अभियुक्तको बयान : लागुऔषधको नशा चढ्दै गएपछि हत्या गर्यौं
काठमाडौं : गत पुसको ३ गते कैलाली जानकी-९ अमरावती जंगलमा २५ वर्षीय अर्जुन दासको विभत्स अवस्थामा शव भेटियो। रुखमा बाँधिएका दासको टाउको छिनाली अत्यन्तै क्रूर तरिकाले हत्या भएको थियो। हत्या आरोपीहरु फरार थिए।
महानगरीय अपराध महाशाखाको टोलीले रुपन्देहीको बेलहिया नाकाबाटा बिहीबार राति घटनाका मुख्य योजनाकारसहित ४ जनालाई प्रक्राउ गरेको छ। मिनभवनस्थित अपराध महाशाखा परिसरमा प्रहरीले आरोपी ४ जनालाई सार्वजनिक गरेको छ।
अर्जुन दासको हत्यामा जानकी-९ कैलालीका १९ वर्षीय सुमित साउद, सोही ठाउँका बम बहादुर बोहोरा, रोनी परियार भन्ने दिलीप दास र मनोज भण्डारीको संग्लनता देखिएको छ। प्रारम्भिक अनुसन्धान क्रममा उनीहरुले हत्या आरोप स्वीकार गरेको प्रहरीले जनाएको छ।
अनुसन्धानका लागि उनीहरुलाई शुक्रबार नै कैलाली पठाइएको छ। अपराध महाशाखाका प्रवक्ता कृष्ण कोइरालाका अनुसार हत्यालगत्तै भारत पसेका उनीहरु विभिन्न सहरमा लुकेर बसेका थिए। उनीहरु कहिले मुम्बईमा गई होटलमा भाँडा माझ्ने काम गर्थे भने कहिले मजदुरीको काम गरी पेट पाल्थे।
भारतका विभिन्न सहरमा उनीहरु भौँतारिरहेका थिए। लागुऔषध किन्न पैसा जुट्नासाथ सेवन गर्थे र सामाजिक सञ्जालमा विभिन्न भिडियो पोष्ट गर्थे। पीडितका परिवारलगायत प्रहरीसमेतलाई धम्काउँदै उनीहरुले म्यासेज गरेको पाइएको छ।
विभत्स हत्याको कारण मोबाइल चोरी
जानकी-९ कैलालीका कमल साउदको मोबाइल हराएपछि एउटै समूहमा बसेर लागुऔषध सेवन गर्ने उनीहरुबीच झगडा सुरु भएको थियो। अपराध महाशाखाका प्रमुख एसएसपी बसन्त कुँवरका अनुसार ४ महिनाअघि कैलालीमा भएको विभत्स हत्याको आरोपी प्रक्राउ नपरेको खबर बाहिर आइरहेको थियो। रुखमा बाँधेर टाउको छिनाल्नु सानो अपराध थिएन। यस्तो समूहले अन्य अपराध घटाउनसक्ने प्रबल सम्भावना थियो। त्यसैले पनि अपराध महाशाखाले आरोपी प्रक्राउ गर्न टोली नै खटाएको थियो।
विशेष सहयोगी र स्रोतको सहयोगमा हत्यारा प्रक्राउ गर्न सफल भएको एसएसपी कुँवरले जानकारी दिए। हत्यामा संग्लन ५ जना अझै फरार छन्।
अनुसन्धानलाई नेतृत्व गरेका प्रवक्ता कृष्ण कोइरालाका अनुसार लागुऔषध सेवनका क्रममा घटना घटेको हो। लागुऔषध 'नाइट्राभेट'को अत्यधिक डोज सेवन गरेर १० जनाको समूहले अर्जुन दासको हत्या गरेको थियो।
प्रहरीका अनुसार हत्यामा संग्लन अन्यको खोजी भइरहेको छ। कमल साउद, अर्जुन दास, मनोज भण्डारी, बमबहादुर बोहोरा, सुमित साउद, दिलीप दास, विवेक सिंह, शुसिल मयाल, बादल विकलगायतको समूह निरन्तर लागुऔषध सेवन गर्ने गर्थे।
लागुऔषध सेवनका लागि नजिकैको अमरावती जंगलमा पुग्ने गरेको प्रहरीको भनाइ छ। कमल साउद 'नाइट्राभेट' नामक लागुऔषधको अवैधरुपमा बेचबिखन गरेको खुलेको छ। अर्जुन उनकै घरमा काम गर्थे।
कसरी भयो हत्या?
घटनाको केही दिनअघि कमल साउदको मोबाइल घरबाटै हरायो। उनै कमल साउद अहिले जबरजस्ती करणीको अभियोगमा पुर्पक्षका लागि थुनामा छन्। प्रहरीका अनुसार घटनाको केही दिनअघि कमल र सुमितसँगै बसेका थिए। सोही क्रममा कमल साउदको मोबाइल हरायो। चोरीको शंकामा उनले सुमित साउदलाई कुटपिट गरे। तर मोबाइल चोरी भने अर्जुन दासले गरेका थिए।
कमलको घरमा काम गर्नजाने क्रममा अर्जुन दासले मोबाइल चोरेर छिमेकी हर्के भाटलाई राख्न दिएका थिए। अर्जुनले मोबाइल चोरेको थाहा पाएपछि सुमितले कुटपिट गर्ने योजना बनाए। योजनाअनुसार आफ्ना साथीहरुलाई पनि भेला गरेर जंगलमा बोलाए। जहाँ लागुऔषध खानका लागि अर्जुन दास पनि पुगेका थिए।
उनीहरुले अर्जुन दासलाई कुटपिट गरी यातना दिए। रुखमा बाँधिदिए। त्यही बसेर लागुऔषध खान थाले। लागुऔषधको नशा चढ्दै गएपछि रुखमा बाँधेका अर्जुनको हत्या गर्ने योजना बनाए। सँगै गएका सुशील मयालले खुकुरी उपलब्ध गराएका थिए। साजको रुखमा बाँधिएका अर्जुनलाई लागुऔषधको नशामा सुमित, मनोज, दिलीप र बमबहादुर मिलेर हत्या गरेका थिए। हत्या गरेपछि पनि उनीहरु रातभर जंगलमै बसेका थिए।
अपराध महाशाखाका प्रमुख कुँवरका अनुसार लागुऔषध दुर्व्यसनी बढ्दै जाँदा समाजमा यस्ता क्रूर अपराध बढ्दै गएको छ। आवेग र रिसको झोकमा मानिस मार्नेसम्मको हर्कत देखिन थालेको छ। लागुऔषध दुर्व्यसनी रोक्नका लागि समाजमा शिक्षा र चेतना फैलाउन आवश्यक भएको बताउँदै उनले घरपरिवारले आफ्ना सन्तान के गर्देछन्? निकै विचार गर्नुपर्ने बताए।