रुकुम पश्चिममा माओवादी केन्द्रका सबै उम्मेद्वार सहमतिमा छनौट
जाजरकोट : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रुकुम पश्चिमले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा जिल्लाका सबै पालिकामा प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षका उम्मेद्वारहरु टुङ्गो लगाएको छ। उम्मेद्वारहरुमा सबै नयाँ अनुहार रहेका छन्।
गठबन्धनको निर्णय कार्यान्वयन गर्नुपरे जुनसुकै उम्मेद्वारलाई पनि फिर्ता बोलाउन सकिने निर्णयसमेत गरेको छ। २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा तीन नगरपालिका र तीन गाँउपालिका सबैमा माओवादी केन्द्रका उम्मेदवारले विजय हासिल गरेका थिए।
माओवादी केन्द्रले चौरजहारी नगरपालिकामा प्रमुखमा पुष्प वादी र उपप्रमुखमा इश्वरी कुमारी शर्मा विएम, आठविसकोट नगरपालिका प्रमुखमा रवि केसी र उपप्रमुखमा धन कुमारी शाही, मुसिकोट नगरपालिकामा प्रमुखमा वसन्त शर्मा र उपप्रमुखमा मिलन खड्कालाई चयन गरेको छ।
त्यस्तै सानीभेरी गाउँपालिका अध्यक्षमा बिर्ख बहादुर विष्ट र उपाध्यक्षमा कमला रोका पुन, त्रिवेणी गाउँपालिका अध्यक्षमा गणेश कुमार केसी र उपाध्यक्षमा राजकुमारी रेउले, बाँफिकोट गाउँपालिका अध्यक्षमा चन्द्रबहादुर केसी र उपाध्यक्षमा तारा बुढा केसी निर्विरोध छनौट भएको माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोकाले बताए।
माओवादी केन्द्रको बैठकले जिल्ला समन्वय समिति प्रमुख पदको लागि महिला उम्मेद्वार बनाउने र गठबन्धनको निर्णय कार्यान्वयन गर्नको लागि आवश्यक परेमा जोकोहीको पनि उम्मेद्वारी फिर्ता हुनसक्ने निर्णय गरिएको जिल्ला संयोजक रोकाले बताए। उनका अनुसार माओवादी केन्द्रले २०७४ सालमा निर्वाचित कुनै पनि जनप्रतिनिधीलाई नदोहरयाउने निर्णय गरेको छ।