तीन महिना लगाएर चारवटै निकुञ्जमा खिँचियो बाघको तस्बिर, विश्लेषणमा संख्या बढ्ने आंकलन
गुलरिया : बर्दिया–बाँके कम्प्लेक्समा बाघको तस्बिर लिने काम सकिएलगत्तै तस्विर विश्लेषणको थालनी गरिएको छ। बर्दिया–बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र तथा बाघ पाइने आसपासका जंगल तथा सामुदायिक वनहरुमा अटोमेटिक क्यामरामार्फत कैद गरिएका बाघका तस्बिरहरुको विश्लेषण शुरु भएको छ।
चितवन–पर्सा कम्प्लेक्सबाट मंसिर १९ गतेदेखि क्यामरा जडान गर्ने कार्य शुभारम्भ गरेको १० दिनपछि बर्दिया–बाँके कम्प्लेक्समा क्यामरा राखिएको थियो। तीन महिनापछि चारवटै निकुञ्जमा बाघको तस्विर खिच्ने कार्य सकिएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा लिइएको बाघका तस्बिर विश्लेषणको तयारी भैरहेको छ। अटोमेटिक क्यामरामा लिइएका तस्बिरहरुको डाटा सुरक्षित गर्ने काम सकिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए।
क्यामरामा कैद भएका पाटेबाघका तस्विरहरु विश्लेषण हुँदैछ। बाघको पाटा छुट्याएर अलग्याइन्छ। फरक फरक पाटा गनेर बाघको संख्या निर्धारण हुन्छ। तस्विरहरु विश्लेषण गर्न तीन महिनाको समय लाग्छ। अधिकृत श्रेष्ठले भने, ‘ग्लोबल टाइगर डे का अवसरमा नतिजा सार्वजनिक गर्न मिल्नेगरी काम गरिरहेका छौं। पर्यटकहरुले निकुञ्जमा धेरै बाघहरु देखेको आधारमा बाघको संख्या बढ्ने अनुमान गरेका छौं। बाघका तस्बिरहरु गन्दैछौं। केही महिनाभित्रै वास्तविक तथ्यांक बाहिर ल्याउँछौ।’
बर्दियामा ४१८ र बाँकेमा ३९८ गरी ८१६ वटा ग्रिडमा क्यामरा जडान गरिएको बाघ गणना कार्यमा प्राविधिक सहयोग गर्दै आइरहेको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका संरक्षण अधिकृत डा. रविन कडरियाले बताए। प्रति ग्रिड दुई वटा क्यामराका दरले कम्प्लेक्समा १ हजार ६३२ वटा अटोमेटिक क्यामरा जडान गरी बाघका तस्विर खिँचिएका हुन्। कोषमार्फत नै तस्बिर विश्लेषणको काम भैरहेको छ। उनले भने, ‘हामीले बाघको संख्या, भालेपोथी, बासस्थानलगायत बाघ पाइने क्षेत्रको समेत विश्लेषण गर्छौ। तथ्यांकमा आधारित विश्लेषण हुन्छ। यतिखेर बाघका तस्बिर स्टोर गरी एनालाइसिस भैरहेको छ।
पछिल्लो तथ्यांक अनुसार चितवनमा ९३, बर्दिया ८७, बाँके २१, पर्सा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ वटा गरी नेपालमा २३५ वटा लोपोन्मुख पाटेबाघ छन्। यसबर्ष बाघको संख्या बढ्ने चौतर्फी अनुमान गरिएको छ। निकुञ्जमा आउने पर्यटकले दिनहुँ बाघ देख्ने गरेका छन्। बाघको साइटिङ निरन्तर भएकाले पनि बर्दियामा पाटेबाघको संख्या बढ्ने अनुमान गरिएको छ। प्रभावकारी बासस्थान क्षेत्र, प्रचुर घाँसे मैदान, बाघका आहारा प्रजातीहरुको घनत्व भएका कारण बर्दियामा बाघको संरक्षण प्रभावकारी मानिन्छ।
बाघ बढेसँगै मानव–बाघ विचको द्वन्द्व चरम अवस्थामा पुगेको छ। द्वन्द्व निरुपण गर्दै सहअस्तित्व कायम गर्न समयमै पहल गर्नुपर्ने समुदायको माग छ। तस्बिर गणना सकिएपछि बाघको बासस्थानलगायत विचरण क्षेत्रको वास्तविकता पत्ता लाग्छ।
कडरियाले थपे, ‘बाघ गणनाबाट विभिन्न कुराहरुको अध्ययनसमेत हुने भएकाले मानव–बाघ द्वन्द्व नियन्त्रणमासमेत योजना बनाउन सहज हुन्छ।’ बाघको आनीवानीलगायत यसबाट जोगिने उपायहरुका बारेमा समुदायलाई सचेत पार्दै आएको कडरियाले बताए।