीह याचनालाई सुन्न नेतृत्व तयार छैन। कांग्रेसका कार्यकर्ता एवं शुभेच्छुक दुई धारमा विभाजित मनस्थितिमा छन्। जसलाई मतको माध्यमबाट जोड्न आत्मादेखि नै हिच्किचाइरहेका छन्। कांग्रेस र कम्युनिष्टबीच सैद्धान्तिक मतभेद मात्र होइन, वैचारिक भिन्नताकै कारण मतदाता दुई ध्रुवमा विभाजित रहन्छन्।

उज्वल विगत

यथार्थमा के भुल्न हुँदैन भने २००७ सालमा प्रजातन्त्रको उदयपछि २०१५ सालको आमनिर्वाचनमा कांग्रेस र कम्युनिष्टबीचको प्रतिस्पर्धा भयो। त्यसमा नेपाली कांग्रेसले दुईतिहाइभन्दा बढी मतले निर्वाचन जितेको थियो। २०४६ सालको परिवर्तन पछिको पहिलोे आमनिर्वाचनमा कम्युनिष्टले केही संख्या बढायो। तर पनि नेपाली जनताको रोजाइ भने प्रजातान्त्रिक आदर्श बोकेको मुलुकको जेठो पार्टी कांग्रेसप्रति नै अडिग रह्यो। यसरी जनताको पहिलो रोजाइमा रहेको मुुलुकको जेठो र प्रजातान्त्रिक आदर्श बोकेको कांग्रेसको क्रमिक ह्रास हुन थालेको छ। यसो हुनुमा तत्कालीन राजाको प्रजाातान्त्रिक शक्तिको बढ्दो लोकप्रियतालाई घटाउन कम्युनिष्टलाई मलजल गर्नेदेखि सुवर्ण शमशेरजस्ता उदार समन्वयवादी नेताको प्रवास हुनुपर्ने बाध्यतात्मक अवस्था पनि हो।

नेपाली कांग्रेस निर्वाचनमा जाँदा आफ्नो राजनीतिक दर्शन, आर्थिक दृष्टिकोण, जनजीविकाका सवाल, विकासमा प्राथमिकता र कार्यान्वयनयोग्य कार्यक्रमको भरपर्दो आधार प्रस्तुत गर्नुपर्छ। यसरी जनताको मन जित्ने स्वस्थ्य राजनीनिक अभ्यासको बाटो समात्न पर्नेमा यसबाट पछि हटेर अस्वस्थ्य साँठगाँठ गर्ने बाटोमा कांग्रेस छ। यसो गर्दा प्रजातान्त्रिक संस्कार धुलीसात् हुने मात्र नभई मतदाता समेत अन्योलमा परेका छन्। कु्न जनधारमा निर्वाचनमा जाने भन्ने प्रश्न समेत निर्वाचनको पूर्वसन्ध्यामा प्रजातान्त्रिक विचार राख्ने मतदाताले नै उठाउन थालेका छन्।

विगत बिर्सेको कांग्रेस

यसबेला निष्ठावान् सच्चा देशभक्त एवं आदर्शका प्रतिमूर्तिको रूपमा सम्झिइने श्रद्धेय गणेशराज शर्माको अनुहार झल्झली अगाडि आउँछ। पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई केन्द्रमा राखी सर्वांगीण कृतिको रूपमा जेपी फाउन्डेसनले प्रकाशन गर्ने पुस्तकका सन्दर्भमा श्रद्धेय शर्माले स्व. कोइरालालाई सत्ताका लागि प्रचन्ड र अर्कोतिर माधव नेपाल राखेर बस्ने व्यक्ति प्रजातान्त्रिक मूल्य र मान्यताप्रति अडिग रहने स्पष्ट नैतिक धरातलको आधार नभएको व्यक्ति भएको इंगित गरे। आफ्नो मूल्यमान्यताभन्दा बाहिरका व्यक्तिका बारेमा केही भन्न र लेख्न अस्वीकार गर्नु भएको स्मरण हुन्छ। 

कोइरालाले लामो समय हिंसाको चपेटामा आक्रान्त मुलुकलाई क्रुर शासन व्यवस्था बावजुद आफ्नो वृद्ध शरीर, कमजोर स्वास्थ अवस्थाका बाबजुद शान्ति प्रक्रियामा सफल अवतरण गराए। दिगो शान्तिको नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको यथार्थ बिर्सन सकिँदैन। त्यो एउटा महŒवपूर्ण र मुलुकलाई दीर्घकालीन प्रभाव पर्ने अप्ठयारो बाटो थियो। जसलाई कोइरालाको आँट र साहसले नै सफल बनाएको थियो। तर त्यसपछिको राजनीतिले भने थप विकृत र अस्वस्थ हुँदै फुकाउन नसकिने गाँठोजस्तै जेलिएर मुलुुक र जनतालाई आक्रान्त पारेको छ। यी र हालका यस्ता प्रवृत्ति हेर्दा कांग्रेसले विगतको गर्विलो इतिहास बिर्सिएको भान पार्नु अस्वाभाविक होइन।

आत्मबलको अभाव

विगतको निर्वाचनमा राम्रा, सक्षम, सबल र मुलुकको भलो चाहने नैतिकवान पठित व्यक्तिहरूलाई चुन्ने अभ्यास नगर्दा देश र जनता पछाडि परेको यथार्थ कसैबाट लुकेको छैन। आउने चुनावमा फेरि त्यो गल्ती नदोहो¥याउँदै आगामी स्थानीय चुनावमा हाम्रा होइन, राम्रा व्यक्तिलाई चुन्ने मनस्थितिमा जनता पुगेका छन्। यसैले पनि जनताको मन जितेर अगाडि बढ्नुपर्नेमा स्वस्थ्य राजनीतिक अभ्यासबाट पछि हटेर अस्वस्थ्य साँठगाँठको कुनै अर्थ छैन।

विगतमा नेतृत्व, नेता, प्रतिनिधिहरू क्षमतावान नचुन्दा त्यसको सकारात्मक नतिजा प्राप्त हुन नसकेकोमा सबै सचेत छन्। यसैले पनि पार्टीले अन्य दलको कार्यकर्ताभन्दा नैतिक मूल्यमान्यता बोकेका क्षमतावान र राम्रा उमेद्वार छानेर व्यक्ति र मतदाता दुबैको मनोबल बढाउनुको विकल्प छैन। ऐतिहासिक पार्टी  कांग्रेस सत्ता गठबन्धन बाध्यात्मक परिस्थितिमा स्वाभाविक देखिए पनि नैतिकताको संस्कार र जिम्मेवारीको राजनीतिले मात्र दीर्घकालीन रूपमा प्रजातान्त्रिक मूल्य र नैतिक धरातलको जग बस्ने हुन्छ। निर्वाचनमा मत गठबन्धन अस्वाभाविक एवं असम्भव हुन्छ। एकै प्रकारको राजनीतिक सिद्धान्त र प्रणाली बोकेका कम्युनिष्टबीच गठबन्धन सम्भव देखिएको छ। तर पनि त्यो संसदीय फ्लोरको सहकार्यमा मात्र सीमित हुनसक्छ। प्रजातान्त्रिक मूल्यमान्यता र बहुदलीय प्रतिस्पर्धाको दर्शनबाट निर्देशित कांग्रेस  एकदलीय कम्युनिष्ट सत्ता स्थापित गर्ने सोचबाट निर्देशितका लागि भने गठबन्धन भन्ने प्रश्न अनुत्तरित छ।

नेतृत्वलाई बिर्सदा

विश्व मानवचित्रमा प्रजातन्त्रप्रतिको क्रमिक विश्वास एवं सर्वस्वीकार्यताको गतिसँगै प्रजातान्त्रिक उदार शासन व्यवस्था छ। जसका लागि नेपालको प्रतिबद्धता तथा सम्वर्धनमा राजनेता बीपी र सुवर्ण जीवनपर्यन्त अडिग रहनुभयो। यस प्रजातान्त्रिक मूल्यमा विचलन आउन नदिन किशुनजी भीष्म पितामह भएर खडा हुनुभयो। फलतः प्रजातन्त्रको उदयपछि २०१५ र २०४७ सालको आमनिर्वाचन कांग्रेस नेपाली जनताको उच्च रोजाइमा प¥यो। प्रजातान्त्रिक आदर्श बोकेको कांग्रेस पनि आफ्नो मूल्य र मान्यतामा अडिग रह्यो। त्यसैले विगतका नेतृत्वको आदर्शलाई कांग्रेसले कदापि भुल्नु हुँदैन।

वैचारिक स्खलन

स्थानीय तहको निर्वाचनका गठवन्धन राजनीतिक दलका प्रत्यासी प्रतिनिधिबीच सिट बाँडफाँटको कुनै सर्वमान्य वैज्ञानिक आधार सम्भव देखिँदैन। विगतको मत परिणामलाई आधार मान्ने हो भने पनि कम्युनिष्टको मत धेरैतिर छरिएको छ। त्यसैले के कति भन्ने यकिन निर्णयमा पुग्नु असहज भएको छ। यो विषय कलहको बिउ मात्र होइन, सम्भावित अन्तर्घात हुँदै हिंसात्मक घटनामा बदलिन सक्ने सम्भावनालाई नकार्न सकिँदैन।

वर्तमान गठबन्धनका पार्टीबीच सरकार निर्माणमा कायम अनुपात आगामी निर्वचनमा यस गठबन्धनका पार्टीले माग गर्नु स्वाभाविक नै हुन्छ। कांग्रेसले गठबन्धनको चंगुलमा करिब ५० प्रतिशत निर्वाचन क्षेत्रमा पहिले नै आफ्नो प्रतिनिधित्वविहीन हुने स्वीकार्नु दुर्भाग्यपूर्ण हुने देखिन्छ। यसरी बाँकी ५० प्रतिशत संख्यामा मात्र निर्वाचन लड्दा उक्त सबै सिटमा जित्ने सम्भावना पनि यकिन छैन। यसरी समर्पण गर्दै जाँदा कहिँकतै दलको अस्तित्व नै संकटमा पर्ने र पार्टी नै भड्खालोमा जाने त होइन ? प्रजातान्त्रिक मतदाताबाट यस्तो प्रश्न उठ्नु र उनीहरू चिन्तित हुनु स्वाभाविक हो ।

मौलिकपनको खडेरी

गठबन्धनमा प्रत्येक राजनीतिक दलका घोषणापत्रको ताँंती बनाउने कि एकीकृत घोषणापत्रको रूपमा ऊँट ? कसरी निर्वाचनमा होमिने भन्ने पनि अझै पेचिलो बनेको छ। मुलुकको एक मात्र प्रजातान्त्रिक दलको रूपमा कांग्रेसलाई अंगीकार गरी कार्यकर्ता तथा मतदाता समर्पित छन्। तर, यसरी विपरीत दिशामा अग्रसर दलको विकल्प सोच्न बाध्य हुनुपर्ने अवस्था आउन नदिनेतर्पm सोच पुगेको देखिँदैन। अहिलेको कांग्रेसको अस्वाभाविक चुनावी तालमेलले दलबाट कतै दलदलमा त फस्दैन ? जर्ज ओर्वेलको ‘एनिमल फर्म’मा परिकल्पना गरेको जस्तै ‘मानिस र पशु अनि पशु र मानिस’ हेर्दा दुईबीच विभेद छुट्याउन नसकेको जस्तो हुने त होइन ? अहिलेको अवस्था हेर्दा कांग्रेसको मौलिकपन धुलिसात् नहोला भनेर कसरी भन्ने ?

अप्राकृतिक गठबन्धन अस्वाभाविक

कम्युनिष्ट पार्टीबीच गठबन्धन अस्वाभाविक नहोला। तथापि कम्युनिष्ट–कांग्रेस गठबन्धनलाई प्राकृतिक मान्ने कुनै आधार छैन। यसरी नै गठवन्धनको होडबाजीमा पुनर्जागरणले मुर्झाएको राप्रपा र अहिलेको सबैभन्दा ठुलो दल एमालेबीच गठबन्धनका अस्वस्थ प्रतिस्पर्धामा सम्भावना नकार्न सकिँदैन। एक्लो एमालेसँग त्रसित कांग्रेसी नेताको मनस्थिति एमाले–राप्रपाबीचको गठबन्धनले पाँचदलीय गठबन्धनलाई चुनौती दिनसक्छ।

पार्टीको घोषणा–पत्र, चुनावचिन्ह र झन्डा

निर्वाचनमा आफ्ना पार्टीको घोषणा–पत्र, झन्डा र चुनावचिन्ह सबै दलको अस्तित्वसँग जोडिएको हुन्छ। गठबन्धनमा निर्वाचन हुने सिटको बाँडफाँट जोकोही पनि जतासुकैको प्रतिनिधित्व गर्नुपर्ने सम्भावना छ। यसले कसले कुन पार्टीको घोषणा–पत्र, झन्डा र चुनावचिन्ह बोक्ने भन्नेमा अन्योल मात्र होइन, कार्यकर्तामा स्वीकार्य हुनेमा शंका नै देखिन्छ। यसबाट पार्टीका इमान्दार कार्यकर्ताको प्रतिबद्धतामा कुठाराघात हुनेछ। साथै समर्पित कार्यकर्ताको हितविपरीत पनि हुन्छ। नेपालमा ‘मास बेस्ड’ र ‘क्याडर बेस्ड’ दलहरूमा कांग्रेस मास बेस्ड पार्टीको रूपमा स्थापित छ।

कम्युनिष्ट पार्टी ‘क्याडर बेस्ड’को रूपमा छ ? यसको अर्थ क्याडर बेस्डमा जस्तो कार्यकर्ताको घेराले आफ्ना मतदातालाई सुरक्षित गर्ने अवस्थामा छ। साथै मास बेस्डमा  प्रजातान्त्रिक मूल्य र नैतिक धरातलको जगमा जनजीविकाको सवालमा संवेदनशील रहेर मतदातालाई आकर्षण गर्नुपर्ने हुन्छ। जुन कांग्रेसले गर्न सक्ने छैन। यस्तो पे्ररणाहीन र अन्योलग्रस्त परिस्थिति छ। यस्तै विचलित मनस्थिति पनि। यसमा एकतर्फ माओवादीलगायतलाई भोट हाल्न पे्ररित गर्ने र अर्कोतर्फ कुन साहसले ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’को नाराको औचित्य बुझाउने ? स्थानीय नेता तथा कार्यकर्तालाई चुनौतीपूर्ण छ।

कांग्रेसजनमा खुल्नुपर्ने चेत

कांग्रेसले संविधान निर्माणको चरणदेखि यसको सफल कार्यान्वयनमा गरेको नेतृत्व, देश विकास र समृद्धिका लागि आर्थिक उदारीकरणमा काम गरेको छ। कोरोना महामारीबाट आमजनताको जीवन रक्षाका लागि आवश्यक खोपको व्यवस्था र अन्य अत्यावश्यक स्वास्थ्य सुविधामा गरेका काम सम्झनलायक छन्। यसरी स्वास्थ्य सुविधा उपलब्ध गराउन कांग्रेस नेतृत्वको सरकारले निर्वाह गरेको प्रभावकारी भूमिका, सन्तुलित र परिपक्व वैदेशिक नीति पनि सोचनीय पक्ष छन्। कांग्रेसको अन्य दलप्रति संयमित राजनीतिक व्यवहार र कुशल समन्वयकारी भूमिका तथा स्थानीय तहमा कांग्रेसले निर्वाह गरेको प्रभावकारी एवं जनमुखी भूमिकालाई हृदयंगम गर्दा आसन्न निर्वाचनमा कांग्रेस डराउनुपर्ने स्थिति छैन। आसन्न निर्वाचनमा स्थिति सबल हुँदाहुँदै पनि यो अपवित्र, अस्वाभाविक र कृत्रिम गठबन्धन कसलाई कुन स्वार्थले चाहिएको हो ? भन्नेमा कार्यकर्ता एवं मतदाता अन्योलग्रस्त छन्। प्रजातन्त्रमा दलीय प्रणाली निर्विकल्प मात्र होइन, दलबीचको स्वस्थ प्रतिस्पर्धाले समृद्धिका ढोका खुुल्ने हुन्छ। यी समृद्धिका ढोका बन्द भएमा अधीरताको बाढीले जोकोहीलाई पनि बगाउन सक्नेछ। उक्त सन्देश यथार्थ भएकाले यसमा प्रजातान्त्रिक शक्ति सचेत भएर अगाडि बढ्नु पर्ने समय आएको छ। यसतर्फ नेतृत्वको ध्यान जाओस्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.