तनहुँमा सवारी फिर्ता गर्दै जनप्रतिनिधिहरु
तनहुँ : स्थानीय तहको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन भन्दै तनहुँका जनप्रतिनिधिहरुले आफूले प्रयोग गर्दै आएको सवारी सुविधा फिर्ता गर्न थालेका छन्। जिल्लाको शुक्लागण्डकी नगरपालिकाका मेयर, उपमेयरका साथै १२ वडा रहेको शुक्लागण्डकीका दुई जना वडाध्यक्ष र प्रवक्ताले सवारी सुविधा फिर्ता गरेका हुन्।
मेयर किसान गुरुङले गएको निर्वाचनमा निर्वाचित भए पश्चात् प्रयोग गर्दै आएको ग १ झ ३२८ नम्बरको सवारीको चाबी प्रमुख प्रशासकीय अधिकृत लिलाबल्लभ न्यौपानेलाई हस्तान्तरण गर्दै सुविधा फिर्ता गरेका छन्। गुरुङले आसन्न स्थानीय तहको निर्वाचनमा पुन: नेपाली कांग्रेसबाट मेयरमा उठ्ने आकाङ्क्षा व्यक्त गरेका छन्। कांग्रेसले शुक्लागण्डकीबाट उनी सहित ११ जनाको नाम जिल्लामा सिफारिस गरेको छ।
त्यस्तै उपमेयर सविता रसाइलीले पनि सोमबार आफूले प्रयोग गर्दै आएको ग १ झ ८४९७ नम्बरको सवारी र चाबी प्रमुख प्रशासकीय अधिकृत न्यौपानेलाई हस्तान्तरण गरेकी छिन्। उपमेयर रसाइली पनि नेकपा एमालेबाट नगरकालिकाको मेयरको आकाङ्क्षी हुन्। उनी पार्टीको महिलातर्फबाट मेयरका लागि सर्वसम्मत सिफारिससमेत भएकी छिन्। पार्टीले रसाइलीसहित ३ जनाको नाम जिल्लामा पठाएको छ।
प्रवक्ता खिमबहादुर कुमालले नगरपालिकाले उपलब्ध गराएको ग १ ब ७४६ नम्बरको मोटरसाइकल फिर्ता गरेका छन्। यसैगरी वडा नम्बर ४ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले मोटरसाइकल र वडा नं ९ का वडाध्यक्ष लोकनारायण श्रेष्ठले स्कुटर फिर्ता गरेका छन्।
जिल्लाकै भिमाद नगरपालिका-९ का वडाध्यक्ष इमानबहादुर थापा मगरले पनि आफूले प्रयोग गर्ने मोटरसाइकल फिर्ता गरेका छन्। वडाध्यक्ष थापाले प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहाललाई मोटरसाईकल र चाबी फिर्ता गरेका हुन्। थापा नेकपा एमालेबाट नगरपालिकाको मेयरका आकांक्षीसमेत हुन्। थापा नगर कमिटीको आन्तरिक मतदानबाट मेयरका लागि अन्य दुई जनासंगै सिरफारिसमा परेका छन्। निर्वाचनलाई मर्यादित बनाउन सवारी सुविधा फिर्ता गरेको उनीहरुले बताएका छन्।
जिल्लाका १० स्थानीय तहमध्ये शुक्लागण्डकीका मेयर उपमेयरलगायतका जनप्रतिनिधिहरुले सवारी फिर्ता गरेका हुन्। अन्य पालिकाका प्रमुख, उपप्रमुख र जनप्रतिनिधिहरुले भने सवारी फिर्ता गरिसकेका छैनन्।