हत्या आरोपमा गाउँकै तीन जना पक्राउ
राजविराज : हत्यागरी पोखरीमा फालेको आरोपमा बुधबार सप्तरीमा तीन जना पक्राउ परेका छन्। रुपनी गाउँपालिका–५ बसविट्टीका २५ वर्षीय अन्सारुल मियाँको हत्या आरोपमा सोही गाउँका लालु भनिने जयराम खंग, रामप्रवेश खंग र दिपक खंगलाई पक्राउ गरिएको हो।
कर्तव्य गरी मारेर पानीको पोखरीमा फालेको अवस्थामा मियाँको शव गत चैत ७ गते फेला परेको थियो । सोही दिन राजविराजस्थित अस्पतालमा शवको पोष्टमार्टम गरिएको थियो।
तत्काल आरोपितहरुको पहिचान नखुलेपछि मृतकका बुवा ४७ वर्षीय मो. ताहिर मियाँले चैत ७ गते खोजतलाश गरी आरोपितहरुलाई कारवाही गर्न माग गर्दै उजुरी दिएक थिए।
तीन सातासम्म प्रहरीलै शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिई केहीलाई अभद्र व्यवहार र केहीलाई दैनिक हाजिरीमा राखेर अनुसन्धान गरिरहेको थियो।
यसै क्रममा बुधबार जिल्ला प्रहरी कार्यालयले चार जनाविरुद्ध कर्तव्य ज्यान मुद्दाको उजुरी समेत दर्ता गरेको छ। जसमध्ये आरोपित तीन जनालाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको मधेस प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।