पल शाह प्रकरण : नाबालिकाका बुवाले पनि बयान फेरे
तनहुँ : नायक पल शाह विगत २८ दिनदेखि जिल्ला कारागार तनहुँमा छन्। जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत तनहुँले गत चैत १० गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनी बन्दी जीवन बिताइरहेका छन्।
नवलपुर जिल्ला अदालतले पनि चैत २३ गते शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। पछिल्लो समय पल शाह प्रकरणमा नयाँ ट्वीस्ट आएको छ। झुटो प्रेमको बहाना गरेर पलले पोखरा, तनहुँ र नवलपुरमा पटक पटक बलात्कार गरेको जाहेरी दिएकी नाबालिक गायिका र उनका बुबालेसमेत बयान फेरेका छन्।
मंगलबार जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले छोरीको कुरालाई आधार मानेर जाहेरी दिएको बताएका छन्। उनले जबरजस्ती करणी भएको होइन भनेर बयान दिएका हुन्। ‘जाहेरीवालाको बकपत्र होस्टाइल भयो। पहिला जाहेरीमा जे उल्लेख थियो। ठ्याक्कै विपरीत बयान दिएका छन्’, जिल्ला अदालत तनहुँका श्रेस्तेदार मीनबहादुर कुँवरले भने, ‘जाहेरीमा गरेको दस्तखत भने आफ्नै रहेको स्वीकार गरेका छन्।’ मंगलबार उपस्थित नभएका सरकारी पक्षकालाई झिकाउन पेसी तोकिएको श्रेस्तेदार कुँवरले जानकारी दिए। मंगलबार नै गायक दुर्गेश थापाले पनि बकपत्र दिएका छन्। ‘दुर्गेशजीले बयानका क्रममा दुई जनाको बिषयमा के–के भयो मलाई थाहा छैन। मैले सुनेको मात्र हुँ भने’, कुँवरले भने।
आइतबार नै पीडित नाबालिकाले बकपत्र दिने क्रममा जाहेरीमा उल्लेखित विवरणहरूमा सत्यता नभएको बयान दिएपछि पल शाह प्रकरणमा तरंग पैदा भएको थियो। पीडितले आफूले दबाबमा आएर त्यस्तो आरोप लगाएको बताएकी थिइन्। पीडितको उमेर नपुगेकाले संरक्षकको बयानले अर्थ राख्ने भन्दै उनका बुबाको बकपत्र के आउँला भन्ने चासो थियो। जाहेरी दिने बुवाले नै बयान फेरेपछि पलका समर्थकहरूले सत्यता खुल्दै गएको भन्दै खुसी व्यक्त गरेका छन्। अदालतको आदेश बदर गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता भइसकेको छ।
जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले प्रमाण संकलन भइरहेकाले अहिले नै यसै भनिहाल्ने अवस्था नभएको बताए। ‘अन्य प्रमाणहरू संकलन हुँदैछ। हाम्रो तर्फबाट हामीले बकपत्र दिएका छौं। फैसला अदालतले गर्ने हो’, उनले भने, ‘अहिले नै यही हुन्छ भन्न सकिँदैन।’
नेपाल बार एशोसिएसन तनहुँका अध्यक्ष भानुभक्त सुवेदीले पीडितको संरक्षक बुबाले समेत बयान फेरेपछि पल शाहलाई केही सहज भएको बताए। ‘घटना भएको घरबेटीको पनि बकपत्र लिन बाँकी छ। प्रमाणहरू संकलन गरेर सम्रग मूल्यांकन हुनुपर्छ’, उनले भने। अध्यक्ष सुवेदीले नवलपुरमा हुने बकपत्रमा जाहेरीवाला, कागज गर्नेहरू कसरी प्रस्तुत हुन्छन् भन्ने विषयले पनि अर्थ राख्ने बताए। ‘भोलिबाट नवलपुरमा बकपत्र सुरु हुँदैछ। त्यहाँ उहाँहरू कसरी प्रस्तुत हुनुहुन्छ। त्यहाँको बयानले पनि अर्थ राख्छ’, उनले भने।