नौलिस्ने खोलामा ३५० मिटर लामो पुल निर्माण
बेनी : म्याग्दीको मालिका र धवलागिरी गाउँपालिकाको सिमानास्थित नौलिस्ने खोलामा ३५० मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि ४५ मिनेटको बाटो पाँच मिनेटमा छोटिएको छ।
संघीय सरकार अन्तरगतको ससपेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौंले मालिका गाउँपालिका–७ बिमवाङको पाल्तुङ र धवलागिरी गाउँपालिका–६ मराङको रिख जोड्ने झोलुङ्गे पुल निर्माण गरेको हो।
बिमवाङका बासिन्दा माइकल जुग्जालीले पुल बनेपछि ४५ मिनेट लाग्ने बाटो पाँच मिनेटमा छोटिएको बताए। ‘बिमवाङदेखि रिख पुग्न भिर, खोल्सा र जंगलमा करिक एक घण्टा उकालो र ओरालो पैदलयात्रा गर्नुपर्ने थियो,’ उनले भने ‘पुल बनेपछि पाँच मिनेटमै पुग्न सकिने भएको छ।’
यो पुलबाट मालिका, धवलागिरी र रघुगंगा गाउँपालिकाका बासिन्दालाई सुविधा पुगेको छ। घुमाउरो बाटोमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता हटेको छ। बिम, मराङ, मल्कवाङ र कुइने मंगलेका करिब एक हजार पाँच सय घरधुरी लाभान्वित भएका छन्। सहज र सुरक्षितरुपमा यात्रा गर्न पाएको धवलागिरी–६ आरवाङको प्रगति युवा क्लवका अध्यक्ष चक्र पुनले बताए।
म्याग्दीको नौलिस्नेखोलामा ३५० मिटर र कास्कीको अन्नपूर्ण गाउँपालिकाको पहिरेखोलामा १२३ मिटर लामो झोलुङ्गे पुल निर्माण गर्न उमा-थानी-हिमशिखर जेभीले बिस २०७७ असारमा दुई करोड ५८ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।
निर्माण कम्पनीका प्राविधिक बिष्णु बुढामगरले निर्माण सकिएको पुलको प्राबिधिक नापजाँच गरी प्रयोगका लागि खुला गरिएको बताए। उनका अनुसार यो पुलमा एक पटकमा ७५५ जना मानिस आवतजावत गर्न सक्ने क्षमता रहेको छ। पुलको उचाई करिब १५० मिटर छ।
आवतजावत सहज हुनुका साथै यो पुल पर्यटकीय हिसाबले सम्भावना पनि रहेको धवलागिरी गाउँपालिका–६ मराङका वडा अध्यक्ष राजाराम सुवेदीले बताए। पुलतर्ने क्रममा रिख र बिमवाङको फेदीमा रहेका झरनाहरुको अवलोकन गर्न सकिन्छ।
साहासिक खेल बञ्जिजम्प सञ्चालन गर्नका लागि पनि सम्भावना छ। लामो र अग्लो पुल अवलोकन गर्न आउने पर्यटकहरुका कारण बिमवाङ र रिखमा चहलपहल तथा ब्यापार व्यवसाय बढ्ने अपेक्षा गरिएको छ। यो पुल भएर प्रसिद्ध धार्मिकस्थल मालिका धुरीमा पूजाआजा, दर्शन र अवलोकन गर्न जाने पर्यटकहरुलाईसमेत सुविधा पुग्ने मालिका गाउँपालिका–७ का वडा अध्यक्ष रेशम जुग्जालीले बताए।