चाइनीज पेस्तोलसहित एकजना पक्राउ
महोत्तरी : चाइनीज पेस्तोलसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ वर्दिवास नगरपालिका १३ विजलपुरावजारबाट स्थानीय २८ वर्षीय लालबाबु भण्डारीलाई एक थान चाइनीज पेस्तोलसहित नियन्त्रणमा लिएको हो । विवाहको गाडीमा तोडफोड गर्न थालेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उनको साथबाट १ थान अटोमेटिक चाइनिज पेस्तोल, सोको म्याग्जीन १ थान र पेस्तोलमा लोड भएको मिस फायर गोली १ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
पक्राउ परेका भण्डारीलाई इलाका प्रहरी कार्यालय बर्दिवासमा राखी थप अनुसन्धान भइरहेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी प्रकाश विष्टले जानकारी दिए।