मधेश प्रदेशमा एमालेले बहुमत ल्याउँछ : ज्वालाकुमारी साह
कुनै समय नेकपा एमालेलाई मधेश विरोधीको रुपमा संज्ञा दिएको थियो। तर देशैभरि सक्रियताका साथ चुनावी अभियान चलाइरहेको एमाले यसपटक मधेशमा केन्द्रित भएको छ भने मधेशको ध्यान पनि एमालेमा केन्द्रित बनेको छ । पछिल्लो समयमा मधेशमा सबैभन्दा बढी आकर्षण भएको पार्टी एमाले बनेको चर्चा हुन थालेको छ भने अध्यक्ष केपी शर्मा ओली पनि पटक-पटक मधेश प्रदेशका विभिन्न कार्यक्रममा पुगेका छन् ।
स्थानीय निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्न एक हप्ताभन्दा कम समय छ। स्थानीय तहको निर्वाचन नजिक आएको समयमा एमाले मधेश विरोधी भ्रमलाई चिर्नका लागि नेकपा एमाले कति मात्रामा सफल भएको छ, मधेश प्रदेशमा एमालेको चुनावी रणनीति र प्रभाव कस्तो छ लगायतका विषयमा पार्टीका मधेश प्रदेश सह–ईन्चार्ज ज्वालाकुमारी साहसँग अन्नपूर्णकर्मी धनवीर महतोले गरेको कुराकानीको सम्पादित अंश :
स्थानीय तहको निर्वाचन नजिकिएको छ, मधेश प्रदेशमा एमालेको तयारीमा कस्तो रहेको छ ?
हाम्रो पार्टी स्थानीय तहको निर्वाचनको लागि यस मधेश प्रदेशमा पूर्णरुपमै तयारी अवस्थामा छौं। ८ वटा जिल्ला रहेको मधेश प्रदेशमा नयाँ उमंगको साथ नेता कार्यकर्ताहरु चुनावी अभियानमा लागिपरेका छन्। अहिले कार्यकर्ताहरु घरघरमा गई मत माग्ने काम गर्दैछन्। हर हर एमाले, घर घर एमालेको चुनावी अभियान अहिले मधेशको घरघरमा गुञ्जिदैछन्। जसको कारण हामी यस प्रदेशमा बहुमत ल्याएर पहिलो स्थान कायम गर्नेछौं।
कुनै समयमा एमालेलाई मधेश विरोधीको रुपमा संज्ञा दिएको थियो। तर तपाईं एमालेले मधेशमा पहिलो स्थानमा ल्याउनेछ भन्दै हुनुहुन्छ। कसरी सम्भव छ ?
विगतमा त्यस्तो भ्रम मधेश प्रदेशमा केही पार्टीका कार्यकर्तामा छिरेको थियो। तर पछिल्लो समयमा त्यो मानसिकतामा परिवर्तन भएको छ। अहिले यस्तो केही पनि छैन। एमालेले मधेश प्रदेशमा विकासका एजेण्डा ल्याएर त्यस भ्रमलाई चिर्नका लागि सफल भएका छन्। त्यस्तो संज्ञा यहाँका केही नेताहरुले आफ्नो स्वार्थनिहीतमा सिमित रहेको जनताले बुझिसकेका छन्।
केपी शर्मा ओली सरकारमा रहँदा मधेशमा गरेको विकासको कारण जनताहरु अहिले एमालेप्रति विश्वास गर्दैछन्। अहिले पनि विभिन्न पार्टीबाट निर्वाचित भएका मेयर, उपमेयरहरु हाम्रा पार्टीमा प्रवेश गर्नेको लहर जारी नै छ। अझ हामी जनताको नजिक पुग्दा उनीहरुको झुकाव एमालेतिर रहेको पाइन्छ। मधेशमा सबैभन्दा बढी आकर्षणको केन्द्रविन्दुमा रहेको पार्टी एमाले बनेको छ। हामीले मधेश प्रदेशलाई एमालेमैत्री प्रदेश बनाउनका लागि केही कसर बाँकी राखेको छैनौं। म ठोकुवाको साथ भन्छु एमाले यस प्रदेशमा निश्चित रुपमा जनमत पाउनेछ।
मधेश प्रदेशमा पार्टीलाई मजवुत बनाउनका लागि चुनावी एजेण्डाहरु के- के रहेका छन् ?
हामीले स्थानीय तहको आवश्यकतालाई मनन गर्दै चुनावी एजेण्डाहरु राखिएका छौं। जसमा हरेक स्थानको फरक-फरक हुन सक्छ। स्थानीय तह चुनाव केन्द्रित गरी पार्टीले राष्ट्रिय एजेण्डाहरु अनिवार्य रुपमा समावेश गरिएको छ। जसमा शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, आवासजस्ता विषयवस्तुहरु समावेश रहेको छ। हाम्रा चुनावी एजेण्डामा शिक्षाको आधारलाई मजवुत बनाउनुको साथै सरल, सुलभ स्वास्थ्य नीतिलाई राखेका छौं।
त्यस्तै किसानहरुको हकमा मलखाद्य, बीउविजन, आवश्यक मात्रामा सिंचाईको व्यवस्थापन, विदेशिएकालाई स्वदेशमा ल्याएर स्वरोजगारीको अनेकौं मुद्दाहरु समावेश गरिएका छौं। त्यस्तै अधुरा रहेका गरिबी आवासलाई अनिवार्यताको साथ पूरा गरिने नीति लिएका छौं। अन्तर्राष्ट्रिय विमानस्थल र फाष्ट ट्रयाक बनिरहेको छ। औद्योगिक करिडोरहरू अघि बढेका छन्। हुलाकी मार्ग बनाउने काम ओलीजीको पालामा भएको थियो। त्यसैले हामीसँग प्रष्ट र धेरै एजेण्डा छन्। त्यसअनुसार एकचोटि हामीलाई अवसर दिनुस् भनेर जनताको घरघरमा जान्छौं।
वर्तमान परिवेशमा एमालेका तत्कालीन वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालको अभाव महसुस कति मात्रामा भइरहेका छन् ?
त्यस्तो केही छैन्। हामी पहिलेभन्दा अहिले बलियो र मजवुत भइसकेका छौ। उहाँहरु रहेपनि नरहेपनि पार्टीलाई केही फरक परेको छैन। किनकी उहाँहरु नहुँदा काम गर्नका लागि हामीलाई सजिलो भएको छ। कुनै बाधा व्यवधान छैन। निर्वाध रुपमा पार्टीले रणनीति अनुसार जनमैत्री कार्य गर्दै आएका छन्।
रौतहटको कुरा गर्दा त्यहाँका पुरानो नेता नेपाल बाहिरिएका छन् भने प्रभु साहले एमालेको कमाण्ड गर्दैछन्। यसले रौतहटको राजनीति कति मात्रामा उतारचढाव बनेको छ ?
राजनीति हो जसमा उतारचढाव त नहुने कुरै छैन। पार्टी प्रवेश र पार्टी परित्याग गर्ने लहर त चलि नै रहन्छ। तत्कालीन एमाले नेता माधवकुमार नेपाल र अहिलेको नेता प्रभु साह दुवैको गृह जिल्ला रौतहट रहेको छ। माधवजी पार्टी छाडेर जानु भयो भने प्रभु साहजी माओवादी परित्याग गरि एमालेमा प्रवेश गर्नुभएको छ। यसले निश्चित रुपमा केही न केही रुपमा उतारचढावको त भएकै हो तर यसले पार्टीलाई केही नोक्सानी गरेको छैन। अन्य नेताहरु यस पार्टी प्रवेश गरिएपछि अहिले रौतहटमा नेकपा एमाले भने बलियो भएको छ। प्रभु साहको भूमिकाले गर्दा रौतहटमा पार्टीलाई धेरै नै फाईदा भएको छ।
अन्त्यमा मधेश प्रदेशमा एमालेले चुनावी गठबन्धन गर्छन् कि ?
त्यस्तो आवश्यकता छैन। हाम्रा पार्टीले एक्लै पनि चुनावी मैदानमा उत्रनका लागि तयार रहेको छ। देशका अन्य स्थानमा राप्रपासँग गठबन्धन गरेका एमालेले मधेश प्रदेशमा कसैसँग चुनावी साँठगाँठ गर्दैनन्। किनकी गठबन्धनसँग एक्लै लड्नका लागि तयार छन्। म सम्पूर्ण आम नागरिकलाई आग्रह गर्न चाहन्छु अहिले चुनावको समयमा बहुरुपियासँग सावधान रहनुहोला। उनीहरु यहाँलाई भ्रममा फसाई मतको दुरुपयोग गर्न सक्छ। तसर्थ सावधान रहि मतदान गर्नुहोला।