सुसंस्कृत जीवनलाई स्वस्थ राजनीति
सर्वदा व्यवहारे स्यात् औदार्यं सत्यता तथा।
यसको अर्थ हो, व्यवहारमा सधैं उदारता, सत्यता, सरलता र मधुरता हुनुपर्छ। व्यवहारमा करुणा हुनुपर्छ, कटुता होइन। जीवनलाई सु–संस्कृत एवं सभ्य वातावरणमा जिउन पाउनु मानिसको आधारभूत आवश्यकता हो। घर, संस्था, कार्यालय, विद्यालय, राजनीतिक क्षेत्र सबैको वातावरण अनुकूल व्यवहारले मात्रै व्यक्तिको जीवन र राष्ट्र दुवैमा विकासको अनुभूति गर्न सकिन्छ। कसैको घरको वातावरण शान्त, प्रेमल, हुन्छ भने कुनैकोमा झैंझगडा मात्रै भइरहेको भेट्छौं।
राजनीतिक वातावरण राम्रो भएको देशहरूका नागरिकमा इमान्दारिता, र सहयोगी भावना भेटिन्छ। भ्रष्ट वातावरणमा हुर्केका व्यक्तिबाट इमानदारिताको परिणाम खोज्नु कठिन हुन्छ। भ्रष्ट संस्कारकै कारण राजधानीका सडकमा आन्दोलन भइरहेका छन्। संस्कृति जहिले पनि उच्चतम तहमा रहन्छ। हामीले कस्तो वातावरण सिर्जना गरेका छौं ? त्यो महत्वपूर्ण पक्ष हो। नकारात्मक वातावरणभित्र सकारात्मक व्यवहारको अपेक्षा गर्न गाह्रो हुन्छ। जहाँ असभ्य समाज र व्यवहार हुन्छ, त्यहाँ अराजक कानुन बन्छ।
व्यक्तिमा मनोवृत्ति निर्धारण गर्ने कारकहरू
यदि हाम्रो वातावरणले जीवनमा नकारात्मक दृष्टिकोण र अभ्यास अघि बढेका छन् भने परिवर्तनको जरुरी रहन्छ। हाम्रो मनोवृत्ति निर्धारण गर्ने मुख्यतयाः तीनवटा कारणहरू छन। जसमा वातावरण, अनुभव र शिक्षा प्रमुख रहन्छन्।
वातावरण
घर, विद्यालय, कार्यालय, जहाँसुकै राजनीतिक परिवेशको वातावरणले भूमिका खेलिरहेको हुन्छ। प्राकृतिक वातावरण र सांस्कृतिक वातावरण दुवैले मानव जीवनमा महत्व राख्छन्। प्रकृति, नदीनाला, स्वच्छता, अनि प्रदूषित वातावरणले जसरी बाहिरी जीवनमा प्रभाव पारेको हुन्छ, त्यसैगरी प्रदूषित सोचले आन्तरिक मन, चेतना र जीवनशैलीमै प्रभाव पारेको हुन्छ। नकारात्मक सांस्कृतिक वातावरणले व्यक्ति, समाज र राष्ट्रमै अशान्ति सिर्जना गरेको हुन्छ। खराब मानसिक सोचका कारणले स्वयंको मानसिकतामा पनि अशान्ति सिर्जना गरिरहेको हुन्छ। सुरक्षा, शान्ति, करुणा, सभ्यताजस्ता गुण आन्तरिक र बाह्य दुवै प्रकृतिको लागि आवश्यक छन्।
अनुभव र संस्कार
प्रत्येक व्यक्तिले आफ्नो वातावरणअनुसार सँगालेको अनुभव र घटनाहरूले उनीहरूको जीवनशैली र व्यवहारमा असर गरेको हुन्छ। सुन्दर, न्यायमूलक, समतामूलक, करुणावान्, प्रेमल संस्कार र जीवनशैली पाएका व्यक्तिसँग सकारात्मक अनुभव हुन्छ। उनीहरूप्रतिको हाम्रो मनोवृत्ति पनि सकारात्मक बन्छ। त्यसैले भन्ने गरिन्छ नि, घरबाटै सु–संस्कृत र सभ्य व्यवहार सिकाउन सक्यौं भने भविष्यमा सभ्य नेतृत्वको निर्माणमा सघाउ पुग्दछ।
अन्यथा निमको बीउ रोपेर आँपको फल खोज्नु जस्तै हुन्छ। जीवनमा जस्तो संस्कारबाट जस्तो अनुभव हासिल भएको हुन्छ, त्यसअनुरूप व्यक्तिले समाजमा देखाउने व्यवहार र अभ्यासको विकास हुन्छ। आजको राजनीतिक अभ्यासको क्रियाकलाप हिजो सिकाइएको संस्कार र त्यसलाई अनुसरण गर्दै गएको अनुभवको परिणाम मान्न सकिन्छ कि ? संस्कारलाई सु–संस्कृत बनाउन सकिन्छ। सुधारको आवश्यक पर्छ। सुधारिएको राजनीतिक अभ्यास नै विकासको मापन बन्न सक्छ। त्यसैले अनुभव र संस्कारले हानिकारक अभ्यासमा प्रेरित गर्छ भने त्यसबाट रूपान्तरित भएर माथि उठ्नु जरुरी छ।
शिक्षा
व्यक्तिको जीवन विकासमा औपचारिक र अनौपचारिक दुवैथरीको शिक्षाले महŒवपूर्ण भूमिका खेलेको हुन्छ। शैक्षिक योग्यता मात्र शिक्षा होइन। व्यक्तिले सिकेका र योगदान पु¥याएका आधारमा उसको विवेक र सभ्यताले शिक्षित व्यक्तिको परिचय दिन्छ। मनोवैज्ञानिक ज्ञानले बुद्धि र विवेकमा सकारात्मक रूपान्तरण ल्याउन सघाएको हुन्छ। जसको माध्यमले सफलता सुनिश्चित गर्दछ। हामीसँग बाहिरी जानकारी र सूचना प्रशस्त छन् तर आन्तरिक ज्ञान, समझ र विवेकको सधैं अभाव र अपूर्णता महसुस हुन्छ। जीवनयापन, दलगत राजनीति र समय सहजतासँग बिताउन मात्र शिक्षा लिने होइन। जीवन कसरी शान्त, संयम, करुणावान् भएर बाँच्न र समाजमा सकारात्मक योगदान दिन सकिन्छ, त्यो ज्ञान शिक्षाको रूपमा विकास भएको हुनुपर्छ। नकारात्मक मानसिकता, अस्वस्थ शरीर जस्तै नै हुन्छ।
त्यसैले मनोवृत्ति विकास गर्ने खालको शिक्षाले वास्तविकता र यथार्थतालाई महसुस गराई रूपान्तरण गराउँछ। शिक्षा त्यस्तो हिस्सा हो, जसले उत्पादकत्व वृद्धिमा योगदान देओस। सकारात्मक नेतृत्व क्षमताको विकास गरोस्। समस्या समाधानको लागि उचित पहल गर्न सकोस्। व्यक्तिगत विकास, सामाजिक विकास र नेतृत्व विकासमा गुणस्तरीयताको विकास गर्न सकोस्। अनुकूल वातावरणको निर्माणसहित वफादारिताको विकास होस्। किनकि नकारात्मक मनोवृत्ति विकासको बाधक बन्दछ। तनाव, क्रोध, लालच, द्वेष सबै नकारात्मक मनोवृत्तिका परिणाम हुन्। त्यसैले पनि आजको समाज कता जाँदैछ ?
सडकमा, आन्दोलनमा, राजनीतिक दलका नेतृत्व र कार्यकर्तामा मात्र खोजेर भेटिन्न। प्रत्येक व्यक्तिको मनोविज्ञान, संस्कार, अभ्यास र जीवनशैली आचरणमा खोज्नु जरुरी छ।
सदाचारको गुण
सत्+आचार मिलेर सदाचार शब्द बनेको छ। सत्यको आचरण गर्नु सदाचार हो। सही आचरण, शिष्ट व्यवहार, अनुशासित जीवनशैली नै सदाचार हो। यसलाई जीवनमा अपनाउन के चिजले बाधा पार्दछ ? किन व्यक्ति सदाचारी बन्न सक्दैन ? जबकि सबैलाई थाहा छ– जीवनमा सदाचारको गुण जत्तिको महŒवपूर्ण आर्जन अरू हुन सक्दैन। धन, सम्मान, शिक्षा, पदभन्दा ठूलो सम्पत्ति हो, सदाचार। किनकि सदाचार व्यक्तिमा नै धैर्य र संवेदनशीलताको विकास भएको हुन्छ। संवेदनशील र धैर्यवान् व्यक्तिले गरेको कार्य सदाचारको गुणले भरिएको हुन्छ। अनि, त्यही कार्य सफल हुन्छ। र अस्तित्वको अनि समाजको नियम भनेकै सदाचार हो। त्यसैले सफलता प्राप्तिको लागि सदाचार नै महत्वपूर्ण छ। आत्मबलको अभाव, आत्मीयताको अभाव, वैरभाव र दुष्ट प्रवृत्ति राजनीति हो भनेर बुझ्न थालिएको आजको दिनमा आफ्नो गुणवत्ता विकास गरी सामाजिक हितमा कार्य गर्नको लागि सदाचारमा स्थित रहन सक्नुपर्छ।
झुट, बेइमानी, भ्रष्टाचारले धन मिल्ला, बाहिरी सम्मान पनि मिल्ला तर आत्मसम्मान मिल्दैन। सत्यतामा, सदाचारमा, इमान्दारिताको आचरणमा स्थित व्यक्तिको जीवनमा जतिसुकै सुख–दुःख र अनुकूलता या प्रतिकूलता आए पनि विचलित हुँदैन। मानसिक रूपले सन्तुष्ट, मानवीय गुणले करुणावान, व्यक्तिगत रूपमा खुसी, स्वस्थ र आनन्दित रहन धेरै धन–सम्पत्ति होइन, सदाचारी भए पुग्छ।