बझाङमा एमालेबाट मेयरका लागि जयपृथ्वीबाट ३ र बुंगल नगरपालिकाबाट ४ जनाको नाम सिफारिस
बझाङ : नेकपा एमालेले बझाङको जयपृथ्वी नगरपालिकाको मेयरका लागि तीनजनाको नाम सिफारिस गरेको छ। एमाले नगर कमिटीले वर्तमान उपप्रमुख जुना जाग्री, जयपृथ्वी नगरपालिका ७ का वडाअध्यक्ष हरिचन्द्र जोशी, २०७४ सालमा मेयरका दावेदार तथा आकांक्षी, हाल नेकपा एमाले जिल्ला कमिटी सह–सहसचिव सुरतबहादुर सिंहको नाम प्रदेश कार्यसमितिमा सिफारिस भएको हो ।
उपप्रमुखमा गंगा राना महर, जमुना चन्द सिंह, सुनिता खड्का धामी, सरिता भण्डारी, सविता खड्का विष्ट, डबल खड्का आकांक्षी देखिएका छन् । शनिबारदेखि ६ जनालाई राखेर मिलाउने प्रयास भइरहेको एमालेका नेताले बताएका छन् । 'अहिलेसम्म जयपृथ्वी नगरपालिकामा गठबन्धन दलको बैठकसमेत बसेको छैन, नगरसभापति हिरेन्द्र छत्यालले भने, 'वडास्तरमा पनि उम्मेदवार तय गर्ने कार्य जारी छ ।' २०७४ सालको चुनावमा एमालेले यो पालिकामा ८० मत बढी ल्याएर प्रमुख जितेको थियो ।
त्यतिबेला ११ वडा रहेको जयपृथ्वीमा एमालेले एक्लैले ५ वडा जितेको थियो । गठबन्धन हुँदा यहाँ नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले ३–३ वडा मागेको छ भने कांग्रेसले आफूले २०७४ सालमा जितेका साविककै वडासहित थप २ वडा आफूले पाउनुपर्ने माग गरेको छ । यस्तै, बुङगल नगरपालिकामा धनदेवी कुँवर, आरविक्रम ओखेडा, लोकेश सिंह र मंगल नाथ मेयरका लागि सिफारिस भएका छन् ।
उपप्रमुखमा बेलमती कुँवर र मनीता धामी सिफारिस भएका छन् । नगरपालिकामा रहेका ११ वडा मध्ये ४ वडामा सर्वसम्मतले वडाध्यक्ष चयन भएका छन् । वडा नं ५ मा वडाध्यक्ष प्रयागराज धामी दोहोरिने भएका छन् । यस्तै वडा नं ७ मा केशवराज जोशी, ८ मा वीरबहादुर बोहरा, र ११ मा नगरकमिटी अध्यक्ष मोहन कुमार बोहरा सर्वसम्मतले चयन भएका छन् ।