भ्रष्टाचार काण्डमा मुछिएका गाउँपालिका अध्यक्ष फेरि एमालेको उम्मेदवार
जनकपुरधाम : भ्रष्टाचार काण्डमा मुछिएका धनुषाको बटेश्वर गाउँपालिका अध्यक्षलाई नेकपा एमालेले पुनः अध्यक्षको उम्मेदवारको लागि सर्वसम्मत नाम सिफारिस गरेको छ। नेकपा एमालेले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनुषाको बटेश्वर गाउँपालिकाको अध्यक्षमा वर्तमान अध्यक्ष तथा भ्रष्टाचार काण्डमा मुछिएका डम्बर बहादुर राउतलाई पुनः पालिका अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो।
एमाले गाउँपालिका कमिटीले राउतलाई सर्वसम्मतरुपमा पालिका अध्यक्षको उम्मेदवार घोषणा गरेको हो। गाउँपालिकाको अध्यक्षका लागि एमालेका गाउँपालिका अध्यक्ष राम खेलावन महतो, हिरालाल महतो, श्याम महतो, दिलिप लामा, रामपुकार महतो लगायत आकाङ्क्षी थिए। तर पालिका कमिटीका अधिकांस सदस्य राउतको पक्षमा उभिएपछि अरु नेता पछि हटेको नेता हिरालालले बताए।
एमालेले पुनः उम्मेदवार बनाउन लागेका राउत भ्रष्टाचार मुद्दामा मुछिएका थिए। अध्यक्ष राउतले २०७७ फागुन १७ गते गाउँपालिका कार्यालयको प्रशासनिक भवन निर्माणको भुक्तानी दिए बापत ठेकेदारसँग ८ लाख रुपैयाँ घुस माग गरेका थिए। घुस लिँदै गर्दा अख्तियारको टोलीलाई हेरेपछि उनी पैसा फ्याकेर भागेका थिए।
सोही काण्डमा गाउँपालिका अध्यक्ष राउत झण्डै तीन महिना गाउँपालिकामा भन्दा बाहिर काठमाण्डौं लुकिछिपि बस्दै आएका थिए। तर अहिले आएर एमालेले पुनः अध्यक्ष राउतलाई नै दोश्रो पटक अध्यक्षका लागि उम्मेदवार बनाएको छ।