श्रीमानको शवमा श्रीमतीको रोदन, दुई छोराको मृत्युमा बुवा रामानन्दको बेदना
जनकपुरधाम : ‘कफन माथिको सेता कपडा र फूल’ हटाउन खोज्दा कसैले भन्यो, यो अहिले यही हुनदिनु न...! कफनलाई सुम्सुम्याईन भित्रबाट चाँदनी भन्दै भनेर श्रीमानले बोलाउँछ की भनेर एकोहोरिईन। अहँ श्रीमान बोलेनन्, बोल्दै बोलेनन्। हेर्दाहेर्दै भएका मानिस सबै उनको वरिपरि जम्मा भए कोही दाउँरा ल्याउन लागे कोही पराल.. कोही चिता सजाउन थाले त कोही घिउँ, आगो बात्तिको जोहो गर्न थाले। कसैले भन्यो ल अब कफन खोलौं, ढिला नगरौं, लगिहालौं।
तपाईं अब उता गएर बस्नु...कफन अंगालो हालेर भुँईंमा रोई कराईं, आलापबिलाप गरेर बसिरहेकी उनलाई कसैले भन्यो तर उनी उठिनन्। कसैले समातेर उठायो। उनी उठिन, बरु मुर्छा परिन्। श्रीमती चाँदनीले श्रीमान् सरोजको शव देखेपछि भक्कानो फोडेर मेरो देउता, मेरो जीवन, भन्दै कतिबेला मुर्छा पर्थिन, त कुनै बेला उनलाई अलिपर लान खोज्दै थिए सबैजना। तर तान्नखोज्ने हात पन्छाउँदै उनले श्रीमान् सरोजको मृत शरिरलाई समातेर बेस्सरी रुन्थिन्।
धनुषाको धनौजी गाउँपालिकास्थित बहुअर्वा गाउँ शोकमग्न छ। घटना गत भदौ २६ गते राति २ बजेको हो। बहुअर्वा बजार चोकमा गणेश पूजा मेला हेरिरहेको अवस्थामा कसैले सरोज मण्डलको पेटमा तरवारले हानेको थियो।
मेला हेर्न क्रममा गाउँकै अमित कुमार मण्डल, मनिष कुमार मण्डल, राजिव कुमार मण्डलसंग आपसी विवाद भयो। सोही विवादमा प्रतिवादी मनिष, राजिवले धरिलो हतियार तरवारले मनिष अमितको टाउँकोमा प्रहार गरी घाईते बनाएर झगडा भैरहेको देखेपछि झगडा छुटाउन गएका सरोज कुमार मण्डल र बजरङ्ग राउत माथिसमेत तरवार प्रहार भयो। तरवार प्रहारले बजरङ्गको जाँघीमा र सरोजको पेटमा तरवारले हानी आन्तरिक अङ्गभंग गरियो। सरोज त्यही बेलादेखि काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको थियो।
धनौजी गाउँपालिका-५ बहुअर्वाका राम अशिष मण्डलका १८ वर्षीय छोरा मनिष कुमार मण्डल र विमल मण्डलका २३ वर्षीय छोरा राजीव कुमार मण्डल माथि ‘ज्यान मार्ने उद्योग’ मा जिल्ला अदालत धनुषामा मुद्दा दर्ता गरियो। जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलाशले हत्या अभियोग (ज्यान मार्ने उद्योग) मुद्दालाई सामान्य कुटपिटमा परिणत गरी प्रतिबादीलाई मुक्त गर्ने फैसला सुनाए।
फैसलामा प्रतिवादी राजीवकुमार मण्डलले गम्भिर घाइते सरोज मण्डलको उपचार खर्च वापत ४ लाख ९२ हजार २५९ रुपैयाँ, घाइते अनिल मण्डललाई ६९ हजार ३ सय र बजरंग प्रसाद राउतलाई ३ हजार १३० रुपैयाँको बिल भर्पाइ उपचार खर्च उपलब्ध गराउने उल्लेख छ। गत पुस १९ गते जिल्ला अदालत धनुषाका न्यायाधीश परशुराभ भट्टराइको आदेश भएको ईजलाश अधिकृत समिता श्रेष्ठमार्फत प्रमाणिक फैसलापत्रमा भनिएको छ।
धनौजी-५ का वडाध्यक्ष कमलनारायण पंकजले भने, ‘सरोजको उपचारको क्रममा पेटमा गम्भिर घाउ भएको थियो। उनको ‘ल्याप्राटोमी’ प्रविधिबाट शल्यक्रियाको क्रम जारी थियो। त्यस्तो अवस्थामा न्यायाधीश भट्टराईले कुन विवेकको प्रयोग गरी हत्या अभियोगमा कारागारमा रहेका व्यक्तिलाई कुटपिट मुद्दामा परिणत गरी रिहा गरियो?’ उनले प्रश्न गरे।
अदालतको आदेशबाट रिहा भएका व्यक्ति केही दिन नबित्दै विदेश गईसके। यता घाइते सरोजको सोमबार राति उपचारकै क्रममा असामयिक निधन भयो। सरोजको परिवारजनसहित समग्र गाउँ नै अहिले शोकमग्न अवस्थामा छन्। सबैले अहिले न्यायालयबाट नै अन्याय गरिएको अनुभूति गरिरहेका छन्।
न्यायकर्ता न्यायाधीश शंकाको घेरामा छन् भने पीडितपक्ष सही न्यायको खोजीमा भौतारिरहेका छन्। न्यायिक अधिकार क्षेत्रका व्यक्तिद्वारा नै अहिले सरोजको परिवारमाथि दुःखको पहाड खसाइएको गाउँकै सावित्री देवी श्रेष्ठको आरोप छ। श्रेष्ठले भनिन, ‘सधैँ हाँस्दै, मुस्कुराउँदै दोहोर्याइ–तेहेर्याइ सोधिरहन्थ्यो, कस्तो हुनुहुन्छ ? सब ठीक–ठाक छ नी ? तर आज सरोजको मृत्युले मनै कुडिएर आएको छ।’
सरोजको परिवारमा उनका आमा, बाबु, पत्नी चान्दनी मण्डल, ९ वर्षीय छोरा भूमि मण्डल र ५ वर्षीया छोरी भूमिका मण्डल छन्। केही वर्ष पहिले सरोजका भाई सुबोध मण्डलको जनकपुरधामस्थित ग्रीलको काम गर्दैगर्दा करेन्ट लागेर मृत्यु भएको दुःखको पहाड नघट्दै अर्को छोराको मृत्युले परिवार नै विछिप्त छ।
एउटा छोराले मृत्युवरण गरेको केही वर्ष नवित्दै दोश्रो परिवार पाल्ने जेठो छोराको मृत्युपछि बुवा रामानन्द मण्डल केवटको मर्नु न बाँच्नुको अवस्थामा छ।