पोखरा महानगरपालिकाको मेयर उम्मेदवार छान्न एमालेभित्र आज मतदान हुँदै
पोखरा : सहमति जुट्नन नसकेपछि पोखरा महानगरपालिकाको मेयर तथा उपमेयर छान्न नेपाल कम्युनिस्ट पार्टी (एमाले) पोखरा महानगर कमिटीले शुक्रबार पार्टीभित्रै निर्वाचन गर्दैछ। एमाले पोखरा महानगर कमिटीका अध्यक्ष दिलीप न्यौपानेका अनुसार मेयरका आकांक्षी कार्यकर्ताहरुको मतका आधार छनोट गर्न शुक्रबार निर्वाचन हुन लागेको हो।
अघिल्लो पालि पनि कार्यकर्ताहरुको मतका आधारमा एमालेले पोखराको मेयरमा मानबहादुर जिसीलाई चयन गरेको थियो। पोखराको मेयरमा एमालेबाट १२ र उपमेयरमा ११ जनाले आकांक्षा देखाएका छन्। पोखरा महानगर कमिटी १ सय १० सदस्यीय छ। कमिटीका सदस्यले मतदान गर्नेछन्।
मेयर र उपमेयरको नाम सिफारिस गर्ने प्रयोजनका लागि गठित निर्वाचन कमिटीले पार्टीको विधान तथा निर्वाचन नियमावली (संशोधन सहित) २०६९को अधिनमा रहेर निर्वाचन गर्न लागेको अध्यक्ष न्यौपानेले जानकारी दिए। मेयरका लागि केन्द्रीय सदस्यहरु मीनाकुमारी गुरुङ, भीम कार्की, कृष्णबहादुर थापा, राजीव पहारी र प्रदेश उपसचिव रश्मि आचार्य, प्राडा विश्वकल्याण पराजुली, पोखरा १३ का वडाध्यक्ष दर्शन लामा, नेताहरु पुष्पज्योति दुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउछा मगर र सावित्री भण्डारी आकांक्षी छन्।
महानगर उपमेयरमा पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेल, वामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, देवका पहारी, जीवनप्रसाद आचार्य, बैनबहादुर अधिकारी क्षेत्री, हरिमाया गुरुङ, बलराम गायक र सुष्मा पौडेल आकांक्षी हुन्।