चन्द्रप्रभावतीको शालिक अनावरण
सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-७ खांचिकोटको डिहिडाँडामा चन्द्रप्रभावती शाहको शालिक अनावरण गरिएको छ। डिहिडाँडाको चन्द्रप्रभा माध्यमिक विद्यालयको नजिकैको चौपारीमा निर्माण गरिएको उक्त शालिक शनिबार एक समारोहकाबीच सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले अनावरण गरेका हुन्।
चन्द्रप्रभावती तत्कालिन बाइसे चौबिसे राज्य अन्तरगत चौबिसे राज्य समुहको खाँची राज्यका तेर्हौ राजा दलजित शाह र रानी सुभद्रावतीकी छोरी हुन्। पृथ्वीनारायण शाहलाई नेपालको एकिकरण गर्न, राज दरवार सञ्चालन गर्न तथा युद्ध कौशलता सिकाउने उनै चन्द्रप्रभावतीको हात रहेको इतिहासमा उल्लेख छ।
उनको जन्म विस १७५९ मा खाँचीमा भएको थियो । उनको विवाह तत्कालिन गोरखा राज्यका राजा नरभुपाल शाहसंग भएको थियो। गोरखाका राजा नरभुपाल शाह जन्ती लिएर खाँचीमा आउर उनलाई बिवाह गरेर गोरखा दरवारमा भित्र्याएको स्थानीय बुद्धिजीवी गणेश बहादुर सिंहले बताए।
चन्द्रप्रभावतीबाट सन्तान नभएपछि नरभुपाल शाहले अर्कि श्रीमति पाल्पाबाट बिवाह गरेर लगेका थिए। तिनै पाल्पाली राजकुमारी कौशल्यावतीबाट नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्म भएको थियो। तर पृथ्वीनारायण शाहको जन्मैदेखि स्याहार सुसार र संरक्षण यिनै चन्द्रप्रभावतिले गरेको इतिहासकारहरु बताउछन्।
खाँचीकोट क्षेत्रकै ईतिहास बोल्ने शालिकको अनावरण समारोहमा बोल्दै मेयर भुसालले हामी र हाम्रो पुस्ताले इतिहासको संरक्षण गरे मात्र आउदो पुस्ताले हामिलाइ चिन्ने बताउदै ईतिहास बचाउनु भनेको हामिले आफ्नो परिचय जोगाउनु भएको उल्लेख गरे। उनले यस क्षेत्रको विकास र समृद्धिमा सन्धिखर्क नगरपालिका सधैं साथी बन्ने गरेको बताए।
सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिकले इतिहासको संरक्षण र प्रवर्द्धन गर्नमा सबै सधै लागिपर्नुपर्ने र आफूपनि सधैं ईतिहास र संस्कृतीको रक्षा गर्न लागीपरेको उल्लेख गरे। उनले खाँची राज्यमा बृहत किसिमको संग्राहलय स्थापना गर्न खोजिएको र जसका लागि नगरपालिकाबाट आवश्यक पहल भैरहेको बताए।
खाँचीकोटको ईतिहास जगेर्ना गर्ने उदेश्यले निर्माण गरिएको उक्त शालिकको निर्माणका लागि सन्धिखर्क नगरपालिकाको ३ लाख, वार्ड न ७ को कार्यालयबाट बिनियोजित फाउन्डेशन निर्माणको लागि १ लाख खर्च भएको बताइएको छ।