एमालेले मंगला गाउँपालिकाको अध्यक्षमा सतप्रसाद रोकालाई दोहोर्याउने
बेनी : नेकपा एमालेले आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावमा बहालवाला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकालाई उम्मेदवारमा दोहोर्याउने भएको छ । एमालेको गाउँपालिका कमिटीको आइतबार बसेको बैठकले २०७४ को चुनावमा बिजयी रोकालाई यसपटक पनि अध्यक्षको उम्मेदवारको रुपमा दोहोर्याउने निर्णय गरेको हो । रोका एमालेका पालिका कमिटी अध्यक्ष समेत हुन् ।
'नेतृत्व हस्तान्तरण गर्ने सोच थियो तर साथीहरुले सर्वसम्मतरुपमा अध्यक्षको उम्मेदवार सिफारिस गरेपछि अस्वीकार गर्न सकिनँ, 'रोकाले भने , 'संघीयता कार्यान्वयनको प्रारम्भिक चरण, विपद्, कोरोना महामारीका बाबजुद जनताका माझमा गरेका कामलाई संस्थागत गर्ने र अधुरा योजनालाई पूर्णता दिने प्राथमिकता दिनेछु ।'
उपाध्यक्षमा बहालवाला उपाध्यक्ष सिर्जना केसी र नेता पेमा अधिकारीले दावी गरेका छन् । तीनवटा वडाका अध्यक्षको उम्मेदवारको पनि टुङ्गो लागिसकेको छ । वडा नम्बर १ कुहुँमा एकजित रोका, वडा नम्बर ३ मा बहालवाला वडा अध्यक्ष कबिन्द्र रोका र ४ नम्बर वडामा थमप्रसाद रोकालाई एमालेले वडा अध्यक्षको उम्मेदवार बनाउने भएको छ ।
गाउँपालिका अध्यक्ष सतप्रसाद र वडा नम्बर ३ का अध्यक्ष कबिन्द्र रोका एकैघरका सहोदर दाजुभाइ हुन् । ५ वटा वडा भएको मंगलाको २ र ५ नम्बर वडाका अध्यक्षको भने टुङ्गो लगाउन बाँकी छ । गत चुनावमा एमालेले मंगलामा अध्यक्ष, उपाध्यक्ष र ४ वटा वडामा जितेका थियो। गत चुनावमा नेपाली कांग्रेस र माओवादीले मंगलामा चुनावी तालमेल गरेका थिए । जिल्लास्तरमा तालमेलको निर्णय गरेका सत्ता गठबन्धनका दलहरुले मंगलामा उम्मेदवार छनौट गर्न बाँकी छ । आठवटा मतदान स्थल र १७ वटा केन्द्र भएको मंगलामा १३ हजार ४१६ मतदाता छन् ।