पोखराको मेयर उम्मेदवार छान्न एमालेभित्र चुनाव हुँदै

पोखराको मेयर उम्मेदवार छान्न एमालेभित्र चुनाव हुँदै

पोखरा : पोखरा महानगरपालिकाको मेयर तथा उपमेयर छान्न नेपाल कम्युनिस्ट पार्टी (एमाले) पोखरा महानगर कमिटीले शुक्रबार पार्टीभित्रै निर्वाचन गर्ने भएको छ। अघिल्लो पालि पनि कार्यकर्ताहरुको मतका आधारमा एमालेले पोखराको मेयरमा मानबहादुर जिसीलाई चयन गरेको थियो।

एमाले पोखरा महानगर कमिटीका अध्यक्ष दिलीप न्यौपानेका अनुसार मेयरका आकांक्षी कार्यकर्ताहरुको मतका आधार छनोट गर्न शुक्रबार निर्वाचन गर्ने गरी कार्यतालिका बनाइएको छ। सहमतिको प्रयास पनि जारी रहेको उनले जनाए।  

अध्यक्ष न्यौपानेले बिहीबार साँझ निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै शुक्रबार जिल्ला पार्टी कार्यालयमा मतदान गर्ने बताए। पोखराको मेयरमा एमालेबाट १२ र उपमेयरमा ११ जनाले आकांक्षा देखाएका छन्। पोखरा महानगर कमिटी १ सय १० सदस्यीय छ। कमिटीका सदस्यले मतदान गर्ने छन्।

मेयर र उपमेयरको नाम सिफारिस गर्ने प्रयोजनका लागि गठित निर्वाचन कमिटीले पार्टीको विधान तथा निर्वाचन नियमावली (संशोधन सहित)२०६९को अधिनमा रहेर निर्वाचन गर्न लागेको अध्यक्ष न्यौपानेले जानकारी दिए। 

मेयरका लागि केन्द्रीय सदस्यहरु मीनाकुमारी गुरुङ, भीम कार्की, कृष्णबहादुर थापा, राजीव पहारी र प्रदेश उपसचिव रश्मि आचार्य, प्राडा विश्वकल्याण पराजुली, पोखरा १३ का वडाध्यक्ष दर्शन लामा, नेताहरु पुष्पज्योति दुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउछा मगर र सावित्री भण्डारी आकांक्षी छन्। तर शुक्रबार यीमध्ये कतिपयले उम्मेदवारी नदिन पनि सक्छन्। नयाँ आकांक्षी पनि देखा पर्नसक्ने पार्टी स्रोत बताउँछ।

 महानगर उपमेयरमा पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेल, वामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, देवका पहारी, जीवनप्रसाद आचार्य, बैनबहादुर अधिकारी क्षेत्री, हरिमाया गुरुङ, बलराम गायक र सुष्मा पौडेल आकांक्षी हुन्।

एमालेले कास्कीको रुपमा गाउँपालिकामा भने बहालवाल अध्यक्ष नवराज ओझा र उपाध्यक्ष लालसुबा गुरुङलाई दोहोर्‍याउने निर्णय पालिका कमिटीबाट गरेको छ। उम्मेदवार बन्ने भएपछि अध्यक्ष ओझाले पालिकाको गाडी सुविधा त्यागिसकेका छन्। कास्कीको अर्का गाउँपालिका मादी गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्ष छान्न लागि शुक्रबार छलफल हुँदैछ।

मादीमा अध्यक्षका लागि विष्णुमाया पौडेल आचार्य, बालकृष्ण गुरुङ, बुद्धिसागर सापकोटा, शिव गुरुङ (महेन्द्र), पसबहादुर बास्तोला (श्याम) जसबहादुर गुरुङ, सुदिप सापकोटाको दाबी छ। उपाध्यक्षका लागि निर्मला सुवेदी, प्रतीक्षा पौडेल, राजु अधिकारी, सिर्जना अर्याल र कल्पना गुरुङले इच्छा देखाएका छन्।

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पनि एमालेले उम्मेदवार तय गरिसकेको छैन। अर्को गाउँपालिका अन्नपूर्णमा भने सहमतिको नजिक पुगेको पार्टी स्रोत बताउँछ।

एमाले केन्द्रीय सचिव पद्मा अर्याल, स्थायी समितिका सदस्य खगराज अधिकारी र पोलिटब्युरो सदस्य जगतबहादुर विश्वकर्माले उम्मेदवार निर्धारणका लागि सहजीकरणको प्रयास गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.