उपमेयर झा लोसपाबाट जसपामा प्रवेश
जनकपुरधाम : धनुषाको हंसपुर नगरपालिकाकी उपमेयर रेणु झा जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेकी छन्। मंगलबार उपमेयर झालाई जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले पार्टीमा स्वागत गरेका हुन्। तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित भएकी झा अहिले लोकतान्त्रिक समाजवादी पार्टीमा आवद्ध थिईन्। तर स्थानीय निर्वाचनमा टिकटको लागि जसपामा प्रवेश गरेको चर्चा छ।
जसपा नेपाल विभाजन हुँदा उपमेयर झाले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल रोजेकी थिइन्। तत्कालिन राजपा नेपालबाटै निर्वाचित हंसपुर नगरपालिकाका मेयरमा रामज्ञान मण्डलसँग लामो समयदेखि असन्तुष्टि रहँदै आएकी थिईन्। स्थानीय तहको निर्वाचन आउन लाग्दासमेत उनलाई लोसपाले बेवास्ता गरेपछि जसपा नेपाल रोजेको बताइएको छ।
यसअघि हंसपुर नगरपालिकाका मेयर र उपमेयरबीच विवाद हुँदा राष्ट्रिय जनता पार्टी (राजपा) दुई कित्तामा बाँडिएको थियो।
जसपा अध्यक्ष यादवले तत्कालिन राजपा नेपालबाट निर्वाचित जनकपुरधाम उप–महानगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष जगरनाथ साह समेतलाई पार्टीमा प्रवेश गराएका छन्।