लोसपा जिल्ला कमिटीले प्रदेश कमिटीलाई बुझायो उम्मेदवारहरुको सिफारिस नामावली
जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टीका जिल्ला कार्य समितिहरुले मधेश प्रदेश समितिलाई उम्मेदवारहरुको सिफारिस नामावली बुझाएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पालिकाका समितिहरुले तयार पारेको प्रतिवेदन जिल्ला समितिले प्रदेश कमिटीलाई बुझाइएको हो ।
प्रदेश कार्यालयमा बसेको बैठकमा लोसपाका पालिका समितिले तयार पारेको उम्मेदवारहरुको सूचीसहितको प्रतिवेदन जिल्ला कमिटीहरुले प्रदेश कमिटीलाई हस्तान्तरण गरेको हो । प्रदेशका सबै जिल्लाबाट सिफारिस भएर आएको नामावली सूचीसहितको प्रतिवदेन जिल्ला कमिटीहरुले प्रदेशलाई हस्तान्तरण गरेको प्रदेश अध्यक्ष जितेन्द्र सोनलले जानकारी दिए । उनले प्रतिवेदन अध्ययन गरी सिफारिसका लागि बैशाख २ गते सम्म केन्द्रीय कमिटीमा पठाइने बताए ।
प्रत्येक स्थानीय तहबाट सिफारिस भएर आएको आकांक्षी उम्मेदवारहरुको सूची जिल्लाले संकलन गरी प्रतिवेदन तयार गरेर प्रदेश कमिटीलाई बुझाएको र त्यसको अध्ययन गरी अन्तिम नामावली सूची सहितको प्रतिवेदन केन्द्रमा सिफारिसका लागि पठाइने सोनलले बताए ।
यता प्रदेश सचिव रामविनोद चौधरीले ८ वटै जिल्लाबाट आएको आकांक्षी उम्मेदवारहरु मध्ये करिब १७/१८ पालिकामा मेयर उपमेयर सर्वसम्मत रुपमा सहमति गरेर आएको बताए । बाँकीमा २ देखि ७ जनासम्म आकांक्षीहरुको नाम सिफारिस भएर प्रदेशमा आएको सचिव चौधरीले बताए ।
उनले केहीमा ठाउँमा अन्य दलसँग तालमेल गर्ने भनिएको र तालमेल गर्ने ठाउँमा आवश्यक अन्य दलसँग स्थानीय स्तरबाटै छलफल गर्ने बताए । बढी उम्मेदवार सिफारिस भएर आएको ठाउँमा सर्वसम्मति गर्ने प्रयास गर्ने र हुन नसके केन्द्र कमिटीले अन्तिम निर्णय गर्ने जनाए ।प्रदेश अध्यक्ष जितेन्द्र सोनलको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय पर्यवेक्षक, जिल्ला पर्यवेक्षक, जिल्ला अध्यक्षलगायतको सहभागिता थियो ।