१५ सञ्चारगृहको ‘एक नेपाल’एप
काठमाडौं : मिडिया एलायन्स नेपालमा आबद्ध १५ वटा मूलधारका सञ्चारगृहले विश्वसनीय र सत्य समाचार पाठक समक्ष ल्याउने उद्देश्यले नयाँ वर्ष २०७९ सँगै ‘एक नेपाल’ एप प्रयोगमा ल्याएका छन्।
नेपाली मिडिया क्षेत्रलाई नै असर पर्ने गरी असत्य, भ्रामक र अतिरञ्जित समाचार आउन थालेको महसुस गर्दै मिडिया एलायन्स नेपालले पाठकमा विश्वासनीय र भरपर्दो समाचार छिटोभन्दा छिटो पुर्याउन एप परियोजना ल्याएको हो। ‘हामी पेसागत प्रवद्र्धनका लागि संगठित भएका हौं, तर हाम्रो अन्तिम लक्ष्य भनेको मिडियाका पाठक नै हुन्। उनीहरूले सही समाचार पाएका छैनन् भने हामी संगठित हुनुको के अर्थ ?’ मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकारले भने, ‘यस एपले पाठकप्रतिको हाम्रो सेवाभाव र इमानदारी साबित गर्नेछ। सुरुमा मिडिया एलायन्सका सदस्य मात्र यस एपमा भए पनि पछि अरू मिडियालाई पनि समेटिनेछ।’
मूलधारको मिडियाका लागि यो अति आवश्यक समय सान्दर्भिक परियोजना भएको एक नेपालका अध्यक्ष दिरेकलाल श्रेष्ठले बताए। ‘हरेक तीन महिनामा सेवाग्राहीको सुझाव लिएर नयाँनयाँ फिचर थप्नेछौं,’ उनले भने। मिडिया एलायन्स नेपालमा मूलधारका छापा, रेडियो र टेलिभिजन समावेश रहेकाले सबैको प्रतिनिधित्व झल्किने गरी एक नेपालमा पढ्ने, सुन्ने र हेर्ने तीनै माध्यमबाट सेवा लिन सकिने व्यवस्था छ। प्रिन्ट पीडीएफ, लाइभ रेडियो र लाइभ टीभी एक ठाउँमा पाइने भएकाले यो सबैको प्रिय हुने विश्वास मिडिया एलायन्स नेपालको छ।
समाचारसँगै यस एपमा आम व्यक्तिको जीवनमा अति आवश्यक प्रयोगका विषय पनि समेटिएका छन्। सेयर बजार, सुनचाँदी मूल्य, मौसमी विवरण, विदेशी मुद्रा सटही दर, मिति परिवर्तन, भूमि परिमाण हिसाब, वजन क्यालकुलेटर, युनिकोड रूपान्तरण, ईएमआई हिसाबलगायतका आधारभूत विषयमा पनि एपबाट जानकारी लिन सकिनेछ। अहिले बेटा भर्सनमा लन्च गरिएको एक नेपाल केही महिनाभित्रै समेटेर फुल भर्सनमा अपडेट गर्ने तयारी छ।