ड्युटीमा रहेकी सैनिक जवानले आफैँलाई गोली हानिन्
काठमाडौं : नेपाली सेनाको कपिलबस्तु स्थित शमसेरदल गणमा कार्यरत सिपाही कोपिला राजवंशीले आफैंलाई गोली हानेर आत्महत्या गरेकी छन्। नेपाली सेनाका प्रवक्ता नारायण शिलवालका अनुसार उनले बुधबार साँझ ६ बजेतिर आत्महत्या प्रयास गरेकी हुन्।
झापा गौरादह १ की २४ वर्षीया कोपीला राजवंशी झन्डै ४ वर्षअघि नेपाली सेनामा भर्ती भएकी थिइन्। सिलवाल भन्छन्, 'ड्युटीमा रहेको बेलामा आफूले बोकेको 'एम १६' राइफलबाट गोली प्रहार गरी आफैँलाई मार्ने प्रयास गरेकी थिइन्।
गोली प्रहारबाट गम्भीर घाइते भएकी राजवंशीलाई तत्कालै उद्धार गरी उपचारको लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो।
उनको छातीबाट छिरेको २ गोली पिठ्युबाट निस्किएको थियो। उनलाई थप उपचार भैरहवास्थित मेडिकल कलेजमा लगिएको थियो। उपचारकै क्रममा बिहीबार बिहान ५ बजेर १७ मिनेट जाँदा उनको मृत्यु भयो। घटनाको बारेमा अनुसन्धान भैरहेको सिलवालले जानकारी दिए।