'कांग्रेसले स्थानीय तह चुनाव जित्नैपर्छ'
सन्धिखर्क : नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अम्बर सिंह पुनले नेपालमा प्राप्त गणतन्त्र र परिवर्तनलाई संस्थागत गर्न गठबन्धनका आवश्यक रहेको बताएका छन् । उनले गणतन्त्रको रक्षाका लागि पनि स्थानीय तहको निर्वाचनमा सत्तामा रहेका दलहरूबीच गठबन्धन हुने बताए । नेपाल प्रेस युनियन अर्घाखाँचीले सन्धखर्कमा गरेको पत्रकार सम्मेलनमा सभापति पुनले दुई तिहाइको नेकपा एमालेको सरकारका कारण देशमा आर्थिक संकट सृजना भएको बताए । नेपाली कांग्रेस बिना देश नै नचल्ने अवस्था आएको बताउँदै स्थानीय सरकार कांग्रेसको बनाउन लागिरहेको बताए ।
दुई तिहाइको सरकारले समेत देश चलाउन नसकेपछि नचाहदा नचाहदै पनि कांग्रेसले सरकारको नेतृत्व चलाउन परेको उनको भनाइ थियो। कांग्रेस बिना देशको परिवर्तन नबच्ने बताउँदै आगामी स्थानीय तह चुनाव कांग्रेसले जित्नै पर्ने धारणा राखे।
उनले जनताको लामो बलिदानीबाट प्राप्त लोकतन्त्र जोगाउन सबै लाग्नुपर्ने बताए । नेकपा एमालेका कारण लोकतन्त्र नै धरापमा परेको नेता पुनको भनाइ छ । कार्यक्रममा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठ , कोषाध्यक्ष प्रकाश राना, सहमहामन्त्री निमा गिरीलगायतको उपस्थिति थियो।