बेनीमा आगलागी नियन्त्रणको नमुना अभ्यास
बेनी : बेनीको खुल्लामञ्चमा सोमबार बिहान आगलागी नियन्त्रणको अभ्यास गरिएको छ। जिल्ला विपद् ब्यवस्थापन समितिको आयोजनामा सुरक्षा निकायले घर, जंगल, भान्छाकोठा र व्यक्तिको शरिरमा आगो लाग्दा नियन्त्रण गर्ने बिधिको विषयमा बेनीको खुल्ला मञ्चमा अभ्यास गरेका हुन्।
नेपाली सेनाको शत्रुभञ्जाङ गुल्म, शसस्त्र प्रहरीको चण्डीका गण अन्तर्गत गलेश्वर आश्रित गुल्म र जिल्ला प्रहरी कार्यालयका सुरक्षाकर्मीले आगलागी नियन्त्रणको अभ्यास गरेका थिए। तीन वटा खरको छाना भएको टहरामा लगाइएको आगो फायर ब्याग बोकेका सुरक्षाकर्मी र दमकलको सहायताले निभाइएको थियो।
जंगलमा लागेको आगो निभाउने तरिकाको बारेमा नेपाली सेनाका सुरक्षाकर्मीहरुले नमुना अभ्यास गरेका थिए। भान्छाकोठाको ग्याँसको सिलिण्डर र पाइप चुहावट भएर हुने आगो निभाउने तरिकाको बारेमा नमुना अभ्यास गरेका थिए। यसैगरी मानिसको शरिर अथवा कपडामा आगो लागेको अवस्थामा कसरी निभाउने र जोगिने भन्ने तरिका पनि सिकाइएको थियो।
आगो निभाउने ग्याँसको प्रयोग विधी बारेमा पनि जानकारी गराइएको थियो। आगोलागीको सूचना प्रवाह गराउने देखि सावधानीपूर्वक आगो निभाउने, घाइतेको उद्धार र उपचार, घरभित्र भएका सामान निकाल्ने, क्षतिको मूल्याङ्कन गर्ने प्रक्रियाको अभ्यास गरिएको थियो। सुरक्षाकर्मीले बोकेको पानी भरिएको फायर ब्यागको सहायताले आगो निभाइरहेको अवस्थामा नगरपालिकाको दमकल पुगेर सहयोग गरेको थियो।
सुरक्षा निकायलाई विपद् ब्यवस्थापनका लागि तयारी अवस्थामा राख्नुका साथै समुदायस्तरमा सुरक्षितरुपमा आगलागी नियन्त्रण गर्ने ज्ञान, सिप र सन्देश प्रवाह गराउन नमुना अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले बताए।
आगोलागीको सूचनाहुदाँ वित्तिकै नमुना अभ्यासका लागि सुरक्षा निकायका सवारी साधन साइरन बजाउदै खुल्ला मञ्चतर्फ पुगेका थिए। नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीका सुरक्षाकर्मी बोकेका गाडीसँगै सर्वसाधारणले पनि के भएछ भनेर चाँसो दिँदै खुल्लामञ्च पुगेका थिए।
म्याग्दी आगलागी र डढेलोका हिसाबले जोखिमयुक्त जिल्ला मानिन्छ। गत फागुन महिनामा मालिका गाउँपालिका–५ को जंगलमा लागेको ढडेलो निभाउने क्रममा गरजराका एकै घरका दुई जनाको मृत्यु भएको थियो।