नुवाकोटमा ७५ हजार बालालिकालाई टाइफाइडको खोप
नुवाकोट : प्राणघातक रोग टाइफाइडविरुद्धको खोप अभियानको नुवाकोटमा तयारी पूरा भएको छ। १२ स्थानीय तह रहेको नुवाकोटमा ७५ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने लक्ष्य रहेको छ।
नुवाकोटमा टाइफाइड खोप अभियानका लागि ६ सय स्वास्थ्यकर्मी परिचालन गरिएको छ। टाइफाइडविरुद्धको राष्ट्रिय खोप कार्यक्रम अभियान यही बैशाख ४ गते आइतबारदेखि ८ गते विहीबारसम्म सञ्चालनको तयारी पूरा भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ।
स्वास्थ्य कार्यालयद्वारा आयोजित पत्रकार अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रध्वज अधिकारीले नुवाकोटका १५ महिनादेखि १५ वर्ष उमेरसम्मका ७५ हजार २ सय ५ जना बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइने लक्ष्य रहेको जानकारी दिए। उनले सो खोप अभियानको व्यवस्थित र प्रभावकारी सञ्चालनमा सहजीकरणका लागि सबै पक्षसँग आग्रह गरेका छन्।
खोप अभियानको लागि स्थानीय तहको समन्वयमा ४ सय २९ खोप केन्द्र निर्धारण गरिएकोमा ८ सय ९८ जना स्वयंसेवक खटाइने छ। खोपको लागि जिल्लाभर स्वास्थ्य चौकीको साथै ८० प्रतिशत बालबालिकाहरु विद्यालयमा अध्ययन गर्ने तथ्यांकले विद्यालयमै खोपकर्मी खटाएको प्रमुख अधिकारीले बताए।
खोप अभियानको लागि नुवाकोटका १२ वटै स्थानीय तहमा खोप केन्द्रहरु तोकिएको छ। विदुर नगरपालिकामा ६८, बेलकोटगढीमा ६५, दुप्चेश्वर गाउँपालिकामा ३५, म्यागङमा २४, किस्पाङमा २४, तारकेश्वरमा १५ खोप केन्द्र तोकिएको छ।
यस्तै शिवपुरीमा ४९, पञ्चकन्यामा १९, लिखुमा २४, तादीमा २९, सुर्यगढीमा २३ र ककनीमा ५१ खोप केन्द्रहरु तोकिएको छ। लक्षित बालबालिकाअनुसार सबै स्थानीय तहको खोप केन्द्रमा ५ सय ८६ जना स्वास्थ्यकर्मी खटाइएको छ।