बढ्यो लगानी प्रतिबद्धता
काठमाडौं : उद्योगमा लगानी प्रतिबद्धता बढेको छ । अघिल्लो वर्षको चैतसम्मको तुलनामा यस वर्ष सात अर्बभन्दा बढी लगानी प्रतिबद्धता आएको हो । उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले प्रशासनिक कार्य सरलीकृत भएसँगै विदेशी लगानी आउने क्रम सुरु भएको बताए ।
‘पछिल्लो समयमा लगानीको वातावरण बन्दै गएको छ’ उनले भने,‘ विदेशी लगानीकर्ता आउने क्रम विस्तारै सुरु भएको छ ।’ सरकारले केही वर्षयता विदेशी लगानी आकर्षित गर्न प्रक्रिया सहजीकरण गर्नुका साथै कानुन सुधारमा ध्यान दिइरहेको तिवारीले बताए । तर, विगतका तुलनामा लगानीकर्ता उत्साहित भए पनि अझै कानुन तथा प्रक्रिया सहजीकरण गर्न सरकार लागिपरेको उनले बताए ।
राष्ट्र बैंकको एक अध्ययनअनुसार प्रतिबद्धताको ३० प्रतिशतमात्रै लगानी भित्रिने गरेको छ । महानिर्देशक तिवारीले विगत केही वर्षयता प्रतिबद्धताको ५० प्रतिशतसम्म लगानी हुन थालेको थालेको बताए । उद्योग विभागका अनुसार यस वर्ष उद्योगको संख्या पनि थपिएका छन् । चालू आर्थिक वर्षको साउनदेखि चैत्रसम्म १ सय ५४ उद्योगका लागि ३३ अर्ब ३७ करोड विदेशी लगानी प्रतिबद्धता आएको छ ।
- १ सय ५४ उद्योगका लागि ३३ अर्ब ३७ करोड विदेशी लगानी प्रतिबद्धता
- गत वर्ष १ सय ४२ उद्योगका लागि २६ अर्ब १४ करोड लगानी प्रतिवद्धता
गत वर्ष सोही अवधिमा १ सय ४२ उद्योगका लागि २६ अर्ब १४ करोड लगानी प्रतिबद्धता आएको थियो । ती उद्योगमा नेपालीको ४ अर्ब लगानी हुनेछ । यस वर्ष सेवामूलक क्षेत्र र पर्यटनमा विदेशी लगानीकर्ता आकर्षित भएका छन् । गत वर्ष पर्यटन क्षेत्रमा विदेशी लगानीकर्ता आकर्षित भएका थिए ।
विभागका अनुसार सेवामूलक क्षेत्रमा यस वर्ष १८ अर्ब ४० करोड रुपैयाँ प्रतिबद्धता आएको छ । सेवामूलक उद्योगहरू यस वर्ष ३४ वटा थपिएका छन् । दोस्रोमा पर्र्यटन क्षेत्रमा १० अर्ब १३ करोड रुपैयाँ प्रतिबद्धता आएको छ । पर्यटनमा ६२ उद्योग दर्ता भएका छन् । त्यस्तै उत्पादनमूलक क्षेत्रमा ३ अर्ब ७१ रुपैयाँ प्रतिबद्धता आएको छ । यस वर्ष २७ वटा उत्पादनमूलक उद्योग थपिएका छन् । त्यस्तै ६ वटा सूचनामूलक क्षेत्रमा ४७ करोड लगानी प्रस्ताव आएको छ । यस वर्ष कृषि तथा ऊर्जासम्बन्धी चार वटा उद्योगका लागि ६० करोड प्रस्ताव गरिएको छ । त्यस्तै ऊर्जामूलक क्षेत्रमा एउटामा मात्रै उद्योगमा ५६ करोड प्रस्ताव आएको छ ।
गत वर्ष ८० वटा उद्योगका लागि १५ अर्ब ६१ करोड लगानी प्रस्ताव आएको थियो । ३४ वटा सेवामूलक उद्योगका लागि ५ अर्ब १८ करोड लगानी प्रस्ताव आएको थियो । १५ वटा उत्पादनमूलक उद्योगमा २ अर्ब ४४ करोड लगानी प्रस्ताव गरिएको थियो । ९ वटा सूचना प्रविधि उद्योगमा २ अर्ब ३५ करोड लगानी प्रस्ताव आएको थियो । कृषि तथा वनसम्बन्धी तीन वटा उद्योगमा ५२ करोड लगानी
प्रस्ताव गरिएको थियो ।
उद्योग विभागले लगानीको प्रस्तावको तथ्यांक राखे पनि त्यसअनुसार वास्तविक तथ्यांक राख्न सकेको छैन । विभागले यस वर्षदेखि रियल टाइमको तथ्यांक राख्न सफ्टवेयर निर्माणको काम सुरु गरेको छ । अर्थविद् ज्ञानेन्द्र अधिकारीले स्वदेशी तथा विदेशी लगानीकर्तामार्फत उद्योगमा गरिने लगानी प्रस्ताव उल्लेख्य भए पनि त्यसरी लगानी नभएको बताउँछन् ।