सहमतिपछि अवरुद्ध वीपी राजमार्ग खुल्यो, बालकको शव आफन्तले बुझे
सिन्धुली : आइतबार बिहानैदेखि अवरुद्ध बनेपा–सिन्धुली–बर्दिबास (वीपी) राजमार्ग सञ्चालनमा आएको छ । ठेकेदार, मृतक बालकका आफन्त र प्रहरी प्रशासनबीच सहमति भएपछि राजमार्ग सूचारु भएको हो । दुई दिनपछि आफन्तले बालकको शव बुझेर पोष्टमार्टमका लागि सिन्धुली अस्पताल ल्याइएको छ।
कमलामाई नगरपालिका ४ र ६ जोड्ने ग्वाङ खोलामा पक्की पुल निर्माणका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुब्दा फिक्कल गाउँपालिका १ का प्रकाश भुजेलका १२ वर्षीय छोरा सिरास भुजेलको मृत्यु भएको थियो ।सोहि घटनालाई लिएर पीडित पक्षले ठेकेदारलाई कारबाही र क्षतपूर्तिको माग गर्दै कमलामाई नगरपालिका ४ ढुङ्ग्रेवासमा राजमार्ग अवरुद्ध गरेका थिए ।
तर, पीडित र ठेकेदारबीच सहमतिपछि राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता मनोज लामाले जानकारी दिए । प्रहरी प्रवक्ता लामाले सहमतिमा क्षतिपूर्तिको रकम खुलाउन नमाने पनि ठेकेदार रमेश कुवरले मृतक बालकका आफन्तलाई २० लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको बताइएको छ । यस्तै निर्माण स्थलमा घेराबेरा गर्ने, हेरालु राख्ने र सुरक्षाका उपाय अपनाउने समेत सहमति गरिएको छ ।
सदरमुकामस्थित जनता आवासीय मावि रातमाटामा कक्षा ४ मा अध्ययनरत बालक शनिबार साथीहरुसँग खोलामा पौडी खेल्ने क्रममा डुबेका थिए । निर्माण कम्पनीले खोलामा झण्डै १५ फिट गहिरो खाल्डो खनेको थियो। तर, मान्छे हिँड्ने, स्थानीयले नुहाउने ठाउँ नजिकैको काम गर्दा कुनै घेराबार नगरेको, कम्पनीले हेरालु नराखी सावधानी नअपनाउँदा दुर्घटना भएको स्थानीयको भनाइ छ ।
उक्त खाल्डोमा यसअघि बालबालिकाहरु डुबे पनि स्थानीयले उद्धार गरी बचाएको बताइएको छ ।