१३ वर्षदेखि खोरमा थुनिएका बालकको उद्धार
जाजरकोट : १३ वर्षदेखि खोरमा थुनिएका बालकको उद्धार गरिएको छ। जिल्लाको बारेकोट गाँउपालिका-४ रावत जिरीका १६ वर्षिय भीमराज रावतको उपचारका लागि खोरबाट उद्धार गरिएको हो। १३ वर्षदेखि थुनिए बालक खोरमा भन्ने शिर्षकमा सोमबार अन्नपूर्णपोष्ट दैनिक र अन्नपूर्णपोष्ट अनलाईनमा समाचार प्रकाशित भएपछि राष्ट्रिय बाल अधिकार परिषद काठमाडौं र बारेकोट गाँउपालिकाको पहलमा उनको उद्धार गरिएको हो।
राष्ट्रिय बाल अधिकार परिषदले बालकको आवश्यक उपचारको ब्यवस्था मिलाउने छ भने काठमाडौंसम्म पठाउने ब्यवस्था बारेकोट गाँउपालिकाले गर्नेछ। ३ वर्षको उमेरमा मानसिक सन्तुलन गुमाएका उनलाई १३ वर्ष अघिदेखि पशु झैं कहिले दाम्लोमा त कहिले खोरमा बाँधेर राखिएको हो।
गरीब परिवारमा जन्मेका भीमराजको दुईभाई र एक बहिनी छन्। उनको बुवाआमाको आर्थिक अवस्था अत्यन्तै कमजोर छ। उनको उपचारका लागि उनका बुवाले साहुसंग ऋण मागेको पैसाले कहिले नेपालगन्ज, कहिले काठमाडौं त कहिले भारतका अस्पताल पनि धाए। तर भीमराजको उपचार हुन सकेन।
भीमराजलाई थुन्नका लागि उनका बाबुले बाख्राको जस्तै खोर बनाएका छन्। खोरभित्र राखेन भने घर परिवार वा जो भेटिए पनि ढुङ्गा र दाँतले आक्रमणसमेत गर्ने गरेका छन्। भीमराजको उमेर बढ्दै जाँदा परिवारका मान्छे चिन्तित छन्। कुनैकुनै बेला नियन्त्रण गर्न निकै गाह्रो हुने उनका बुवा कालीबहादुर रावत बताउँछन्। उनलाई खोर भित्रै खाना र पानी दिने गरिएको विष्णुले बताए। खोरभित्र थुनिएका भीमराजले लगाएका कपडासमेत फुकाले फालिदिने गरेका छन्। उनले भने–‘छोराको उपचारका लागि काठमाडौं लैजादैँछु।
छोरालाई निको बनाउन पाएको भए साह्रै खुसी हुने थियौं बुवा कालीबहादुरले भने घरबाट हिडिसक्यौं भोलि काठ्माडौं पुग्छौ।’ उनले छोराको उपचारका लागि पहल र सहयोग गर्ने सबैलाई धन्यवाद दिए।
बालकको उपचारका लागि गाँउपालिकाको पहलमा काठमाडौं पठाईएको अध्यक्ष महेन्द्र शाहले बताए। आर्थिक अवस्था निकै कमजोर भएकाले एक जना कुरुवा अभिभावक र बिरामी बालकको खानाबस्न र उपचारको सवै ब्यवस्था मिलाईदिन राष्ट्रिय बाल अधिकार परिषदलाई अनुरोध गरेका छौं। परिषदले पनि उपचारको आवश्यक ब्यवस्था मिलाउने प्रतिबद्धता गरिपछि बालकलाई काठमाडौं पठाएका हौं उनले भने।