कलैया उपमहानगरमा कांग्रेसबाहेक तीन दलको छुट्टै मोर्चा घोषणा
कलैया : सत्तारुढ पाँच दलीय गठबन्धनले स्थानीय संयन्त्रमार्फत् तालमेल र उम्मेदवारको टुंगो लगाउने नीति लिए पनि स्थानीय स्तरमा भने त्यसको कार्यान्यवन जटिल बन्दै गएको छ।
केन्द्रीय तहमा गठबन्धनलाई जोगाएर अघि बढ्दै गरेको पाँच दलको स्थिति जिल्लामा भने फरक छ। केन्द्रीय गठबन्धनलाई जिल्लाले नस्वीकार्ने अवस्था देखिएको छ। जीतपुर-सिमरामा कांग्रेसले एक्लै चुनाव लड्ने घोषणा गरेको केही दिनमै कलैया उपमहानगरमा कांग्रेसबाहेक अन्य दल एक देखिएका छन्।
पाँच दलीय गठबन्धनमध्ये तीन दलले बिहीबार पत्रकार सम्मेलन गरेर निर्वाचन लड्ने घोषणा गरेका छन्। जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पत्रकार सम्मेलन गरेर निर्वाचनमा एक भएर जाने घोषणा गरेका हुन्। पत्रकार सम्मलेनमा कांग्रेस र राष्ट्रिय जनमोर्चाको उपस्थिति थिएन।
पाँच दलको गठबन्धनले कांग्रेसको नेतृत्वमा रहने जिल्ला स्तरीय संयन्त्रले तालमेलको टुंगो लगाउने नीति बनाए पनि कलैया उपमहानगरपालिकामा तीन दलले छुट्टै गठबन्धन बनाएका हुन्। कांग्रेस गठबन्धनमा आए तालमेल हुने अन्यथा तीन दल एक भएर अघि बढ्ने जानकारी पत्रकार सम्मेलनमा दिइएको छ।
जसपा कलैया नगरका अध्यक्ष शिवनाथ पटेलले आगामी निर्वाचनमा तीन दलबीच गठबन्धन गरेर अघि बढ्ने सहमति भएको जानकारी दिए। त्यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष मुकेश साहले पाँच दलीय गठबन्धनमा रहेका अन्य दलसँग छलफल भइरहेको र अन्य दल नआए तीन दल मिलेर अघि बढ्ने निर्णय भएको जानकारी दिए।
नेकपा एसका नगर अध्यक्ष अरुण खनालले तीन दलबीचको सहमतीलाई जानकारी गराउन पत्रकार सम्मेलन गरिएको बताए। पत्रकार सम्मेलनमा जसपा नेता प्रमोद गुप्ता, रामकिशोर यादव, नेकपा एसका ध्रुव यादवलगायत तीन दलका नेता कार्यकर्ता उपस्थित थिए।
केन्द्रीय गठबन्धनले कलैया उपमहानगरको नेतृत्व नेपाली कांग्रेसलाई दिने संकेत पाएपछि जिल्लामा अन्य तीन दल एक भएका हुन्। कांग्रेसले यसअघि कलैया उपमहानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै जितेको थियो। विजयी भएको पालिका कांग्रेसलाई दिने निश्चितजस्तै भएपछि अन्य दलले छुट्टै मोर्चा बनाएका हुन्।