युवा नेतृत्व
युवामा जोस, जाँगर र साहस अलि बढी हुन्छ। सायद यो उमेरको उपहार हो। युवाको ज्ञान, सीप र सोच अब्बल हुन्छ। सायद यो आधुनिक शिक्षाको प्रभाव हो। युवा कल्पनाशील, सिर्जनशील र उत्पादनशील हुन्छन्। यसो भएको सायद जीवनको उर्वर समयले हो। युवामा प्रतिस्पर्धा गर्ने आँट बढी हुन्छ। सायद यो प्रतिस्पर्धी दुनियाँको दबाब हो। युवामा अरूलाई हेर्ने, सुन्ने र बुझ्ने धैर्य हुन्छ। सायद यो नयाँ कुरा जान्ने जिज्ञासा भएर हो। युवामा भिड्ने, डट्ने र खट्ने गुण हुन्छ। सायद यो ऊर्जाशील उमेरले हो। युवा अलि छिटो काम होस् भन्ने चाहन्छन्। सायद यो समयको महर् बुझेर हो। युवामा आफ्नो देशको विकास र समृद्धिको हुटहुटी धेरै हुन्छ। सायद यो देशहरूको तुलनात्मक अध्ययनले हो।
एक्काइसौं शताब्दी प्रतिस्पर्धीहरूको युग हो। यस युगमा व्यक्तिमा विद्या, बुद्धि र विनयशीलताको खाँचो छ। साथै थप चार गुण पनि हुनै पर्छ। पहिलो, व्यक्ति प्रविधि–साक्षर हुनुपर्छ। दोस्रो, संस्कृतिमा संवेदनशील हुनुपर्छ। तेस्रो, नागरिक केन्द्रित हुनुपर्छ। र चौथो, विकासवादी हुनै पर्छ। प्रतिस्पर्धी युगमा प्रविधि न जोडी समय जोगाउन, लागत घटाउन र गुणस्तर बढाउन असम्भव छ। त्यसकारण व्यक्ति प्रविधि–साक्षर हुन अनिवार्य छ। अलगअलग सांस्कृतिक परिवेशमा हुर्केका मानिस सँगोलमा बसेर साझा उद्देश्य फलिभूत पार्ने काम गर्न परस्परमा प्रशंसनीय व्यवहार आवश्यक छ। त्यसैले व्यक्तिमा संस्कृतिप्रतिको संवेदनशीलता अपरिहार्य छ। नागरिक केन्द्रित सेवा भावले नै समाज रूपान्तरणको प्रक्रिया सहज हुन्छ। त्यसकारण व्यक्ति नागरिक केन्द्रित हुन जरुरी छ। युग सुहाउने विकास र समृद्धिको नतिजा हासिल गर्न आवश्यक छ। यस कारण व्यक्ति विकासवादी हुन अनिवार्य छ।
वास्तवमा युवाको भूमिकालाई राष्ट्रिय जीवनमा जोड्न जरुरी छ। कसरी जोड्ने भन्ने जिज्ञासा उत्पन्न हुन सक्छ। जोड्ने अवसर सामुन्नेमा छ। अहिले स्थानीय तहको निर्वाचनको सिलसिला चलिरहेको छ। निर्वाचन आयोग स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्ने तयारीमा व्यस्त छ। राजनीतिक दलहरू आआफ्नो महर् बुझाउन रणनीतिक रूपले लागि परेका छन्। जनता आकर्षित गर्न दलका नेताहरू भ्याइँनभ्याइ देश दौडाहामा छन्। निःसन्देह निर्वाचन लोकतन्त्रको आत्मा हो। विकासको जग हो। निर्वाचनबाट आउने नेतृत्वले नै जनताको उज्ज्वल भविष्यको अगुवाइ गर्ने हो। निर्वाचनको प्रतिस्पर्धामा युवाले अवसर पाउँदा राष्ट्रिय जीवनमा जोडिन सम्भव हुन्छ।
बहुलबादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्थाको वर्तमान ढाँचामा राजनीतिक दलहरू नै प्रमुख कर्ता हुन्। हरेक राजनीतिक दलसँग जनताको ठूलो पंक्ति संगठित वा क्रियाशील सदस्यको रूपमा आबद्ध छ। यसकारण निर्वाचनमा मुख्य प्रतिस्पर्धा राजनीतिक दलबीच नै हुन्छ। यस सन्दर्भमा दलहरूले आफ्नो सिद्धान्त, दर्शन, विचार र कार्यक्रमबाट जनतालाई आफूतर्फ आकर्षित गर्ने र निर्वाचन चिह्नमा लोभ्याएर मत आफ्नो पक्षमा सुरक्षित गर्ने रणनीति अपनाई आएका छन्।
यतिखेर एकातिर पहिलो निर्वाचनबाट निर्वाचित नेतृत्वको कार्यकालको विभिन्न कोणबाट समीक्षा गर्ने कार्य भइरहेको छ। अर्कोतिर, उम्मेदवारको चर्चा पनि सुरु भएको छ। कतिपयले स्वतन्त्र उम्मेदवारी घोषणासमेत गरेका छन्। यस प्रकारका घोषणाले युवा अग्रसर भएको देखिएको छ। यो परिस्थितिले यस पटक उम्मेदवार चयनमा गुणात्मक फड्को मार्न पर्ने दबाब सिर्जना भइरहेको छ।
अहिले जनताको मनोविज्ञान निर्वाचन चिह्न चिन्ने मात्र होइन, उम्मेदवारमै केन्द्रित हुने हो। उम्मेदवारको चरित्र, क्षमता, दूरदर्शिता, इमानदारिता, निष्ठा, मेहनत, कर्मशीलता र जनताको सेवामा रमाउने गुण आदि विचार गर्नेतर्फ अग्रसर भएको देखिन्छ। यस प्रकार विकसित भइरहेको मनोविज्ञानले स्वाभाविक रूपमा राजनीतिक दलहरूमा पनि परम्परागत ढाँचाबाट उम्मेदवार अघि सार्ने परिपाटीमा बदलावको दबाब सिर्जना भइरहेको छ। उक्त दबाबले युवामुखी हुनुपर्नेतर्फ धकेलिरहेको देखिन्छ।
राजनीतिक दलहरूले केही समयपहिले सम्पन्न गरेका महाधिवेशनमा नेतृत्व पुस्तान्तरणको बहस राम्रैसँग चर्केको थियो। त्यसले नेतृत्व चयनमा समेत प्रभाव पार्न सक्यो र पार्टीको केन्द्रीय नेतृत्वमा पहिलेभन्दा बढी संख्यामा युवाको उपस्थिति स्थापित हुन सकेको छ। यसको प्रभाव आसन्न स्थानीय निर्वाचनमा पनि पर्ने देखिन्छ। त्यसैले दलहरूका निर्वाचन चिह्नका साथमा युवा उम्मेदवारको पहिचान जोडिन समयले दबाब दिइरहेको छ।
नेपाली जनताले सधैं आफ्ना प्रमुख सरोकारका विषयहरू सुरक्षा, न्याय र विकासको लाभ सहज रूपमा प्राप्त होस् भन्ने चाहना गर्छन्। तर सुरक्षा, न्याय र विकासको वर्तमान स्वरूप समय र लागतका दृष्टिले अत्यन्तै महँगो छ। वितरणका दृष्टिले पनि विभेद, असमानता र बञ्चितीकरणको डोब पुरिन सकेको छैन। त्यसैले नागरिकमा निराशा छ। जसलाई चिन्ने र चिर्ने ल्याकत राख्ने युवा नेताले नै हो। असल व्यक्तिलाई नेतृत्वमा पुर्याउने अवसर निर्वाचनका समयमा प्राप्त हुन्छ। आसन्न स्थानीय तहको निर्वाचने स्थानीय सरकारको नेतृत्वमा असल व्यक्तिलाई पुर्याउने अवसर दिँदैछ।
युवा पंक्ति निर्वाचनमा प्रतिस्पर्धा गर्न आतुर देखिन्छन्। तर, राजनीतिक दल सरकारमा नेतृत्व गर्न अघि सार्ने उम्मेदवारका विषयमा अलि अनुदार हुन्छन् कि भन्ने आशंका छ। किनकि सम्बन्धित पालिकामा गएर सर्वसाधारण जनताका माझमा बहस चलाउनुपर्छ। पार्टीका अब्बल उम्मेदवारको बहस चलाउने र उनीहरूलाई हेर्ने, सुन्ने र बुझ्ने परिपाटी अपनाउन दलहरू अग्रसर भएको पाइँदैन। एकोहोरो भाषण कलाले आकर्षित गर्नमै तल्लीन देखिन्छन्। विगतदेखिकै यो बानी पुनरावृत्ति भइरहेको छ। यसले गर्दा युवा खुम्चिनु पर्ने परिस्थिति अहिले पनि दोहोरिन सक्छ। वास्तवमा इतिहास रच्ने युवा उमेरमै हो। अहिले राजनीतिको शीर्ष तहका नेताले पनि युवा उमेरमै राजनीति बदल्न अहम् भूमिका खेल्नु भएको हो। यो तथ्य शीर्ष तहका नेताहरूले स्मरण गर्न जरुरी छ।
युवाको सन्दर्भमा प्रसंग जोड्न चाहन्छु। सन् २००३ को अक्टोवर। स्विट्जरल्यान्डको जेनेभामा टेलिकम्युनिकेसन डेभलपमेन्ट सिम्पोजियम आयोजना भइरहेको थियो। यसको आयोजक अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आईटीयू) थियो। आईटीयूका तत्समयका सदस्यहरू १ सय ८९ देशको उक्त सिम्पोजियम (गोष्ठी) मा सहभागिता थिए। प्रत्येक सदस्य राष्ट्रबाट सरकारी प्रतिनिधिमण्डलका अतिरिक्त टेलिकम÷कम्युनिकेसन इन्जिनियरिङ विषयमा स्नातक तहको तेस्रो वा चौथो वर्ष अध्ययन गरिरहेका दुईजना विद्यार्थी (एक छात्र र एक छात्रा) समेतको सहभागिता थियो।
सिम्पोजियममा आईटीयूका तर्फबाट विशेषज्ञ समूहले तयार पारेको विश्व दूरसञ्चार नीतिको मस्यौदा छलफलका लागि प्रस्तुत गरियो। एक्काइसौं शताब्दीको आलोकमा उक्त नीति तयार पारेको प्रस्तोताले जानकारी दिए। सहभागी संख्यालाई मध्यनजर गरेर नीतिउपर प्रतिनिधिमूलक तरिकाले मन्तव्य राख्ने ढाँचा अवलम्बन गरियो। यसक्रममा सहभागी विद्यार्थीको तर्फबाट मन्तव्य राख्ने पालो आयो। सहभागी विद्यार्थीमध्ये एक छात्र र एक छात्राको जोडीलाई मन्तव्य राख्न दिइयो। नेदरल्यान्डका छात्र र सुडानकी छात्रा रोस्ट्रममा उपस्थित भए। उनीहरू आलोपालो मिलाएर बडो आकर्षक तरिकाले मन्तव्य दिन थाले। मिनेटभरमै उनीहरूका शैली र शब्दले सहभागीको ध्यान आकर्षित भयो।
युवा खुम्चिनुपर्ने परिस्थिति अहिले दोहोरिन सक्छ। शीर्ष नेताले आफूले युवा उमेरमै राजनीति बदल्न भूमिका खेलेको बिर्सन मिल्दैन।
हल पूरै शान्त भयो। उनीहरूले मुख्य सन्दर्भलाई उठाउँदै भने– यो नीतिका मस्यौदाकार सबैजना उमेरले ५० पारिका हुनुहुन्छ। उहाँहरूको बाँच्ने आयु भनेको बढीमा ३०÷४० वर्ष हो। उहाँहरूको भविष्यप्रतिको चिन्तन र चित्र त्यही उमेरको सीमामा बाँधिएर यो नीति तयार पारेको हामीलाई लागेको छ। तर हामी के स्मरण गराउन चाहन्छौं भने हामी युवा तपाईंहरूभन्दा कम्तीमा दोब्बर उमेर बाँच्छौं। भविष्यप्रतिको माया र दायित्वबोध तपाईंहरूभन्दा हामीमा धेरै छ। त्यसैले युवाको सहभागिताबिना तर्जुमा गरिएको प्रस्तावित नीति अपूरो छ भन्ने लाग्छ।
विद्यार्थीका यी तार्किक मन्तव्यले हलमा सन्नाटा छायो। तत्काल विद्यार्थी प्रतिनिधिहरूलाई सम्मिलित गरेर सानो समूहमा मस्यौदा नीतिमा छलफल गर्ने आयोजकले जानकारी दिए। विद्यार्थी प्रतिनिधिसमेत सम्मिलित समूहले प्रस्तावित नीतिलाई परिमार्जन गरेर अर्को दिन उक्त नीतिलाई अन्तिम रूप दिने कार्य भयो। युवाको परिकल्पना र परिदृश्य (इम्याजिनेसन एन्ड भिजुलाइजेसन) को दूरी र दायरा फराकिलो हुन्छ। जुन कुराको उक्त दृश्य देख्ने साक्षी पंक्तिकार पनि थियो।
यो प्रसंग यहाँ जोड्नुको आसय के हो भने अहिले नेपालमा युवाको संख्या उच्च छ। जनसांख्यिक लाभ लिने समय छ। मुख्य कुरा युवालाई नेपालमै शिक्षादीक्षा र पेसा व्यवसायमा आकर्षित गर्न जरुरी छ। तर यो भइरहेको छैन। उर्वर समय विदेशमा खर्चिएर थोत्रो शरीरका साथ नेपाल फर्किने क्रम जारी रहने हो भने नेपालीको भविष्य अझ पीडादायी हुने पक्का छ। यो धरातलीय यथार्थमा युवाको अन्तरमनको आवाज सुन्ने र सम्बोधन गर्ने क्षमता युवामै बढी हुन्छ। सशरीर अहोरात्र खट्न सक्ने तागत युवामै हुन्छ। त्यसैले युवालाई नेतृत्वमा पुुर्याउन जरुरी छ। यसका लागि स्थानीय तहको निर्वाचनले अवसर सामुन्नेमा खडा गरिदिएको छ।
निर्वाचनमा उम्मेदवार उठाउने जिम्मा राजनीतिक दलमा छ। स्थानीय सरकारलाई बलियो बनाउन सके संघीयता बलियो हुन्छ। यही बोध आमजनतामा छ। प्रदेश र संघको काखमा रहेर काम गर्ने स्थानीय सरकारको अवस्था छ। स्थानीय तहमा युवाकै नेतृत्वले शीघ्र सेवा तीव्र विकास गर्न सक्छ भन्ने आमविश्वास छ। निवर्तमान हुन लागिरहेका जनप्रतिनिधिको कामको स्वतन्त्र मूल्यांकन गर्ने हो भने पनि यो तथ्य पुष्टि हुन्छ।
अहिले विदेशको समेत योग्यता र अनुभव हासिल गरेका, स्वदेशमा केही गरौं र नेपालको रूप बदलौं भन्ने आकांक्षा बोकेका युवा हरेक पालिकामा छन्। उहाँहरू निर्वाचनमा प्रतिस्पर्धा गर्न आतुर देखिनु हुन्छ। वास्तवमा राजनीतिक दलहरूले स्थानीय तहमा युवालाई उम्मेदवार बनाउने नीति बनाउने हो भने युवाको नेतृत्वले मुलुक जवान बन्न सक्छ। आशा गरौं, यसपालि स्थानीय तहहरूले युवा नेतृत्व पाउने छन्।