मधेशमा हजार बढी 'अति संवेदनशील' मतदान केन्द्र, सुरक्षा चुनौती बढ्यो
जनकपुरधाम : स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर मधेश प्रदेशका अधिकांश मतदान केन्द्रहरुलाई अति संवेदनशील मतदान केन्द्रको सूचीमा राखिएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई मधेश प्रदेशमा सबैभन्दा बढी मतदान केन्द्रलाई अति संवेदनशील मतदान केन्द्रको सूचीमा राखिएको हो ।
प्रदेशको ८ वटै जिल्लाको सुरक्षा समितिको सिफारिसका आधारमा सबैभन्दा बढी मधेश प्रदेशमै अति संवेदनशिल मतदान केन्द्र पर्न गएको हो । निर्वाचन आयोगले मतदान केन्द्रहरुलाई सामान्य, संवेदनशील तथा अति संवेदनशील गरी ३ तहमा वर्गीकरण गरेको छ ।
मधेस प्रदेशमा २ सय १२ सामान्य मतदान केन्द्र, ८ सय ८८ संवेदनशील मतदान केन्द्र र १ हजार ६३ अति संवेदनशील मतदान केन्द्र निर्धारण गरिएको छ । सप्तरीमा २०८, सिरहामा १७०, धनुषामा १८३, महोत्तरीमा ११०, सर्लाहीमा १०३, रौतहटमा ८३, बारामा ६२ र पर्सामा ६२ वटा मतदान स्थल अति संवेदनशील मतदान केन्द्र तोकिएको छ । त्यस्तै सप्तरीमा ८५, सिरहामा ४६, धनुषामा ११६, महोत्तरीमा १४५, सर्लाहीमा १८४, रौतहटमा ११९, बारामा १०८ र पर्सामा ८५ वटा मतदान स्थललाई संवेदनशील सूचीमा राखिएको छ ।
सप्तरीमा ४, सिरहामा ५, धनुषामा २४, महोत्तरीमा ३, सर्लाहीमा ३१, रौतहटमा ७४, बारामा ५१ र पर्सामा २० वटा मतदान स्थल सामान्य सूचीमा रहेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ । विगतको चुनावमा निर्वाचन विथोलिएको र झडप समेत भएको मतदान स्थलहरुलाई सुरक्षा निकायले अति संवेदनशील सूचीमा राखेको हो । मधेश प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारले विगतमा भन्दा अहिले सुरक्षा चुनौती बढेको बताए । उनले भने, 'अहिले विप्लव नेतृत्वको नेकपा, जनमत पार्टी र स–साना समूहका कारण सुरक्षा थ्रेट बढेको छ ।'
खुला सिमानाका कारण स–साना हातहतियारले सुरक्षा चुनौती रहेको बताउँदै उनले यसका लागि सो क्षेत्रहरुमा निर्वाचनको ७२ घण्टा अगाडिदेखि नै पूर्णरुपले आवतजावत बन्द रहने जानकारी दिए । उनले प्रदेशका सबै जिल्लाहरुमा प्रहरीले सतर्कतापूर्वक काम भइरहेको बताए । विप्लव नेतृत्वको नेकपाको गतिविधि र खुला सिमानाबाट हतियार ओसारपसार हुँदा उत्पन्न हुनसक्ने सुरक्षा चुनौतिका कारण मधेशका धेरै मतदान स्थललाई ‘अति संवेदनशील’सूचीमा राखिएको रञ्जितकारले बताए ।
सत्ता गठबन्धन र विपक्षी दलसँग हुन सक्ने सम्भावित झडपलाई ‘थ्रेट’को रुपमा विश्लेषण गरिएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ । स्थानीय तह निर्वाचनका लागि मधेश प्रदेशमा ३३ लाख ३१ हजार १७० जना मतदाता कायम गरिएको छ । प्रदेशमा १७ लाख ९७ हजार ९४५ पुरुष, १५ लाख ३३ हजार १५८ महिला र अन्य ६६ गरी कूल ३३ लाख ३१ हजार १७० जना मतदाताले मतदान गर्न पाउने छन् ।
प्रदेशभर २ हजार १ सय ६३ मतदान स्थल कायम गरिएको छ भने ४ हजार १ सय ८९ मतदान केन्द्र निर्धारण गरिएको प्रादेशिक निर्वाचन कार्यालयका अधिकारी श्रीधर पन्थीले जानकारी दिए । सप्तरीमा २९७ मतदानस्थल र ५३६ मतदान केन्द्र, सिरहामा २२१ मतदानस्थल र ४९८ मतदान केन्द्र, धनुषामा ३२३ मतदानस्थल र ५९३ मतदान केन्द्र, महोत्तरीमा २५८ मतदानस्थल र ४९७ मतदान केन्द्र निर्धारण गरिएको छ ।
त्यस्तै, सर्लाहीमा ३१८ मतदानस्थल र ५९९ मतदान केन्द्र, रौतहटमा २७६ मतदानस्थल र ५१८ मतदान केन्द्र, बारामा ३०३ मतदानस्थल र ५४१ मतदान केन्द्र तथा पर्सामा १६७ मतदानस्थल र ४०४ मतदान केन्द्र निर्धारण गरिएको छ ।