किन खस्दैन लाखौं मत ?
काठमाडौं : निर्वाचनमा एक मत नै निर्णायक हुन्छ। अर्थात्, एक मतले जित–हार हुन्छ। बराबरी भए गोला प्रथाबाट निर्णय गरिन्छ। तर, लाखौं मतदाताले मतदान गर्ने गरेका छैनन्। २०७४ को स्थानीय तह निर्वाचनमा ३५ लाख ८५ हजार २ सय २० जनाले मतदान गरेनन्। त्यति बेला १ करोड ४० लाख ७४ हजार ४ सय २४ मतदाता थिए। १ करोड ४ लाख ८९ हजार २ सय ४ जनाले मात्रै मताधिकार प्रयोग गरे।
२०७४ कै प्रतिनिधिसभा निर्वाचनमा मतदाताको संख्या १ करोड ५२ लाख ४७ हजार ९ सय ३८ थियो। तर, १ करोड ५९ लाख ४ हजार ४४ ले मात्रै मत दिए। ४६ लाख ५३ हजार ८ सय ९४ मत खसेन।
०७० को दोस्रो संविधानसभा निर्वाचनमा १ करोड २१ लाख ४७ हजार ८ सय ६५ मतदाता थिए। त्यसमध्ये प्रत्यक्षतर्फ ९५ लाख १६ हजार ७ सय ३४ ले मात्रै मतदान गरे। समानुपातिकतर्फ ९७ लाख ७६ हजार ७ सय ३ मत खस्यो। प्रत्यक्षतर्फ २६ लाख ३१ हजार १ सय ३१ र समानुपातिकतर्फ २३ लाख ७१ हजार १ सय ७२ ले मतदान नै गरेनन्।
मतदान नगर्नुमा १० कारण
निर्वाचन आयोगले सबै मतदाताका लागि मतपत्र छाप्छ। मतदाता शिक्षामा अर्बौं लगानी गर्छ। तापनि, २५ देखि ३० प्रतिशत मतदाताले मत नदिने गरेको निर्वाचनको तथ्यांकले देखाउँछ। यसले निर्वाचनमा सरकारले गर्ने लगानी बालुवामा पानीजस्तै भएको छ। कानुनी रूपमा उम्मेदवार जिते पनि सामाजिक वैधतामा प्रश्न उठ्ने गरेको छ।
२०३७ सालको राष्ट्रिय जनमत संग्रहमा कुल मतदाताको ६६.९२ ले मात्रै मतदान गरेका थिए। २०७४ को स्थानीय तह निर्वाचनमा ७४.५२ प्रतिशत मतदाता मात्रै मतदान केन्द्र पुगे। २०७० को संविधानसभा सदस्यको समानुपातिकमा ७९.८२ प्रतिशत मतदान भएको थियो। जुन हालसम्मको सबैभन्दा बढी मतदान भएको रेकर्ड छ। तर, यो वर्षपछि झन्डै २० प्रतिशतले
मतदाननै गरेन। यति धेरै मतदाता निर्वाचनमा किन सहभागी हुँदैनन् ?
पहिलो कारण : धेरै मतदाता देशबाहिर
मतदाताको ठूलो संख्या देशबाहिर छ। रोजीरोटीको सिलसिलामा कोही साउदी त कोही कतारमा छन्। भारतमा रहेका लाखौं मतदाता पनि चुनावमा सहभागी हुन सक्दैनन्। निर्वाचन ऐनले मतदाता नामावली भएकै वडामा गएर मतदान गर्नुपर्ने व्यवस्था गरेको छ। आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्याल भन्छन्, ‘मुलुकबाहिर रहेका मतदाता निर्वाचनका समयमा मतदान केन्द्रसम्म आउन भ्याउँदैनन्।’ जसकारण
उनीहरू आफ्नो प्रतिनिधि छनोटको अवसरबाट वञ्चित हुन्छन्।
निर्वाचनका बेला लाखौं मतदाता देशबाहिरै रहने गरेको पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल बताउँछन्। ‘राजनीतिक रूपमा सचेत युवा देशबाहिर छन्’, पूर्वप्रमुख आयुक्त पोखरेल भन्छन्, ‘उनीहरूले आफ्नो मताधिकार प्रयोग गर्न सकेका छैनन्।’ सरकारी आंकडाअनुसार पनि झन्डै ३५ लाख युवा देशबाहिर छन्।
दोस्रो कारण : भौगोलिक बनावट
भौगोलिक बनावटका कारण मुलुकका सबै ठाउँमा आउजाउ गर्न सहज छैन। कतिपय ठाउँ निकै विकट छन्। जहाँ मतदान केन्द्रसम्म पु्ग्न कठिन हुन्छ। त्यस्तोमा बिरामी, बुढाबूढी, अशक्त मतदानबाट बञ्चित हुन्छन्। यसकारण पनि धेरै मतदाता निर्वाचनमा सहभागी नहुने गरेको पोखरेल बताउँछन्।
तेस्रो कारण : सरकारी सेवाको बाध्यता
सुरक्षाकर्मी, निर्वाचनमा खटिने कर्मचारी, जागिरको सिलसिलामा बाहिर हुन्छन्। मतदान गर्न तोकिएको ठाउँमा जानुपर्ने कानुनी व्यवस्थाले उनीहरूले मतदान गर्न पाउँदैनन्। मतदान घट्नुको यो पनि एउटा प्रमुख कारण रहेको पूर्वप्रमुख आयुक्त पोखरेल बताउँछन्।
‘निर्वाचन पर्यवेक्षणमा खटिने पर्यवेक्षक र पत्रकार पनि समय नपाएर मतदानबाट बञ्चित हुन्छन्,’ पोखरेल भन्छन्। २०६४ र २०७० को संविधानसभामा निर्वाचनमा खटिने कर्मचारीका लागि ‘अस्थायी मतदाता’को व्यवस्था गरिएको थियो। उनीहरूलाई समानुपातिकतर्फ मतदान गर्न दिइएको थियो।
‘स्थानीय तहको जनप्रतिनिधि छनोट गर्ने अधिकार वडाका मतदातालाई मात्रै दिइएको छ’, सूचना अधिकारी अर्याल भन्छन्, ‘कर्मचारीलाई मतदान गर्न दिँदा विकृति आयो। त्यसपछि २०७४ को स्थानीय चुनावमा स्थानीय मतदातालाई मात्रै जनप्रतिनिधि छनोट गर्न दिइयो।’ वडास्तरमा एक भोटले जित र हार हुने अवस्था रहेको उल्लेख गर्दै अर्याल भन्छन्, ‘निर्वाचनमा खटिएका ८–१० जना कर्मचारीले त्यहाँको परिणाममा ठूलो प्रभाव पर्न सक्छ।’
चौथो कारण : जाँगरको कमी
गाउँभन्दा सहरी क्षेत्रमा धेरै मतदाता हुन्छन्। सहरी क्षेत्रमा मतदान गर्नेको संख्या घट्दै गएको पूर्वप्रमुख आयुक्त पोखरेल बताउँछन्। भन्छन्, ‘सहरी क्षेत्रका मतदातामा राजनीतिप्रति वितृष्णा बढेको छ। त्यही कारण कतिपय काममा व्यस्त भएर पनि मतदान गर्न जाँदैनन्।’
पाँचौं कारण : मतदान स्वेच्छिक
मतदान गर्नुपर्ने अनिवार्य कानुनी व्यवस्था छैन। कतिपय देशमा मतदान गर्न नगए दण्ड/जरिवाना पनि हुन्छ। ‘त्यस्ता देशमा बाध्य भएर मतदान गर्छन्,’ पोखरेल भन्छन्, ‘हाम्रो देशमा मतदान स्वेच्छिक हो। विदेशतिर ४०–५० प्रतिशत मतदान भयो भने पनि धेरै मतदान भएको ठानिन्छ। हाम्रोमा मतदान गर्नेको संख्या राम्रो नै छ।’
छैटौं कारण : घरमुली मात्रै मतदान गर्ने
मधेसमा घरमुलीले मात्रै मतदान गर्ने चलन छ। नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाका अनुसार तराईका जिल्लामा घरमा अभिभावकले मतदान गरे पुग्छ भन्ने बुझाइ छ। ग्रामीण भेगका महिलामा अन्य सदस्यको मतदान केन्द्रसम्म पहुँच छैन।
सातौं कारण : निराशा
राजनीति भद्रगोल छ। देश अँध्यारोतिरको यात्रा देख्दा मतदातामा निराशा छ। हास्यकलाकार मनोज गजुरेल भन्छन्, ‘नेपाली जनता साना उपलब्धिमा धेरै खुसी हुन्छन्। ठीक त्यसको उल्टो नेतृत्वले थोरै गल्ती गर्दा सानो चित्त दुखिहाल्छ।’
चुनाव आउँदा नेताहरू गाउँगाउँ पस्छन्। आश्वासन दिन्छन्। जितेपछि फर्केर जाँदैनन्। व्यवस्था बदलिए पनि अवस्था नबदलिँदा राजनीतिप्रति मतदाताको प्रश्नै, प्रश्न छ।
‘नेताहरूको बेइमानी र गैरजिम्मेवारीले मतदाता आजित छन्। उनीहरू जे बोल्छन्, त्यो गर्दैनन्। जे गर्छन्, त्यो बोल्दैनन्’, प्रा.डा बद्रीविशाल भट्टराई भन्छन्, ‘राजनीति गर्नेलाई मस्ती छ। भोट दिएर जिताउने जनताको अवस्था जस्ताको त्यस्तै छ।’
आठौं कारण : मतदाताकै मनोदशा
मत दिँदा मैले के पाउँछु, के हुन्छ भन्ने प्रश्न निर्वाचन नबुझेका मतदाताले गर्छन्। उनीहरूको आर्थिक स्थिति पनि कमजोर हुन्छ। निर्वाचनमा लोभ, लालचमा पर्छन्। खोजेको कुरा नपाउँदा त्यस्ता मतदाता मतदानमा सहभागी नहुने गरेको बताउँछन् माओवादी केन्द्र नेता लीलामणि पोखरेल। ‘नेताहरूले बोलकबुल गरेको काम नगर्दा मतदाताहरू निराश हुन्छन्’, नेता पोखरेल भन्छन्, ‘राज्यप्रणाली र नेताहरू गम्भीर नबन्दा मतदातामा निर्वाचनप्रतिको उत्साहमा कमी आउनु स्वाभाविकै हो।
नवौं कारण : हिंसा
पैसा, बन्दुक र गुण्डाको प्रयोगले स्वच्छ निर्वाचन हुन सकिरहेको छैन। त्यो बेला शारीरिक मात्रै होइन, मानसिक हिंसा पनि हुने गरेका कारण कतिपय मतदान गर्न जाँदैनन। पूर्व–प्रमुख निर्वाचन आयुक्त पोखरेल सुनाउँछन्, ‘कस्तोसम्म अवस्था छ भने उम्मेदवार–उम्मेदवार नभई खर्च गर्ने डन–डनबीच प्रतिस्पर्धा भइरहेको झै लाग्ने गर्छ।’ मतदाताहरू असुरक्षाका कारणले मतदान केन्द्रसम्म नजाने गरेको माओवादीका केन्द्रीय सदस्य पोखरेल बताउँछन्। ‘राज्य प्रणाली, राजनीतिक दल जिम्मेवार बन्नै पर्छ। मतदातालाई मतको महत्व बुझाउनै पर्छ’, उनी भन्छन्।
दसौं कारण : अपडेट नहुनु
कसैको मृत्यु हुँदा पनि उसको नाम मतदाता नामावलीमा हुन्छ। बसाइसँराइ गरे पनि पुरानै गाउँमा नाम हुन्छ। यसले पनि मतदाता संख्याभन्दा मतदान गर्नेको संख्यामा केही प्रतिशत कमी आउने गरेको एमाले निर्वाचन विभाग उपप्रमुख नीरज आचार्य बताउँछन्।
मतदानको कमीले वैधतामा प्रश्न
अधिक मतदान नहुँदा जित र हारमै फरक पर्ने गरेको त्रिविको ग्रामीण विकास केन्द्रीय विभाग कीर्तिपुरका सहप्रध्यापाक डा. सुमन खरेल बताउँछन्। ‘जसले बढी मत ल्याउँछ उसले कानुनी रूपमा जित्छ। तर, बढीभन्दा बढी मतदाता मतदानमा सहभागी नहुँदा सामाजिक रूपमा वैधताको प्रश्न तेर्सिन्छ’, डा. खरेल भन्छन्।
उनका अनुसार निर्वाचनले देशको विकास र राजनीतिमा कस्तो प्रभाव पार्छ भन्ने मतदाताले बुझ्न सकेका छैनन्। जसकारण मतदानप्रति मतदाताको औधी रुचि हुन सकेको छैन। चुनाव आयो भने मात्रै मतदाता शिक्षामा आयोगले काम गर्छ। अरू समय न दलले काम गर्छ न त आयोगले नै।
‘चुनावलाई लक्ष्य गरी सञ्चालन हुने मतदाता शिक्षाले मतदान गर्न मात्रै सिकाउँछ। मतको महत्वबारे जनचेतना दिइँदैन। त्यसैले चुनावताका आयोगले सञ्चालन गर्ने मतदाता शिक्षा कर्मकाण्डीजस्तै हुन्छ। यसले मतदातामा खासै प्रभाव पर्दैन’, डा.खरेल भन्छन्, ‘स्नातकोत्तर पढ्ने विद्यार्थीले पनि चुनाव, मतदानबारे बुझेका छैनन्। उनीहरू सामाजिक सञ्जाल हेरेर धारणा बनाउँछन्। जहाँ गलत, मिथ्या, भ्रामक सूचना पनि हुन्छन्।’ स्नातकदेखि स्नातकोत्तरसम्मको पाठ्यक्रममा निर्वाचनसम्बन्धी विषयवस्तु राख्नुपर्ने उनी बताउँछन्।
देशबाहिर रहेको आप्रवासी मतदातालाई मतदानको अधिकार प्रयोग गर्न आयोगले योजना ल्याउनुपर्ने बताउँछन् एमाले निर्वाचन विभाग उपप्रमुख आचार्य। ‘हाम्रो मतदाता कतार, दुबई, मलेसियामा धेरै छन्। अर्को ठूलो संख्या छिमेकी देश भारतमा छन्’, उनी भन्छन् ‘उनीहरू निर्वाचनका बेला देशमा आउन सक्दैनन्। यत्रो ठूलो संख्यालाई मतदानमा सहभागी गराउन हामीले निर्वाचन आयोगसँग छलफलका क्रममा भनेका छौं। कसरी सहभागी गराउने आयोगले त्यसको योजना ल्याउनुपर्छ।’
विदेशमा रहेका नागरिकलाई मतदानको व्यवस्था गर्न कानुन बनाउन संसद्को राज्य व्यवस्था समितिमा पठाइएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भनाइ छ।
कुन निर्वाचनमा कति मतदान ?
राष्ट्रिय जनमत संग्रह २०३७ मा कुल मतदाता ७१ लाख ९२ हजार ४५१ थिए। जसमध्ये ४८ लाख १३ हजार ४८६ ले मात्रै मतदान गरे। यो निर्वाचनमा ६६.९२ प्रतिशत मत खस्यो। आमनिर्वाचन २०४८ मा ७२ लाख ९१ हजार ८४ जनाले मात्रै मतदान गरे। अर्थात्, ६५.१५ प्रतिशतले मतदान गरे। यो चुनावमा १ करोड ११ लाख ९१ हजार ७ सय ७७ जना मतदानको अधिकार दिएको थियो। आमनिर्वाचन २०५१ का लागि आयोगले १ करोड २३ लाख २७ हजार ३ सय २९ मतदाता रहेको जनाएको छ। त्यसमध्ये ७६ लाख २५ हजार ३ सय ४८ जना अर्थात् ६१.८६ प्रतिशतले मतदान गरे।
आमनिर्वाचन २०५६ मा ८८ लाख ९४ हजार ५ सय ६६ जनाले मतदान गरे। यो निर्वाचनमा कुल मतदाता–१ करोड ३५ लाख १८ हजार ८ सय ३९ थियो। कुल मतदातामध्ये ६५.७९ प्रतिशत मात्रैले निर्वाचनमा सहभागिता जनाए।
आयोगका अनुसार संविधानसभा सदस्य निर्वाचन २०६४ मा १ करोड ७६ लाख ११ हजार ८ सय ३२ को नाम मतदाता नामावलीमा थियो। प्रत्यक्षतर्फ १ करोड ८ लाख ६६ हजार १ सय ३१ अर्थात् ६१.७० प्रतिशतले मतदान गरे। समानुपातिकतर्फ १ करोड ११ लाख ४६ हजार ५४० जनाले मतदान गरे। समानुपातिकतर्फ (६३.२९ प्रतिशत मात्रै मतदान भयो।
संविधानसभा सदस्य निर्वाचन २०७० मा १ करोड २१ लाख ४७ हजार ८ सय ६५ मतदाता थिए। प्रत्यक्षतर्फ ९५ लाख १६ हजार ७ सय ३४ अर्थात् ७८.३४ प्रतिशत मतदाता निर्वाचनमा सहभागि भए। समानुपातिक तर्फ ९७ लाख ७६ हजार ७ सय ३ मत सख्यो।
स्थानीय तह निर्वाचन २०७४ मा ३५ लाख ८५ हजार २२० मतदाताले मतदान गरेनन्। यो निर्वाचनमा १ करोड ४० लाख ७४ हजार ४२४ मतदाता थिए। १ करोड ४ लाख ८९ हजार २ सय ४ जना मात्रै मतदान केन्द्र पुगेका थिए। कुल मतदातामध्ये ७४.५२ ले निर्वाचनमा सहभागिता जनाएका थिए।
प्रतिनिधिसभा निर्वाचन २०७४ मा कुल मतदाता १ करोड ५२ लाख ४७ हजार ९ सय ३८ थिए। ४६ लाख ५३ हजार ८ सय ९४ जना मतदानमा सहभागी भएनन्। कुल मतदातामध्ये १ करोड ५९ लाख ४ हजार ४४ ले मात्रै उम्मेदवारलाई भोट दिए। ६८.६६ प्रतिशतले मतदान गरेका थिए।