‘मधेसवादी दलले मधेसका जनतालाई भ्रममा पारे’
नुवाकोट/ मलंगवा : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू र आफ्नो दलविरुद्ध पूर्वराजावादीहरू समेत लागेको बताएका छन्। एमालेप्रतिको जनलहर देखेर उनीहरू आफू र आफ्नो दलविरुद्ध अनेक आरोप तथा षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।
नुवाकोटको मुख्य बट्टार बजारमा आयोजित बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई शुक्रबार अपरान्ह सम्बोधन गर्दै ओलीले उनले भने, ‘एमालेप्रति जनताको साथ देखेर अत्तालिएकाहरूले मेरै जिल्ला र नगरपालिकामा पूर्वराजावादीहरूसँग समेत प्रतिस्पर्धा गर्न नसक्ने भनेर अर्को षड्यन्त्र बुनिरहेको छ।’ उनले एमालेलाई जुनसुकै वादीहरू मिलेर आए पनि पराजित गर्न नसक्ने बताए। जनताले सांसद चुनेर संसद्बाटै प्रधानमन्त्री चुन्नुपर्नेमा सर्वोच्च अदालतबाट बनेको गठबन्धनको सरकारले देशमा जनताको पक्षमा केही गर्न नसकेको र एमालेप्रति जनताले गरेको माया देखेर अत्तालिएकोे बताए। एमालेलाई घेराबन्दी गर्ने नाममा पाँच दलले बनाएको गठबन्धन मकैको ढोठको लौरो भएको संज्ञा दिए।
एमालले गरेको विकासप्रति लज्जित भएकाले अनेक जालझेल गरेर प्रतिपक्षमा पु¥याइएको पनि अध्यक्ष ओलीले बताएका छन्। उनले देशमा जनताको पक्षमा एमालेले विकासको लहर ल्याएको र जनताको साथ पाएको बताए। अध्यक्ष ओलीले एमाले एक क्षणका लागि प्रतिपक्षमा भए पनि अब सबै चुनावपछि फेरि सत्तामा जाने बताए। उनले भने, ‘अहिले एमाले केही क्षणका लागि प्रतिपक्षमा छ। अब एमाले प्रतिपक्षमा बस्ने जमाना होइन।’ एमालेले जनताको आकांक्षा बुझेको दाबी गर्दै समृद्धिका लागि आफ्नो पार्टी अग्रसर रहेको ओलीको भनाइ छ। उनले एमालेले जनताको चाहना बुझेका र त्यसैले समृद्धिका लागि अग्रसर भएर अघि बढेको जिकीर गरे।
स्थानीय तहको निर्वाचनमा के गर्नुपर्छ भनेर जनता जानकार रहेको उनको भनाइ छ। ‘अहिले के गर्नुपर्छ जनतालाई थाहै छ। आजकल भोट के मा ? भनेर जनतालाई सोध्दा आकाशतिर पो औंला लाउँछन्,’ सूर्यतिर औंला देखाउँदै उनले भने। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको एक महिनामा नुवाकोट एमालेको किल्ला हुने बताए।
‘मधेसवादी दल मधेसका नक्कली मुक्ति दाता हो’
त्यसैगरी, सर्लाहीको मलंगवामा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रम सम्बोधन गर्दै ओलीले मधेसवादी दल मधेसका नक्कली मुक्ति दाता रहेको बताए। मधेसवादी दल मधेसी जनतालाई भ्रममा पारेर, विकासलाई अवरोध गरेर, अशान्ति फैलाएर, मधेशी जनतालाई भ्रममा राखेर मधेसको मसिहा बनेको आरोप उनको छ। उनले भने, ‘मधेसी जनताले भोगिरहेका समस्यालाई समाधान नगरी मधेसका मसिहा भन्नेहरू नक्कली मुक्तिदाता हुन्।’
मधेसवादीहरू एकातिर एमालेविरुद्धको प्रचार गरिरहेको र अर्कोतिर एमाले मधेसको विकासतिर तल्लिन थियो। ‘विरोधका बाबजुद पनि मेरो नेतृत्वको सरकार बनेपछि २०७२ सालमा २० वर्षदेखि बन्न नसकेको हुलाकी सडक बनाउने निर्णय गरेँ,’ उनले भने, ‘१० अर्ब रुपैयाँ हुलाकी सडकका लागि छुट्ट्याएको सबैलाई जानकारी गराउन चाहन्छौं। जनताको समस्या सामाधान गर्ने र विकास गर्ने पार्टी एमाले हो।’ मधेस होस् या पहाड, हिमाल वा तराई, पूर्व होस् या पश्चिम देशभरिका ज्येष्ठ नागरिकहरूलाई भत्ता दिने काम एमालेले नै गरेको उनले बताए।
एमाले मधेसको जनताका लागि काम गर्ने पार्टी हो। मधेशी जनताको नागरिकताको समस्या सामाधान गर्ने काम पनि एमालेले नै गरेको ओलीले दाबी गरे। ‘संसद् अवरोध गर्दा पनि अध्यादेश ल्याएर भए पनि मधेसी जनताले भोगिरहेका नागरिकताको समस्या सामाधान गर्न खोज्यो। अहिलेको गठबन्धनका सरकार र गठबन्धनमा रहेका मधेसका मसिहाहरू अध्यादेश कहाँ गयो भनेर बोल्न सकेको छैनन्।’
उनले थपे, ‘म प्रधानमन्त्री भएपछि मेरै नेतृत्वमा जनकपुरमा रेलको लिक बन्यो। रेल किन्ने पार्टी पनि एमाले नै हो।’ त्यस्तै, तराईको सहरहरूमा ढल व्यवस्थापन, हुलाकी राजमार्ग भएर १० वटा स्मार्ट सहर बनाउने भनेर भनेको समेत बताए। उनले ‘आफ्नो गाउँ आफैं बनाउँ’, ‘खानेपानी अभियान’ लगायत अभियान चलाएको बताए।
कार्यक्रममा जसपाबाट विजयी भएका कविलासी नगरपालिकाका मेयर कौशल किशोर रायसहित विभिन्न पार्टीबाट आएका व्यक्तिहरू पार्टी प्रवेश गरेका थिए।