चर्कियो महँगी

चर्कियो महँगी

 काठमाडौं : अन्तर्राष्ट्रिय स्तरमै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै नेपालमा पनि महँगी चर्किंदै गएको छ। गत वर्षको तुलनामा समग्र मुद्रास्फीति दोब्बरले बढेको छ। समग्रमा मुद्रास्फीति (मूल्यवृद्धि) ७ प्रतिशत नाघेको छ। 

गत वर्षको फागुन महिनाको तुलनामा खाद्य तथा पेयपदार्थ समूहभित्र घिउ तथा तेल, तरकारी, दुग्धजन्य उत्पादन तथा अन्डा र दाल तथा गेडागुडीलगायतको मूल्य अत्यधिक बढेको छ। तेलको मूल्य अकासिएको छ।  घिउ र तेलमा मात्रै २६.३४ प्रतिशतले मूल्यवृद्धि भएको छ। तरकारीको भाउ १३.९६ प्रतिशतले बढेको छ। दुग्धजन्य उत्पादन तथा अन्डाको मूल्यवृद्धि ११.३० र दाल तथा गेडागुडीको १०.३० प्रतिशत छ। खाद्य बाहेकका गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात, विविध वस्तु तथा सेवा र शिक्षा क्षेत्रको पनि महँगी बढेको छ। 

यसरी हरेक वस्तुको मूल्य अकासिँदै जाँदा चालू आर्थिक वर्षको ८ महिनासम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.१४ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.०३ प्रतिशत रहेको थियो। खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ७.५१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८४ प्रतिशत रहेको छ। यही गतिमा मूल्यवृद्धि बढिरहे मूल्यवृद्धि दोब्बर अंकमा जाने जोखिम बढेको पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे बताउँछन्। ‘विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्यो। यसले समग्रमा मूल्य बढायो। अझै रुस र युक्रेनको युद्धका कारण लामो समयसम्म मूल्यवृद्धि बढेर छिटै दोहोरो अंकमा पुग्ने जोखिम देखिएको छ,’ उनले भने। 

घट्यो विप्रेषण 

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएर विदेश जानेको संख्या उल्लेख्य रूपमा वृद्धि भई फागुनसम्ममा २ लाख २७ हजार ९ जना पुगेको छ। तर विप्रेषण घट्दै गएको छ। जबकि गत वर्ष विदेश जाने घट्दासमेत विप्रेषण बढेको थियो। मुलुकका लागि विदेशी मुद्रा आम्दानी हुने मुख्य स्रोत विप्रेषण हो।

विप्रेषण १.७ प्रतिशतले घटेर फागुनसम्म ६ खर्ब ३१ अर्ब १९ करोड रुपैयाँ मात्रै कायम भएको छ। जबकि गत वर्ष ८.७ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ प्रतिशतले घटेर आई ५ अर्ब २८ करोड कायम भएको छ। डलरमा पनि गत वर्ष ५ प्रतिशतले बढेको थियो। 

व्यापार घाटा झन् बढ्यो

आर्थिक वर्षको आठ महिनामा १ खर्ब ४७ अर्ब ७५ करोड रुपैयाँबराबरको निर्यात भएको छ। तर यो आयातको तुलनामा एकदम कम हो। सोही अवधिसम्म आयात भने अत्यधिक बढेर १३ खर्ब ८ अर्ब ७३ करोड रुपैयाँसम्मको पुगेको छ। निर्यातभन्दा आयात अधिक हुँदा  कुल वस्तु व्यापार घाटा ३४.५ प्रतिशतले वृद्धि भई ११ खर्ब ६० अर्ब ९९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १.६ प्रतिशतले बढेको थियो।

यद्यपि गत वर्षको तुलनामा निर्यातमा झिनो सुधार भएको छ। यस अवधिसम्म पाम तेल, सोयाबिन तेल, पिना, धागो (पोलिस्टर तथा अन्य), ऊनी गलंैचालगायतका वस्तुको निर्यात बढेको छ। अलैंची, चिया, जडीबुटी, तार, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ। जति निर्यातमा सुधार भए पनि कुल वस्तु आयात ३८.६ प्रतिशतले बढ्दा व्यापार घाटा चुलिएको राष्ट्र बैंकले बताएको छ। पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, कच्चा सोयाबिन तेल, सुनलगायतका वस्तुको आयात बढेको छ भने एमएस विलेट, सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगरलगायतका वस्तुको आयात घटेको छ। इन्धन, फलाम, खानेतेललगायात सामानको मूल्यवृद्धिले आयात थप बढ्ने संकेत देखिएको नेपाल राष्ट्र बैंकको अनुमान छ।

  •     मुद्रास्फीति ७.१४ प्रतिशत, तोकिएको सीमा नाघ्यो 
  •     आयात ३८.६ र निर्यात ८२.९ प्रतिशतले वृद्धि
  •     विप्रेषण नेपाली रुपैयाँमा १.७ प्रतिशत र अमेरिकी डलरमा ३ प्रतिशतले घट्यो
  •     शोधनान्तर स्थिति रु.२५८ अर्ब ६४ करोडले घाटामा 
  •     कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ५८ करोड अमेरिकी डलर 
  •     संघीय सरकारको खर्च ६७५ अर्ब ३० करोड 
  •     राजस्व परिचालन ६८४ अर्ब ७० करोड 
  •     विस्तृत मुद्राप्रदाय ३.१ प्रतिशतले वृद्धि
  •     बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ४.१ प्रतिशतले वृद्धि

अत्यधिक आयातका कारण विदेशी विनिमय सञ्चितिमा परेको दबाब समाधान गर्न आयातलाई व्यवस्थापन गर्न जरुरी भएको नेपाल उद्योग परिसंघ (सीएनआई) का बैंकिङ समिति सभापति अनिलराज भट्टराईको भनाइ छ। ‘६–७ महिनाका लागि आयात प्रतिबन्ध गर्नुभन्दा आयात व्यवस्थापन गर्नेतर्फ जाउँ। उच्च मूल्यका वस्तुको भन्सार बढाउन त मिल्दैन बरु अन्य रिकभरी शुल्क भनेर लिए पनि फाइदा हुन्छ,’ उनले भने।  

शोधनान्तरमा सुधार भएन 

नेपाल भित्रिने विदेशी मुद्राभन्दा बाहिरिने विदेशी मुद्रा अधिक हुँदा शोधनान्तर घाटा बढिरहेको छ। फागुनसम्ममै शोधनान्तर स्थिति २ खर्ब ५८ अर्ब ६४ करोडले घाटामा छ। जबकि गत वर्ष ६८ अर्ब १ करोड रुपैयाँले बचतमा रहेको थियो। यसैगरी फागुनसम्ममा चालू खाता ४ खर्ब ६२ अर्ब ९३ करोडले घाटामा छ। गत वर्षको सोही अवधिमा चालू खाता १ खर्ब ५१ अर्ब ४२ करोडले घाटामा थियो। 

विदेशी सञ्चितिमा दबाब कायमै

मुलुकमा आफ्नो नोट जतिसुकै भए पनि बाहिरबाट सामान आयात गर्न, दातृ निकायलाई ऋण तिर्न र विदेश पढन, उपचार गर्न तथा घुम्न जाँदा अनिवार्य रूपमा विदेशी मुद्रा आवश्यक पर्छ। तर अहिले विदेशी मुद्राको सञ्चितिमा दबाब परेको छ। गत असारको तुलनामा कुल विदेशी विनिमय सञ्चिति १६.३ प्रतिशतले कमी आई ११ खर्ब ७१ अर्ब रुपैयाँ मात्रै छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ फागुन मसान्तमा १८.५ प्रतिशतले कमी आई ९ अर्ब ५८ करोड कायम भएको छ।

अहिलेको विदेशी विनिमय सञ्चितिले ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्छ। निर्यात, विप्रेषण र पर्यटन क्षेत्रमा सुधारको झिनो आशा रहे पनि यस वर्ष विदेशी विनिमय सञ्चितिमा सुधार आउने स्थिति नरहेको नेपाल राष्ट्र बैंकका उपनिर्देशक सुशील पौडेल बताउँछन् । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.