ऐतिहासिक सिन्धुलीगढी दरबारको पुननिर्माण अन्तिम चरणमा
सिन्धुली : ऐतिहासिक सिन्धुलीगढी दरबार (रानीदरबार) को पुनर्निर्माणले तिव्रता पाएको छ। पुरानै शैलीमा निर्माण थालिएको दरबारको काम झण्डै ८० प्रतिशत सम्पन्न भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका-३ मा रहेको सिन्धुलीगढी दरबार ४ करोड ३८ लाख ९९ हजार ५ सय २२ रुपैयाँको लागतमा पुनर्निर्माण थालिएको थियो।
कमलामाई नगरपालिका सिन्धुली र वाग्मति प्रदेश सरकार पर्यटन विकास आयोजनाले १६ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी दरबारको निर्माण थालेको हो। अबको दुई महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी काम भईरहेको कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले जानकारी दिए।
दरबारको पुननिर्माणको जिम्मा तुल्सी/एरिसा जेभि भक्तपुरले पाएको कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले जानकारी दिए। ‘यसको पुनर्निर्माण कार्य २०७९ जेठ १६ गते भित्र सक्नेगरी ठेक्का लगाइएको हो यही गतीमा काम भए समयमा नै सकिन्छ,’ उनले भने।
पूर्व २ नं क्षेत्रको प्रशासन सञ्चालन गर्ने अड्डाकोरुपमा परिचित गढीदरबार तत्कालिन श्री ३ माहाराज जंग बहादुर राणाका भाई बम बहादुर राणाका छोरा बमवीर विक्रम राणाले निर्माण गरेका हुन्। सिन्धुलीगढी किल्ला नेपाली विर गोरखालीहरुको फौजको नेतृत्व गर्ने श्रीहर्ष पन्त, बंशराज पाण्डे र बंशु गुरुङले विसं १८२४ कात्तिक २४ गतेका दिन साम्राज्यवादी व्रिटिस अंग्रेज फौजलाइ परास्त गर्दै नेपालको सार्भभौम र अखण्डता जोगाएको ऐतिहासिकस्थल हो।
२००४ सालमा राणा शासनको अन्त्यपछि गढी दरबारलाई राष्ट्रिय स्वामित्वमा ल्याइएको थियो। २०२० सालमा जिल्ला सदरमुकाम सिन्धुलीमाढी झारीएपछि दरबार भग्नावशेषमा परिणत भएको थियो। २०२० साल अघि सिन्धुली जिल्ला सदरमुकाम सिन्धुलीगढीमै थियो। उक्त समयमा नेपाली सेना, प्रहरीले सुरक्षा दिइएको थियो। २०५२ सालमा तत्कालीन माओवादीले सिन्धुलीगढीमा रहेको प्रहरी चौकी माथि आक्रमण गरेर शसस्त्र जनयुद्धको उद्घोष गरेपछि त्यस यता त्यहाँ सुरक्षा पोष्टसमेत स्थापना गर्न सकिएको छैन्।
तर स्थानीय तहको निर्वाचनपछि कमलामाई नगरले सिन्धुलीगढीलाई प्राथमिकतामा राखेर पुनर्निर्माण थालेको थियो। सोही अनुसार सिन्धुलीगढी दरवारको ऐतिहासिक, पुरातात्विक महत्वलाई ध्यानमा राखेर दरबारको पुरानै शैलीमा हुबहु निर्माण भइरहेको मेयर खत्रीको भनाई छ।
सिन्धुलीगढीलाई अन्तरराष्ट्रिय गन्तव्य बनाउने उद्धेश्यका साथ गढीमा नेपालमै पहिलो युद्ध संग्राहलय निर्माण भइ संचालनमा छ। पृथ्वीनारायण शाहको शालिक स्थापना, पिकनीक स्पोट, घेराबेरा लगायतका काम सकिएका छन् भने नेपाल अंग्रेज युद्धका क्रममा बृटिस अंग्रेजहरुको मुत्यु भएको स्थानमा समाधिस्थलको निर्माण गर्ने कार्य थालिएको छ।
सिन्धुलीगढी पर्यटन वर्ष २०२० का लागि सरकारले घोषणा गरेका उत्कृष्ठ एक सय पर्यटकीय गन्तव्य स्थलमध्येको एक स्थल हो। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिन्धुलीगढीबाटै पर्यटन वर्ष २०२० को शुभारम्भसमेत गरेका थिए।
बहादुर गोर्खाली फौंजका कारण नेपाललाई नै व्रिटिसहरुको उपनिवेश हुनबाट जोगाएको ऐतिहासिक स्थल भएकै कारणपनि सिन्धुलीगढीको ऐतिहासिक महत्व रहेको जानकारहरु बताउँछन्।