मतदानस्थलको निरीक्षण : सुरक्षा संवेदनशीलताको अनुगमन
नुवाकोट : स्थानीय तहको निर्वाचनका लागि नुवाकोटमा सबै पक्षले तयारी सुरु गरेको छ। सरकारीस्तरबाट मतदान स्थलको निरिक्षण तथा अनुगमन कार्य सन्चालन गरिएको छ।
सुरक्षा निकायका प्रमुखहरुले स्थलगतरुपमै मतदानस्थल पुगेर निरीक्षण सुरु गरेका हुन्। विदुर नगरपालिका तथा आसपासका गाउँपालिकाको मतदानस्थल निरीक्षण गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ।
विदुर, सुर्यगढी, म्यागङ गाँउपालिकाको मतदान स्थलको निरिक्षण तथा अनुगमन भएको छ। मतदानस्थलको अवस्था, निर्वाचनका सामग्रीहरु पुर्याउनको लागि सडकको अवस्था र निर्वाचन पश्चात मुख्य निर्वाचन अधिकृतको कार्यालयसम्म सुरक्षित तरिकाले मतपेटिका ल्याई मतगणना सम्पन्न गर्ने उद्धेश्यले मतदान स्थलको निरिक्षण तथा अनुगमन कार्य गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालको भनाई छ।
उनका अनुसार नुवाकोटको १२ वटै स्थानीय तहको सबै मतदान स्थलको निरिक्षण तथा अनुगमन गरी वास्तविक वस्तु स्थितिको बारेमा जानकारी लिई मतदानको लागि मतदानस्थल तयारी अवस्थामा राख्नको लागि अनुगमन तथा निरीक्षण गरिएको हो। उक्त क्रममा प्रहरी चौकीहरुको निरीक्षणसमेत गरिएको छ।
मतदानस्थलहरुका साथै सामरी प्रहरी चौकी, किम्ताङ प्रहरी चौकी र देउराली प्रहरी चौकीको निरिक्षण गरिएको हो।
१२ स्थानीय तह रहेको नुवाकोटमा १ सय ३२ मतदान स्थल र २ सय ८७ वटा मतदान केन्द्र रहेका छन्। आवश्यकताको आधारमा यसअघिको निर्वाचनमा भन्दा ३ वटा मतदानस्थल थपिएको छ भने २ वटा मतदान केन्द्र घटाइएको छ।
आवश्यकता, भौगोलिक विकटता, सडक सञ्जालको अवस्था र यसअघि भएका निर्वाचनको आधारमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले सुरक्षा योजना बनाइने प्रजिअ रिसालले बताए।
मतदान स्थलको निरिक्षण तथा अनुगमनमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक रामप्रसाद शाह, शसस्त्र प्रहरी प्रमुख मदन ढुङ्गाना, अनुसन्धानका प्रमुख हेमन्त चौधरी, जवरजंग गणका सैनिक अधिकृतको टोलीको सहभागिता रहेको छ।