मधेश प्रदेश : केन्द्रमा निर्णय नहुँदा प्रदेशमा समस्या
जनकपुरधाम : वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका पाँच दलबीच तालमेलको निरन्तर संवाद जारी छ। महानगर र उपमहानगरको बाँडफाँडका लागि केन्द्रमा सत्ता गठबन्धनको बैठक केन्द्रित छ। तर प्रदेश तथा स्थानीय तहमा भने बाँकी स्थानीय तहहरुमा समेत कुरा नमिल्दा तालमेलको सम्भावना दिनदिनै क्षिण हुँदै गएको हो।
तालमेल गर्ने उद्देश्यका साथ पटकपटक मधेस प्रदेशमा गठबन्धनको बैठक बसेपनि बैठकबाट खासै प्रगति हुन सकेको छैन्। यसअघि नै पाँच दलीय गठबन्धनबाट अल्लिगिएर जनकपुरधाम उपमहानगरमा कांग्रेस एक्लै निर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ। यद्यपि कांग्रेसी नेताहरुले गठबन्धनबाट बाहिरिएको नभएर पार्टी भित्र थप आन्तरिक छलफलका चलिरहेको मधेश प्रदेशका मन्त्री रामससारेज यादवले बताए।
मधेस प्रदेशमा सत्तारुढ दलका नेताहरु तालमेल गर्नका लागि प्रयासरत रहेपनि पनि केन्द्रमा कुनै ठोस निर्णय नहुँदा तालमेल बारे ठोस निर्णयमा पुग्न कठिनाई भईरहेको नेताहरुको भनाई छ। गठबन्धनमा आवद्ध दलहरु मधेश प्रदेशमा केन्द्रको निर्णय कुरिरहेको छ। प्रदेशमा पनि गठबन्धनका दलबीच निरन्तर छलफल त भइरहेको छ तर चुनावी तालमेलका विषयमा निष्कर्षमा पुग्न कठिन भइरहेको एक नेताको भनाई छ।
पछिल्लो स्थानीय तहमा जितेका पालिकाहरुमा दलहरुले आफ्नो दावी नछोडेपछि समेत तालमेलको विषय टुंगोमा पुग्न नसकेको हो। नेकपा एमाले र तत्कालिन राजपाले जितेको पालिकाहरुमा केन्द्रित भएर विशेष छलफल भएको माओवादी केन्द्र मधेश प्रदेशका अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिए। उनले भने, ‘गठबन्धनको बैठकमा आठवटै जिल्लामा एमाले र तत्कालिन राजपाले जितेको स्थानीय तहको विषयमा गहन छलफल भएको छ तर ठोस कुनै निर्णयमा पुग्न सकिएको छैन।’