परम्परागत पोसाकमा मौलिक नृत्य
ताप्लेजुङ : ताप्लेजुङमा नयाँ वर्षको अवसरमा आज थेरिङनाम सांस्कृतिक मेला आयोजना गरिएको छ। लिम्बु भाषामा थेरेङनामको अर्थ वैशाखे मेला हो। लिम्बु जातिले साउनमा सिसेक्वा, माघमा कक्फेक्वा र वैशाखमा थेरेङनाम मेला आयोजना गर्ने गरेको छ।
आधुनकितासँगै पुराना चाडपर्व लोप हुन थालेकाले संस्कार र संस्कृति संरक्षणका लागि मेला आयोजना गरिएको हो। मेलामा प्रतियोगितात्मक च्याब्रुङ नृत्य प्रस्तुत गरिएको छ। हाफ म्याराथुन, छेलो र धुनवाण प्रतियोगिता मेलामा समावेश गरिएको छ।
पुरुषतर्फ २१ किलोमिटर हाफ म्याराथुन प्रतियोगितामा मोहन कुमार राई प्रथम बने। कोरोना संक्रमणका कारण मेला तथा महोत्वसव ठप्प भएयता पहिलो औपचारिक कार्यक्रम भएको हो। किरात याक्थुङ चुम्लुङ फुङलिङ नगरकार्य समितिको आयोजनामा महोत्सव गरेको हो।