२०७८ लाई फर्केर हेर्दा : अपराधको ग्राफ उक्लिँदै
काठमाडौं : समाजमा घटेका फरक-फरक किसिमको अपराधलाई हेर्दा २०७८ साल खासै शान्तिपूर्ण बन्न सकेन। डरलाग्दा र क्रूर घटनाले वर्षभरि नै समाजमा त्रास फैलाइरह्यो। प्रहरी तथ्यांकअनुसार घरेलु हिंसा, आर्थिक अपराध, जघन्य तथा कर्तव्य ज्यान, बलात्कार तथा अनलाइनबाट हुने अपराधमा वृद्धि भयो। लागुऔषध ओसारपसार तथा बेचविखन अपराध पनि बढ्यो।
महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी सुदीप गिरीका अनुसार सामाजिक घट्ना तथा राजनीतिक विषयले पनि वर्षभरि देशको शान्ति सुरक्षामा प्रत्यक्ष असर गर्यो। समाजलाई अपराधमुक्त गर्न पूरै नसकेपछि शान्ति सुरक्षा प्रदान गर्ने विषयमा नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायको विशेष भूमिका रह्यो।
२०७८ सालमा राजनीतिमा व्यापक उतारचढाव पनि भयो। कहिले संसद विघटन र पुनःस्थापना त कहिले एमसीसीको पक्ष-विपक्षमा सडक र सदन तातिरह्यो। देशको शान्ति सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी राजनीतिक मुद्दामा समेत दिनरात खटिए। एमसीसीको विषयमा महिनौंसम्म सडक आन्दोलनमय बन्यो।
गिरी भन्छन्, ‘कोभिडको समय भएकाले पनि हुनसक्छ अनलाइनमार्फत् हुने चोरी, ठगी तथा साइबर अपराधको संख्यामा उल्लेख्य वृद्दि भयो। कोभिडले बेरोजगार बनेका धेरै व्यक्ति अपराधतिर पनि संग्लन भए। कोही अपराधको निसानामा परे। अनलाइन क्लास, क्रिप्टोकरेन्सी, बिटक्वाइनजस्ता नयाँ आर्थिक अपराध पनि देखिए।
अपराधमुक्त समाजको परिकल्पना गर्न नसकिने र जनसंख्या वृद्धि, छिटो पैसा कमाउने लालच, व्यक्ति केन्द्रीत सुखसुविधाको चाहना, इन्टरनेटको दुरुपयोग, गरिबीलगायत कारणले अपराधको तथ्यांक उकालो लागेको उनको बुझाइ छ।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी बसन्त कुँवरका अनुसार अनलाइनसँग सम्बन्धित अपराध बढ्दो क्रममा छ। हातहातमा मोबाइल र घरघरमा इन्टरनेटको सुविधासँगै आर्थिक अपराध बढेको छ। टेक्नोलोजी बेसका अपराध चुनौतीको रुपमा रहेकाले राज्य संवेदनशिल हुनुपर्ने उनको बुझाइ छ। 'अहिले त बैंकमा रहेको रकम मोबाइलबाट यताउता पठाउनसक्ने सुविधा आइसक्यो। अनलाइनबाट जुवा खेल्न सकिने भयो। पहिले मानिस भेला भएर गरिने रमाइलो अहिले अनलाइनमा लाइभ हुन थाल्यो,' उनले भने।
मानिसको सनक, इमोसन र मानसिक अवस्थाको उपजको रुपमा अपराध बढ्ने बताउँदै उनले केही जघन्य र अति क्रूर अपराध पनि २०७८ मा घटेको जानकारी दिए। 'केही घटनालाई हेरेर सम्रग समाजको मूल्यांकन गर्नु ठीक होइन। अन्य देशको तुलनामा नेपाली समाज शान्तिपूर्ण नै छ,' उनले भने।
परम्परागत गुण्डागर्दी गर्ने, घर फोर्ने, अपहरण तथा फिरौतीलगायतका अपराध भने केही घटे पनि अघिल्लो वर्ष बालबालिकामाथि हुने अपराध र जबरजस्तीकरणीको घटना वृद्धि भएको उनले बताए।
२०७८ सालको वैशाखमा काठमाडौं-१० मा मोहनराज भण्डारीले भाउजु रोशनीराज भण्डारीको हत्या गरी प्रहरी परिसर टेकुमा गएर आत्मसर्मपण गरेका थिए। त्यस्तै भदौमा सँखुवासभाको मादीमा तेजबहादुर कार्कीको परिवारको सामूहिक हत्या भयो। ६ जनाको उनीहरुको परिवारको हत्यामा स्थानीय तथा छिमेकी लोकबहादुर कार्कीलगायतको संग्लनता देखिएको थियो।
कमिसनको विवादमा तीन जना व्यापारीको शिलशिलाबद्धरुपमा भएको हत्याकाण्ड पनि गत वर्षको चर्चित घटना हो। सिराहाका अनिलकुमार मण्डलले राजेन्द्रकुमार श्रेष्ठ, मोहन प्रसाद लिम्बु र शम्भु चौधरीको योजनाबद्धरुपमा हत्या गरेका थिए।
गत पुसमा सँखुवासभाका अनिश जिमी राईले प्रेमिका युनिशा राईलाई चक्कु प्रहार गरी हत्या गरे। काठमाडौंको बौद्धमा बस्दै आएका उनीहरु पब्जी खेलिरहेका बेला झगडा भएको र हत्या गरी आत्महत्या गरेको खुल्न आएको थियो। त्यस्तै झापा दमकका दिनेश सिग्देल कान्छी श्रीमती अनिता केसी र उनका प्रेमी सरोज भण्डारीको योजनामा मारिए। निकै क्रूर तरिकाले दिनेशको हत्या गरी अनिताले शवलाई टुक्रा पारेर भेडेटार सडक खण्डमा फालेका थिए। बहराइनबाट आएको अर्को दिन नै मारिएका दिनेशले लगाएको मास्कको आधारमा हत्यारा पत्ता लागेको थियो। २०७८ सालमा आफन्तबाट हुने अपराधमा पनि उल्लेख्य मात्रामा वृद्धि भएको देखिन्छ।
नेपाली सेनाका भरत गुरुङको हत्या उनकै सहकर्मी गंगाधर ढकालले गरेको घटना पनि चर्चित रह्यो। गंगाधरको प्रक्राउसँगै सेनाको हतियार चोरीको आरोपमा कारागारमा रहेका लवकुमार गुरुङ र सरोज तामाङको मुद्दा पनि उल्टियो। चितवनको सुजिता भण्डारी आत्महत्या केश, पोखराको नुभिव उप्रेती हत्या, काठमाडौंको रामकोटमा सुर्वणमान प्रधानको परिवारले सामूहिकरुपमा विष सेवन गरी आत्महत्या प्रयास गरेको घटना पनि गत वर्षको चर्चित घटना हो।
सांसद मोहन बानिया र अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको उजुरी परेको घटनाले पनि राम्रैसँग स्थान पायो। कैलालीको अर्जुन दास प्रकरण, सर्लाहीका ८ वर्षीय बालक आकाश ठाकुरको अपहरण गरी हत्या, उदयपुरकी १० कक्षामा पढ्ने छात्रा कविता सुनुवारको आफ्नै साथीले गरेको हत्या, उपचारका लागि माता कहाँ पुर्याइएकी १४ वर्षीया बालिका रोशनी श्रेष्ठको हत्या तथा मोरङकी डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या घटना पनि गत वर्षको मुख्य अपराध हुन्।
पछिल्लो समय अपराधका विविध आयामहरु देखिँदै आएकाले समाज अपराधको असरबाट अछुतो हुन नसकेको प्रहरीको बुझाइ छ।