जनवितृष्णा
सत्तामा पुगेपछि नेताहरु राजनीतिक दर्शन, सिद्धान्त र जनताभन्दा पैसा र शक्ति आर्जनमा मात्र लिप्त भए । त्यही कारण, राजनीतिप्रति जनवितृष्णा बढ्दै गएको छ।
राजनीति गर्न पैसा, पावर र पहुँच चाहिन्छ,’ राजनीतिप्रति आम बुझाइ हो। त्याग, तपस्या, इमानदारिता, नैतिकता छायाँमा पर्दै जाँदा राजनीतिप्रति वितृष्णा बढ्दो छ। सत्तामा पुगेपछि राजनीतिक दर्शन, सिद्धान्त र जनताभन्दा पैसा र शक्ति आर्जनमा मात्र नेताहरू लिप्त हुँदा राजनीतिप्रति नयाँ पुस्ताको आकर्षणसमेत घटदै गएको छ। राज्य सत्ता फालेर ल्याएको संघीय गणतान्त्रिक व्यवस्थाले राज्यको पुनर्संरचना गर्दै तीन तहको सरकार गठन भयो। तर, प्रशासकीय र राजनीतिक चरित्र पुरानै छ। त्यसैले राजनीतिप्रति जनताको गुणासो बढ्दो रहेको राजनीतिक विश्लेषक डा. सुरेन्द्र लाभ बताउँछन्।
‘नागरिकले परिवर्तनको खोजी सेवा प्रवाहबाट लिन खोज्छन्,’ डा.लाभले भने,‘ नयाँ व्यवस्थाले गाउँटोलमा नेता जन्मायो। तर, एउटा रिक्सा चालकले मेरो जीवनमा गणतन्त्रले के प्रभाव पर्यो भनेर खोज्छ तर, उसले आफ्नो जीवन उस्तै दुःखमा देख्छ। जुन गतिमा परिवर्तन आयो त्यो गतिमा जनताले त्यसको प्रतिफल पाउन सकेका छैनन्।’
‘दलहरू संघीयताका लागि लडे। तर, सिस्टम चलाउन र डेलिभरी गर्न सकेनन्,’ लेखक चन्द्रकिशोर भन्छन्, ‘त्यसैले लोकतन्त्र ‘दलतन्त्र’ बन्यो। दलतन्त्र ‘नेतातन्त्र’को पर्दामा देखियो।’ राजनीतिक दल नेताहरूको कम्पनी बनेको उनी बताउँछन्।
‘आवश्यकता नै आविष्कारको जननी हो। युवा पुस्ता राजनीतिमा आउन चाहन्छन्, आउनु पर्छ’, उनी भन्छन्, ‘युवा शक्ति कालो बादल वरिपरि चाँदीको घेरा हुन्।’ आफ्नो पेसामा सफल भएका युवाहरू राजनीतिको मूलधारमा आउन जरुरी रहेको उनी बताउँछन्।
पुरानो नेतृत्व पुस्ता अझै पनि राजनीतिमा सक्रिय छ। युवा पुस्तालाई आफ्नो विज्ञता र अनुभव हस्तान्तरण गर्न चाहँदैन। गुटगत, व्यक्तिगत स्वार्थ, पद र शक्तिका पछाडि अझै पनि पुरानै नेतृत्व दौडधुपमा छ।
अहिले राजनीतिप्रति नागरिकमा वितृष्णा मात्रै छ। बेलैमा समाधान नगर्ने हो भने यसले अराजकताको रूप लिने खतरा छ।
राजनीतिमा भ्रष्टीकरण देखा परेको छ। चन्द्रकिशोर थप्छन्, ‘त्यसले सामाजिक मनोविज्ञानमा नकारात्मक असर परेको छ।’ नेताले गलत व्यक्तिलाई संरक्षण दिँदा समाजमा राजनीतिप्रति वितृष्णा बढिरहेको उनी बताउँछन्।
एजेन्डाविहीन राजनीतिक दल र उनको पुरातन शैलीले राजनीतिबाट नयाँ पुस्ता टाढै बस्न चाहन्छ। न नयाँ पुस्तालाई नेतृत्वका लागि पत्याउँछन्, न त उसको क्षमतालाई स्वीकार गर्छन्। नेताहरू गुटमा रमाउँछन्, फुटमा स्वार्थ पूरा गर्छन्। यसले राजनीतिलाई सेवाभन्दा व्यापार बनाएको छ। यस्ता पात्र र प्रवृत्ति पछिल्लो समय राजनीतिमा हाबी भएको वुद्धिजीवीको बुझाइ छ।
राजनीतिमा भ्रष्टीकरण पनि भाइरस
नेता जन्माउने पार्टीका भ्रातृ संगठनहरू थला परेका छन्। नेता उत्पादन गर्ने पार्टीका नर्सरीमा गोडमेल, हेरचाह भएको छैन। अझै पनि नेतृत्वको होडबाजीमा राजनीतिक दलभित्र गुट, उपगुट छ। यसले युवा पुस्ताको समूहलाई पनि विभक्त बनाएको छ।
देशमा लोकतन्त्र आएको डेढ दशक भयो। २०६२–०६३ को जनआन्दोलनले राजतन्त्र ढाल्यो। राजनीतिक परिवर्तनको छोटै समयमा राजनीतिक दल र राजनीतिप्रति जनतामा वितृष्णा छ। यहाँ व्यक्ति बन्यो। नेता बन्यो। पार्टी बन्यो तर, देश बनेनन्। यसैले राजनीति फोहोरी खेल भएको नागरिकको बुझाइ छ।
नेताहरूले युवा पुस्ताका लागि रोजगारी तथा उत्पादनका स्पष्ट कार्यक्रम ल्याउन नसक्दा राजनीतिप्रति युवा पुस्ताको वितृष्णा बढेको युवा नेता शंकर महतो बताउँछन्।
पहिला राजतन्त्रविरुद्धको एजेन्डाले नेताहरू जन्मिए। त्यसले राजनीतिक परिवर्तन आयो। त्यसका उपलब्धिलाई संस्थागत गर्नु नयाँ नेतृत्वको जरुरी रहेको बागमती प्रदेशका प्रशासन समूहका अधिकृत विमलप्रसाद भट्टराई बताउँछन्।
‘नागरिकलाई राजनीतिप्रति विश्वास लाग्न छोड्यो। सबै पुराना नेताहरूलाई जनताले टेस्ट गरिसकेका छन्। नयाँ नेताहरूको खोजीमा नागरिक छन्’, उनी भन्छन्, ‘पार्टीहरूसँग आकर्षण गर्ने एजेन्डा नभएर पनि युवा पुस्ता राजनीतिबाट टाढा छन्।’
विकास र समृद्धिको स्पष्ट खाका छैन। युवा पुस्ता वैदेशिक रोगजारीमा छन्। त्यसैले पनि राजनीतिका युवाहरूको उपस्थित कमजोर भएको अधिकृत भट्टराई बताउँछन्।
दलका नेताहरूलाई रिझाए केही युवाहरू पदमा जाने प्रवृत्तिले आम युवा दुःखी बन्ने अवस्था आएको एमालेका युवा नेता नीरज आचार्य बताउँछन्। ‘पार्टीमा युवा नेताहरू आफ्नै विचार, दृष्टिकोण, सिद्धान्त, अभियान, पहलकदमीले नेतृत्वमा पुग्न सकेका छैन। उनीहरू दलका नेताहरूलाई रिझाएर पद पाएका छन्। जुन युवा पुस्ताका लागि घातक हो’, उनी भन्छन्, ‘पार्टी संगठनमा हस्तक्षेप र दबाब दिन काम गर्नुपर्छ। तर, त्यो अझै पनि पार्टी संगठनका युवा मोर्चामा छैन।’
उनका अनुसार राज्य सत्ता सञ्चालनमा युवाहरूको उपस्थित निकै कम रहेकोले पनि युवाहरूको विकास सोचेको जस्तो हुन सकेको छैन। आफ्नो क्षमता देखाएर पार्टीको नेतृत्वमा युवाहरू पुग्नुपर्छ। युवाहरू राजनीतिबाट टाढियो भने राजनीति नै बिरूप हुन्छ। त्यसैले राजनीतिका बन्द ढोकाहरू आफ्नै पहलमा खोल्नुपर्ने उनी बताउँछन्।
२०६२–०६३ को जनआन्दोलनपछि नयाँ व्यवस्था आयो। तर, जनताको अवस्था सोचेको जस्तो हुन सकेन। त्यसकारण पनि जनतामा पार्टी र नेताप्रति वितृष्णा बढेको नेता अचार्यको बुझाइ छ।
अभावले युवा पुस्ताहरू मूलधारको राजनीतिभन्दा टाढा रहन बाध्य हरेको डा. लाभ बताउँछन्। ‘गरिबीले युवा पुस्ताहरू वैदेशिक रोगजारीमा छन्। पढेकाहरू पनि उतै छन्।’ हाम्रो शक्ति र बुद्धिलाई देशमै फर्काउनुपर्ने उनको भनाइ छ। युवा पुस्तालाई नेताहरूले राजनीतिमा आशा देखाउन पछि परे। आसन्न स्थानीय तहको निर्वाचनले युवा पुस्तामा थोरै भए पनि विभिन्न पदमा दाबेदारी बढेको राजनीतिक विश्लेषक डा. लाभ बताउँछन्।
राजनीति भद्रगोल हुँदा देश अँध्यारोतिरको यात्रा देख्दा चिन्ता लागेको बताउँछन् वरिष्ठ हास्यकलाकार मनोज गजुरेल। ‘नेपाली जनता साना उपलब्धिमा धेरै खुसी हुन्छौं। ठीक त्यसको उल्टो नेतृत्वले थोरै गल्ती गर्दा सानो चित्त दुखिहाल्छ’, उनी भन्छन्, ‘नागरिकको सानो सपना पूरा गराउने नेताहरूले ठूलो आश्वासन दिन्छ। हो नि त भनेर जनता आशावादी भन्दै भोट दिएर जिताउँछन्। तर नेताहरूले भनेका ती सपना पूरा गर्नतिर लाग्दैन। बरु सत्तामा कसरी टिकिरहने ? आफ्ना पार्टीका मान्छेहरूलाई कसरी सरकारी नियुक्ति दिलाउने दाउमा लाग्दा नागरिकहरूलाई आक्रोशित बनाउने गरेको छ।’
कलाकार गजुरेलका अनुसार मतदाताको सरल स्वभावलाई राजनीतिक दलले सत्तामा जाने भर्याङ बनाएका छन्। ‘अहिले नागरिकमा राजनीतिप्रति वितृष्णा मात्रै छ। यो बेलैमा समाधान नगरिने हो भने यसले अराजकताको रूप लिने खतरा छ’, गजुरेल भन्छन्।
नेपाली जनताको कुनै ठूलो सपना पनि नभएको गजुरेल बताउँछन्। ‘छोराछोरीलाई पढाउन पाइयोस्। बिरामी हुँदा सित्तैमा उपचार होस्। आँगनमा धारो होस्, घरमा बिजुली बत्तीको झलमल हो। देशमै रोजगारी होस्, यस्ता सानासाना सपनामा नेताहरूले ठूला कुरा गरेर झुक्याइरहेका छन्, गजुरेल भन्छन्। भारत र चीनले नेपाललाई खेलमैदान बनाएको बताउँदै उनले थपे, ‘नेताहरूले देशलाई प्रयोगशाला बनायो। रिजल्ट दिन नसक्ने पार्टी र नेताहरूको विकल्पमा जनताहरू छन्।’
उनका अनुसार सबैले राजनीति नै गर्नुपर्ने छैन। पाटीमा लाग्ने पर्ने, दलको झन्डा बोक्नु पर्ने होइन। जो जहाँ छौं त्यही क्षेत्रमा राजनीति गरौं। त्यही क्षेत्रको विकासमा लागे देश अघि बढ्छ।