बाजुरामा ५९ हजार बढी बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै

बाजुरामा ५९ हजार बढी बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै

बाजुरा : बाजुरामा आइतबारबाट बालबालिकालाई टाइफाइडविरुद्धको (कन्ज्युगेट भ्याक्सिन) खोप लगाउन सुरु गरिएको छ । देशभर चैत २५ देखि वैशाख १८ गतेसम्म ( २४ दिन) खोप अभियान सञ्चालन गर्ने तयारी अनुसार बाजुरामा वैशाख ४ गते अर्थात् आइतबारदेखि  बैशाख ८ गतेसम्म खोप अभियान सुरु गरिएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दायकृष्ण पन्तले बताए ।

जिल्लामा १५ महिनादेखि १५ वर्षसम्मका ५९ हजार ३८ जना बालबालिकालाई खोप लगाउन सुरु गरिएको हो। टाइफाइडविरुद्धको खोप नेपालमा पहिलो पटक बालबालिकालाई दिनसुरु गरिएको हो । अभियानपछि नियमित खोपका रुपमा १५ महिना पुगेका बालबालिका लागि प्रयोग गरिने स्वास्थ्य कार्यालय बाजुराका सूचना अधिकारी महेश चन्दले बताए ।

यो सँगै नेपालमा बालबालिकालाई दिइने नियमित खोपको संख्या १३ पुग्नेछ । खोप केन्द्र स्वास्थ्य केन्द्र र विद्यालयमा राखिएको छ । जिल्लाका ३ सय ४८ ठाउँमा रहेका खोप केन्द्रमा ३ सय ४८ स्वास्थ्यकर्मी र ६ सय ७६ स्वयसेवक परिचालन भएको सूचना अधिकारी चन्दले बताए ।

परिवार कल्याण महाशाखाका अनुसार विगत ५ वर्षको तथ्यांक अनुसार नेपालमा बर्सेनि औसत ४ लाख ५० हजार जनामा टाइफाइड पुष्टि भएको पाइएको छ । विगत ३ वर्षको तथ्यांक अनुसार पानी तथा खानाजन्य संक्रामक रोगमध्ये तेस्रो र अस्पताल भर्ना हुने कारणमध्ये टाइफाइड रोग चौथोमा पर्ने देखिएको छ ।

पछिल्लो अध्ययन अनुसार नेपालमा ८२ हजार ४ सय ४९ टाइफाइडका बिरामी रहेको अनुमान गरिएको छ । टाइफाइड रोगको संक्रमण सबै उमेरका व्यक्तिलाई हुन्छ। संक्रमित हुनेमध्ये ६० प्रतिशत १५ वर्षमुनिका बालबालिकामा रहेको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।

राष्ट्रिय खोप सल्लाहकार समितिले १४ अगष्ट, २०२० मा टाइफाइड खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्न सिफारिस गरेको थियो । विश्व स्वास्थ्य संगठनले टाइफाइड खोपलाई नेपालसहित सबै टाइफाइड प्रभावित देशहरूमा प्रयोगको लागि सिफारिस गरेको छ । यो खोप अभियानसँगै टाइफाइड खोपको सुरुवात गर्ने नेपाल दक्षिण एसियामै पहिलो राष्ट्र नेपाल हो ।

टाइफाइड साल्मोनेला टाइफीको संक्रमणबाट हुने गम्भीर रोग हो । जुन ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्दछ । यो रोग लागेमा उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने, पखाला लाग्ने र बान्ता हुने हुन्छ । सरकारले देश भरका १५ महिना देखि १५ वर्षमुनिका झण्डै ७५ लाख बालबालिका लागि खोप दिने लक्ष्य राखेको छ ।

टाइफाइड खोप लगाएपछि अन्य खोपहरुमा जस्तै केही सामान्य (सुइ लगाएको ठाउँमा रातो हुने, सुन्निने र दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, हात गोडा तथा जोर्नी दुख्ने आदि) असर हुनसक्छन् र यस्ता सामान्य असरहरु विस्तारै आफैं ठीक भएर जान्छन् । खोप लगाएपछि यस्ता लक्षणबाहेक अन्य स्वास्थ्य जटिलता देखा परेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्नु पर्ने स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ ।

यो खोप विगतमा कुनै खोप लिँदा प्रकारको प्रतिक्रिया देखा परेको वा कुनै खाना वा अन्य वस्तुबाट कडा एलर्जी भएको भए, एड्सको लक्षण देखा परेको अवस्थामा दिनुहुँदैन । साथै उच्च ज्वरो आएको वा सिकिस्त बिरामी भएको अवस्थामा दिनुहुँदैन, तर बिरामी ठीक भइसकेपछि यो खोप लिन सकिन्छ ।

तर, साधारण बिरामी भएको अवस्था जस्तै, हल्का ज्वरो आएको, रुघाखोकी लागेको, कुपोषण भएको अवस्थामा यो खोप लगाउन सकिने स्वास्थ्यकर्मीले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.