पारिवारिक व्यवसाय हाँक्दै युवा उद्यमी आदित्य दुगड
अधिकांश पारिवारिक घरानाको व्यवसायमा दोस्रो पुस्ताको प्रवेश हुन थालेको छ। अन्तर्राष्ट्रिय स्तरबाट अध्ययनपछि नोपल फर्किएर पारिवारिक व्यवसाय हाँक्दै आएका यस्तै एक उदाहरण हुन् आदित्य दुगड। करिब ३ दशकअघि मोतीलाल दुगडले स्थापना गरेको सेञ्चुरी ग्रुप अफ कम्पनीले एउटा उचाइको मोड लिएसँगै अब उनका छोराले पनि साथ दिएका छन्।
सन् २००५ मा नेपालमा बन्द, हड्तालजस्ता अस्थिर अवस्था भएकाले परिवारको सुझावअनुसार कक्षा ६ देखिको अध्ययन भारतबाट गरे। सन् २०१५ मा उच्च शिक्षा हासिल गर्न अष्ट्रेलिया पुगेका उनले एकाउन्टेन्ट एण्ड फाइनान्समा स्नातक गरे। व्यवस्थापनमै स्नातकोत्तर गर्न उनी लण्डन गए। त्यहाँको पढाई सकाएर नेपाल फर्किएसँगै ६ वर्षदेखि पारिवारिक विजनेश सम्हालिरहेका कम्पनीका निर्देशक दुगडसँग अन्नपूर्णकर्मी ममता थापाले गरेको कुराकानी।
तपाईँ अध्ययनको सिलसिलामा युरोपमा जानु भयो। युरोप, अमेरिका पुगेपछि युवाहरु प्रायजसो पलायन हुन्छन्। नेपाल फर्किँदैनन्। तपाइँलाई विदेशी मोहले छोएन?
विदेशमा पढ्न जानुअघि नै पढाइ सकेर नेपाल फर्किने सोँच बनाइसकेको थिएँ। त्यहाँ काम गर्नुभन्दा नेपालमै पारिवारिक व्यवसाय सम्हानुपर्छ भन्ने मेरो सोँच थियो। यो सोँच मेरो बाल्यकालदेखिको हो। परिवारमा म एक्लो छोरा हुँ। परिवारले पनि व्यवसायमै सपोर्ट गर्नुपर्छ भनेर प्रेरित गरिरहनुभएको थियो। मेरो इच्छा पनि यसैमा थियो। नेपालमै आफ्नो परिवारको व्यवसाय सम्हालने र यसलाई अघि बढाउने आत्मविश्वास पनि बनाएको थिएँ। अधिकांश व्यक्ति नेपालको अर्थतन्त्र र यहाँको अवसर नभएको भन्दै विदेश पलायन हुने गरेको देखिन्छ। तर मलाई कम्पनीको लागिभन्दा पनि देश र अर्थतन्त्रका लागि केही गर्नु पर्छ भन्ने लाग्थ्यो। त्यसैले अध्ययन सकिएपछि नेपाल फर्किएर पारिवारिक व्यवसाय सम्हाल्न थालेँ।
हाम्रो व्यवसाय धेरै विस्तार भइसकेको छ। फुड उत्पादनमात्रै होइन, हामीले होटल व्यवसाय पनि विस्तार गरिसकेका छौं। विराटनगरमा प्याकेजिङ युनिट पनि छ। अब मल र र्याडिसन होटल सञ्चालन गर्ने योजनामा छौं। यसबाहेक अरु थुप्रै व्यवसाय विस्तार गरिरहेका छौं।
तपाइँ व्यवसायिक पारिवारिक घरानाको एक्लो छोरा, विदेशमा रहँदा अध्ययनसँगै कुनै काम पनि गर्नुभयो?
विदेशमा मेरो मुख्य उद्देश्य अध्ययन थियो। तर मैले अध्ययनसँगै काम पनि गरेँ। कुनै पनि काम सानो-ठूलो ठानिनँ र ठान्नु पनि हुँदैन। मैले 'वासरुम' सफा गर्नेदेखि होटलमा खाना पस्किने काम पनि गरेँ। बुबाले यस्तो काम किन गर्नुपर्यो भन्नुहुन्थ्यो। मैले सबै कामको अनुभव लिनुपर्छ र सबै कामलाई सम्मान गर्नुपर्छ भनेर जवाफ दिन्थे। मेरा लागि यो पनि ठूलो सफलता हो।
तपाइँ अहिले एउटा स्थापित कम्पनी हाँक्दै हुनुहुन्छ। यो कम्पनी स्थापित हुनलाई धेरै संघर्ष गर्नपर्यो होला। परिवारको त्यो संघर्षलाई तपाइँले कसरी हेर्नुहुन्छ?
म कम्पनीमा जोडिएको ५-६ वर्षमात्रै भयो। तर कम्पनी स्थापना गर्दाका क्षण, संघर्षबारे बुबाबाट धेरै सुनेको छु। त्यतिबेला हामीलाई समाजको सपोर्ट थिएन। सुरुवाती चरणमा सबैले हतोत्साहित गर्थे। मसला उद्योग राम्रो व्यवसाय होइन, किन जानुपर्यो भन्थे। धेरै बिक्री गर्न सकिँदैन भन्थे। त्यतिबेला हाम्रो आर्थिक अवस्था पनि राम्रो थिएन। सेञ्चुरी ब्राण्ड भएपछि पनि विदेशबाट धेरै ब्राण्डका मसला आउन थाले। यो पनि ठूलो चुनौती थियो हामीलाई। विदेशी उत्पादनको गुणस्तरभन्दा माथि रहनुपर्यो, मूल्यमा पनि प्रतिस्पर्धा र बानी बसाल्न चुनौती थियो। सेञ्चुरी स्वदेशी ब्राण्ड हो भनेर प्रचारमा जोड दिनुपर्यो।
सेञ्चुरी ब्राण्डले कसरी आफ्नै छाप बढाउन सफल भयो?
करिब ३५ वर्षअघि स्वदेशी तेल, घरमै उत्पादित कोलाबाट व्यवसाय सुरु भएको थियो। त्यसपछि बुबाले मसलाजन्य उत्पादनमा जाने सोँच बनाउनुभयो। तत्कालीन समयमा यो सोँचलाई धेरैले हतोत्साहित गरे। यो टप मार्केट हो भने। भारतबाट पनि थुप्रै मसला आयात हुन्छ। नेपालभित्र पनि घरघरमा बन्छ भनिएको थियो। तर अहिले मसलामा अगाडि छ। सुरुवाती चरणमा सानो स्केलबाट विराटनगर र यसका छेउछाउका क्षेत्र इटहरी, धरानलाई लक्षित गरी सुरु भएको थियो।
सुरुवाती लगानी कति थियो?
त्यतिबेला करिब १५ हजारको लगानी थियो। क्रमशः माग बढ्दै गएपछि बुबाको व्यवसायले उचाइ लिन थाल्यो। त्यसपछि जनशक्ति पनि बढाइयो। टिममा दक्ष जनशक्ति पनि बढे। मसलाबाट सुरु भएको वयवसायले क्रमशः स्न्याक्समा फड्को मार्यो। यो चाउचाउपछि नेपालकै दोस्रो स्न्याक्स हो। सेञ्चुरी ब्राण्डमा कुरमुरे, चिजवल, पोटेटो क्रयाकर, पोटेटो चिप्सलगायतका प्रडक्ट छन्। यसबाट पनि आम ग्राहकबाट राम्रो प्रतिक्रिया आउन थाल्यो। त्यसपछि अन्य प्रडक्टहरु चिया, ग्लुकोज, अचार, ब्रेकफास्ट सिरियल, ड्राइफुड, नमकिनलगायतका प्रडक्ट आए। अझै अरु पनि थुप्रै पाइपलाइनमा छ।
१५ हजारबाट सुरु गरेको यो कम्पनीको अहिलेको लगानी कति छ?
अहिले सेञ्चुरी ब्राण्डको समग्र लगानी करिब ६ अर्ब रुपैँया छ। यो देशभित्रको हो। अहिले हाम्रो निर्यात पनि धेरै राम्रो भइरहेको छ। अहिले कम्पनीले करिब १८ देशहरुमा आफ्ना उत्पादन निर्यात गरिरहेको छ।
कुन-कुन देशमा निर्यात हुन्छ?
ठूला देशहरुमा अमेरिका, अष्ट्रेलिया, बेलायत, जापान, डेनमार्क, बेल्जियम, क्यानडालगायतमा सेञ्चुरी ब्राण्डका उत्पादन निर्यात गरेका छौं। यसबाहेक मलेसिया, कतार, दुबईमा पनि निर्यात भइरहेका छन्।
ती देशहरुमा खास कस्ता प्रडक्टको माग बढी छ?
ती देशहरुमा सेञ्चुरी मसलाको बढी माग छ। ६ सय प्रकारका उत्पादनमध्ये मसलाका आइटम बढी निर्यात हुन्छ। किनभने ती १८ देशहरुमा नेपालीहरुको संख्या पनि बढिरहेको छ। उनीहरुको पहिलो रोजाई सेञ्चुरी बन्न सफल भएको छ। किनभने अहिले सबैलाई सेञ्चुरी भनेको के हो भनेर प्रश्न गर्दा मसला नै भन्ने बुझाइ छ। अधिकांशलाई सेञ्चुरीले अन्य प्रडक्ट निकाल्छ भन्नेबारे थाहा छैन।
तपाइँहरुको निर्यातको अवस्था कस्तो छ?
अघि पनि भनिसकेँ, हामी धेरै देशहरुमा निर्यात गरिरहेका छौं। कतीपय देशले मासिक दुई वटा ४० फिटको कन्टेनरभरी सामानको माग गर्छन्। यो भनेको राम्रो माग हो। यति माग हुनु भनेको सेञ्चुरीलाई धेरै रुचाउनु हो। त्यसैले हामीले धेरै राम्रो रेस्पोन्स पाइरहेका छौं। कम्पनीले वार्षिक ३ मिलियन डलर निर्यात गरिहेको छ।
सेञ्चुरी प्रडक्टको अन्तर्राष्ट्रिय बजारबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ?
हाम्रो प्रडक्ट नेपालीहरुले मात्रै मन पराउँदैनन्। भारतीय, बंगलादेशी, पाकिस्तानी, भुटानी, श्रीलंकनहरुले पनि धेरै रुचाएको पाएका छौं। एसियन देशहरुमा धेरै मन पाराएका छन्। यो हाम्रो लागि गर्वको कुरा हो। किनभने भारत, बंगलादेश र पाकिस्तानकै ठूल्ठूला कम्पनीहरुले मसला उत्पादन गर्छन्। हामी ती कम्पनीको बराबरीमा पुगेका छौं। त्यसैले यो नेपालकै लागि पनि गर्वको कुरा हो। हामी अन्तर्राष्ट्रिय बजारमा पनि प्रतिस्पर्धा गर्न सक्षम भइसकेका छौं।
स्वदेशी तेलबाट सुरु गरेको व्यवसायले अहिले ठ्याक्कै कति प्रडक्ट उत्पादन गर्छ?
कम्पनीको १३ वटा क्याटोगरीका प्रडक्ट छन्। यसअन्तर्गत, मसला, स्न्याक्स, ब्रेकफासट सिरियल, अचारलगायत १३ क्याटागोरी छन्। यो सबैभित्र ६ सय प्रकारका फरक-फरक प्रडक्ट छन्। ब्लेन्डेड मसलामात्रै करिब ४५ प्रकारका छन्। यसबाहेक धुलो पाउडर मसला करिब ७ वटा छन्। यसबाहेक इलाइची, पाँचपुरनलगायतका होल मसलामात्रै पनि उत्पादन गरिएको छ। आकारको हिसाबले ४ प्रकारका छन्। १६ ग्राम, ५० ग्राम, सय ग्राम र ५ सय ग्राममा उपलब्ध छन्। सबै क्याटेगोरीको गरेर करिब १६ सय प्रडक्ट उत्पादन हुन्छन्।
कच्चा पदार्थ कहाँबाट ल्याउनु हुन्छ? स्वेदशीमात्रै हुन्छ कि विदेशबाट पनि आयता गर्नुहुन्छ?
कूल उत्पादनको करिब ८० प्रतिशत कच्चा पदार्थ स्वदेशीले धानेको छ। किनभने हाम्रो इनहाउस म्याटेरियल प्याकेजिङ पनि छ। जीरा, धनिया, बेसार, चीया नेपाल भित्रबाटै लिइरहेका छौं ।
नेपालकै गुणस्तर उत्पादनलाई लिइरहेका छौं। कच्चा पदार्थ उत्पादन गर्न नेपालकै किसानलाई प्रेरित गरिरहेका छौं। तेल, मसला, मकै, मसला बढी परिणममा नेपालमा पाइँदैन।
ग्राहकले सेञ्चुरी नै किन रोज्ने?
सेञ्चुरी भनेको एउटा ब्राण्डमात्रै होइन। यो नाम लिनासाथ सबैको दिमागमा एक प्रकारको फुड भन्ने लाग्छ। अझ बढी मसला भन्ने बुझाइ छ। यद्यपि अहिले सेञ्चुरी भनेपछि कुरमुरे, स्न्याक्सलगायतको प्रडक्ट भन्ने पनि सोच्न थालेका छन्। यसले बजारमा एक प्रकारको छाप बनाइसकेको छ। हामीले ग्राहकलाई गुणस्तरयुक्त सामान दिइरहेका छौं। गुणस्तरमा सम्झौता भएको छैन। अन्तर्राष्ट्रिय तहमा पनि अब्बल सावित भएका छौं।
अहिले कच्चा पदार्थको मूल्य धेरै बढेको छ। आन्तरिक प्रयोजनका तेल खरिद गर्नुपर्छ। तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमै ह्वात्तै बढेको छ। त्यस्तै धनियाँ, जिरा, बेसारलगायत सबै बस्तुको मूल्य बढेको छ। हामीले मूल्य बढ्यो भनेर कहिल्यै सस्तो, मिसावटी प्रडक्ट ल्याउदैनौं। फ्याक्ट्रीमा गुणस्तर नाप गर्ने यन्त्र छ। यस्ले कस्तो गुणस्तर छ भनेर नाप्ने गरेका छौं। हाम्रो मापदण्ड भित्र गुणस्तर मेल खाएमामात्रै प्रडक्ट प्रयोग गर्छौं।
त्यसो भए अहिले ठ्याक्कै कुन-कुन क्षेत्रमा लगानी भएर व्यवसाय विस्तार भइरहेको छ?
कम्पनीको बृहत् पोर्टफोलियोमा दुगड स्पाइसेस एण्ड फुड प्रोडक्ट्स प्रालि, नेशनल पोलिमर एण्ड केमिकल इन्डस्ट्रिज, एसिया केम प्रालि, होटल ह्यारिसन प्यालेस प्रालि, फन एण्ड फुड भिलेज रिसोर्ट , सेन्चुरियन मल र रेडिसन होटल रहेका छन्।
व्यवसायको सुरुवात सेञ्चुरीबाटै भएको थियो। दुगड स्पाइसी एण्ड फुड प्रडक्टबाट सुरु भएको थियो। यसको मुख्य फोकस खाद्यान्न नै हो। तर यसबाहेक पनि विराटनगरमा प्याकेजिङ गर्ने एसिया केम कम्पनी सञ्चालनमा छ। यो कम्पनीले स्न्याक्सहरुको प्याकेट, बोतलको लेवल, स्लिप, कार्टुनको टेपलगायत बनाउँछ। यो कम्पनीले निर्यात पनि गर्छ। यसबाहेक विराटनगरमा विगत ६-७ वर्षदेखि होटल ह्यारिशन प्यालेस सञ्चालनमा छ। यो फोर स्टार क्याटेगोरीको बुटिक होटल हो। यो विशुद्ध साकाहारी होटल हो। यहाँ धेरै विदेशी पर्यटकहरु पनि आएर बस्छन्। सबैले घरायसी खानपान र वातावरण भएको प्रतिक्रिया दिन्छन्।
पछिल्लो समय कोभिडले धेरै उद्योग प्रभावित भए। तपाइँहरुलाई कस्तो पर्यो?
यसको प्रभाव हरेक क्षेत्रलाई पर्यो। विशेष गरेर सिमेन्ट, स्टिललगायतका अखाद्य उत्पादनलाई पर्यो। तर यसको मामलामा हामी भाग्यामानी हौं। किनभने हाम्रो खाद्यान्न सम्बन्धित उद्योग भएकाले कम प्रभाव पर्यो। यो अत्यावश्यकभित्र परेकाले काम रोकिएन। यद्यपि कम्पनीको लक्ष्यअनुसार करिब ३० प्रतिशतमात्रै काम भयो। अरुको जस्तो ठप्प हुने स्थिति भएन। यो आफैँमा ठूलो कुरा भयो। तर यो महामारीमा कम्पनीको अपेक्षाअनुसार व्यवसाय हुन सकेन। कोभिडकालमा सरकारले विहान ६ बजेदेखि विहान १० बजेसम्ममात्र बजार खुला गरेको थियो। यो ४ घण्टाको अवधिमा कर्मचारीलाई परिचालन गर्न चुनौती भयो। किनभने त्यही समयमा कम कर्मचारीबाट धेरै ठाउँमा यति धेरै बस्तुको बजारीकरणदेखि बिक्री वितरण गर्नुपर्थ्यो। यो समय हाम्रो लागि ठूलो चुनौती बन्यो। जबकि सामान्य समयमा करिब ७ घण्टाको कार्यअवधिमा २०-३० वटा पसलसम्म पुग्न सकिन्छ। कोभिडका बेला थोरै समय अवधिमा धेरै ठाउँमा पुग्न सीमित कर्मचारीबाट नपुगेर संख्या थप्नु परेको थियो।
मसलामा प्रयोग हुने धनियाँ युक्रेन र रसियाबाट पनि आयात हुन्थ्यो। दुई देशबीच युद्धका कारण सबै बस्तुको मूल्य चर्किएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य चर्किँदैगर्दा अहिले उद्योगलाई कस्तो प्रभाव परेको छ?
दुई देशको युद्धले प्रत्यक्ष पेट्रोलियम पदार्थलाई मात्र होइन, अप्रत्यक्षरुपामा सबै क्षेत्रमा असर परेको छ। यसले ढुवानी शुल्क बढेकाले दैनिक उपभोग्य बस्तुको महँगी बढेको छ। हामीले प्रयोग गर्ने हरेक सामानको लागत बढेको छ। जसका कारण उपभोक्ता महँगीको चपेटामा परेका छन्। हाम्रो उद्योगमा पनि यसको प्रभाव परेको छ। तर हामीले उत्पादीत बस्तुको मूल्य बढाएका छैनौं।
हरेक वर्ष लागत बढ्छ। तर आजभन्दा १० वर्ष अगाडि कुरमुरेको मूल्य जति थियो, आज पनि त्यही छ। दशकअघि विभिन्न ३ आकारमा १०, २० र ४० रुपैँयाको मूल्य तोकेका थियौं। आज पनि सोही मूल्यमा सञ्चालित छ।
मूल्यवृद्धिको प्रभाव कम्पनीमा कस्तो पर्यो?
स्न्याक्समा बढाउन सक्दैनौं, तर केही मात्रामा मसलाको मूल्य भने बढाएका छौं। सकभर बिक्रीकर्ताले यस्तो प्रतिस्पर्धी बजारमा मूल्य किन बढाएको भनेर प्रतिप्रश्न गर्छन्। सबै मसलामा होइन, केहीमा बढी लागतका कारण ५ रुपैँयादेखि १० रुपैँयासम्म बढाउन बाध्य भयौं। कच्चापदार्थ नै महँगो पर्न गएकाले अलीअली हामीले रणनीति अपनाउन बाध्य भयौं।
मूल्य बढाउन उपयुक्त नभएकाले बस्तुको परिमाण घटाएर प्याकेटमा ग्राम उल्लेख गरेका छौं। यसअघि ५५ ग्राम सामान ५० ग्रामको बनाइएको छ। यसो नगरे कम्पनी घाटामा जान्छ। किनभने हरेक वर्ष लागत बढिरहेको छ।
बजार कतिको प्रतिस्पर्धी छ? चुनौती कस्ता छन?
आम सर्वसाधारणले सेञ्चुरीको स्वाद लिइसकेका छन्। अधिकांशमा बानी पनि परिसकेको छ। यसको ब्राण्ड बानेपनि चुनौती अझै छ। प्रतिस्पर्धा नभए मनोपोली होला। हाम्रा उत्पादनहरु खाद्यान्नमा आधारित छन्। यो अत्यावश्यक वस्तु भएकाले सहजै बजारमा बेच्न सकिन्छ। जोसुकैले यस्ता उत्पादन ल्याउन सक्छन्। यसमा कुनै बन्देज छैन। प्रतिस्पर्धा त धेरै नै बढेको छ। तर अहिलेसम्म सेञ्चुरी नेपाल नम्बर वान कम्पनी हो। तर अहिले स्वदेशी र विदेशी धेरै कम्पनीहरुले मसला, स्क्यक्स, सिरियल, चियालगायतका वस्तु उत्पादन गरिरहेका छन्। ती कम्पनीहरुले हामीलाई पनि धेरै गाह्रो पार्छन्। समग्रमा बजार धेरै प्रतिस्पर्धी बन्दै गएको छ। नयाँ कम्पनीहरुले सुरुमा बजारमा पकड जमाउन सक्दैनन्। त्यसैले उनीहरुले निश्चित क्षेत्रमा 'नयाँ स्कीम' दिएर बजारीकरण गरिरहेका छन्। बिक्रीको लक्ष्य तोक्ने र पूरा गर्नेलाई बाइक दिने, थाइल्याण्ड पठाउने गरिन्छ। यस्तै रणनीति लिएर ललितपुरबाट भक्तपुर हुँदै विभिन्न क्षेत्रमा आफ्नो व्यवसाय विस्तार गर्छन्। यसो हुँदा हामीलाई धेरै गाह्रो पार्छ। यसलाई ट्याकल गर्न हामीले पनि 'स्किम' ल्याउनुपर्यो। होलसेलरदेखि रिटेलरसम्म अफर दिनुपर्यो। यसले बजारमा टिकिराख्न गाह्रो पार्छ।
पारिवारिक व्यवसाय धानेर अहिले युवा उद्यमी बन्नु भएको छ। लामो समयदेखि कम्पनीले गति लिइरहेको छ। कम्पनीले मुलुकको अर्थतन्त्रका लागि के-के योगदान दिएको छ भनेर गौरव गर्नुहुन्छ?
कम्पनीले स्वदेशमा आफ्ना उत्पादन बिक्री गरेसँगै निर्यात पनि बढाइरहेको छ। जसले गर्दा विदेशी मुद्रा भित्र्याइरहेको छ। हामीले १३ सय हाराहारीलाई रोजगार दिइरहेका छौं। अझै यो संख्या बढ्ने क्रममा छ। त्योबाहेक उच्च गुणस्तरीय प्रडक्टहरु उपलब्ध गरिरहेका छौं। यो पनि बढ्ने क्रममै छ। अझै धेरै उत्पादनहरु पाइपलाइनमा छन्। अब हामी पानी उत्पादन, स्न्याक्सलगायतका प्रडक्ट थपदैछौं। समग्रमा हाम्रो व्यवसायले मुलुकको अर्थतन्त्रमा ठूलो योगदान दिएको छ। हाम्रो उत्पादन जति बढ्छ, सोहीअनुसार बिक्री भएपछि मुलुकलाई सोही अनुपातमा कर पनि तिर्न सक्छौं।
नीतिगत व्यवस्था कतिको व्यवसायमैत्री छ?
निजी क्षेत्रहरुलाई सरकारको धेरै सहयोग छैन। निजी क्षेत्र भनेको देशको मेरुदण्ड हो। मुलुकको अर्थतन्त्र निजी क्षेत्रले नै चलाउँछ भने यिनीहरुलाई किन सपोर्ट भएन। हालः बैंकमा लगानीयोग्य पुँजी (तरलता) अभावले हाम्रो व्यवसायलाई निरन्तर गर्न गाह्रो परेको छ। हामीले प्रतितपत्र (एलसी) खोल्न पाइरहेका छैनौं। हामीलाई तोकिएको कर्जा सीमामा रहेर पनि एलसी खोल्न पाएका छैनौं।
सरकारले व्यवसायीको पीडा पनि सुनिदिनु पर्यो नि। आज हामीले के-कस्ता समस्याको सामना गरिरहेका छौं, अहिलेको अवस्थाले भविष्यमा के समस्या पर्न सक्छ भन्ने विचार गरिनुपर्थ्यो। यसबारे ध्यानाकर्षण हुन जरुरी छ। मुलुकभित्र बसेर केही गर्ने वातावरण नभएकै कारण अधिकांश युवाहरु विदेश अध्ययन गर्न गएपछि उतै पलायन हुने गरेको देखिन्छ। नेपालमा क्षमतावान मान्छे छन्, जसले बाहिर गएर राम्रो काम गर्छन्। यसलाई मुलुकले उपयोग गर्न सकेको छैन। किन? यसर्थ सरकारले पनि विदेशमा अध्ययन गर्न गएकालाई नेपालमै फर्काएर काम गर्ने वातावरण सिर्जना गरिनुपर्छ।
अहिले बैंक तथा वित्तीय संस्थाको अवस्था नाजुक भएकै हो? बढेको व्याजमा लिन्छुभन्दा पनि बैंक दिनै नसक्ने हालतमा पुगेकै हुन?
पर्याप्त कर्जाको व्याज वार्षिकरुपमा बढिरहन्छ। कतिपय ठूलो बैंकमा जाँदा पनि कर्जा पाइरहेका छैनौं। ठूला बैंकले कर्जा दिएका छन्, तर धेरै कम रकममात्रै दिएका छन्। थोरै रकम लिँदा पनि उही उच्च व्याजदरमा लिनु परेको छ। बैंकहरुमा पहिल्यै खोलिएका प्रतितपत्र (एक्जिस्टिङ एलसीहरु) खुलेको छ। हामीले ५० लाख, ६० लाखको एलसी खोलेका छौं भने त्यसलाई पनि हामीले पूरै उपयोग गर्न पाइरहेका छैनौं। किनभने हमीले पाउनेभन्दा कम अर्थात् ३०-४० लाख रुपैँयाभन्दा बढी दिएको छैन। नयाँ एलसीको त कुरै नगरौँ। अहिले मुलुकमा विदेशी विनिमय सञ्चिती पनि घट्दो छ। अहिलेको सञ्चितीले ६.७ महिनामात्रै आयात धान्नसक्ने स्थिति छ। सञ्चितीमा दबाब आइरहने हो भने आयात धान्ने अवधि घट्दै जानसक्छ। लामो समयसम्म यो अवस्था रहिरहे अर्को श्रीलंका पनि बन्न सक्छौं। अहिले श्रीलंकामा विदेशी मुद्राको कमीले गर्दा अर्थतन्त्र चरम संकटमा पुगेको छ।
त्यसोभए एलसीको कडाइले निजी क्षेत्रमा कस्तो प्रभाव देखिएको छ?
सरकार र बैंकले को-अपरेट नगरे निजी क्षेत्रलाई गाह्रो पर्छ। यसको ठूलो असर निजी क्षेत्रलाई पर्छ। हामीले ऋण नपाएपछि उत्पादन घटाउनुपर्यो। उत्पादन घट्नेवित्तिकै बिक्री घट्छ। बिक्री घटेपछि माग पनि घट्न सक्छ। जति हामीले बिक्री लक्ष्य लिएका थियौं, त्यो पूरा गर्न सक्दैनौं। यो समग्र उद्योग तथा व्यवसायको व्यथा हो।
मुलुकको कर प्रणालीप्रति तपाईँको धारणा के छ?
देशको मेरुदण्ड भनेकै कर हो। करले गर्दा नै मुलुक बाँच्न सक्छ। कर कसैले तिरेन भने समग्र मुलुकलाई असर पर्छ। यो महत्वपूर्ण पाटो हो। तर हाम्रो कम्पनी निर्यातमा आधारित कम्पनी हो। हामीले विभिन्न १८ वटा मुलुकमा सामान निर्यात गरेर मुलुकका लागि डलर भित्र्याउछौं। हामीले वर्षेनि 2 मिलियन डलर भित्र्याइरहेका छौं। तर हामीजस्ता कम्पनीका लागि सरकारले अझै केही गर्नुपर्थ्यो। आयकर लगायतमा केही सहुलियत छ, तर अझै अपेक्षा गरेअनुसार कर छुटमा सहुलियत भएन। हामीजस्तो निर्यात गरेर डलर ल्याउने कम्पनीलाई थप प्रोत्साहन गर्नुपर्यो।
अन्तर्राष्ट्रिय स्तरमा गरेको अध्ययनलाई तपाइँले कसरी लागू गरिरहनु भएको छ?
मैले व्यवस्थापन, लेखा तथा वित्तीय उद्यमशीलता लक्षित गरेर अध्ययन गरेँ। मैले पारिवारिक व्यवसाय सम्हाल्न यहाँ आवश्यक पर्ने विषय नै अँगालेको थिएँ। नेपाल आएर मलाई विजनेशमा सहयोग गर्नुथियो। यसैले अबको आवश्यकता परिवर्तनका लागि प्रविधि जरुरी हुने थाहा पाए। आजको दिनमा कम्पनीमा टेक्नोलोजीको प्रयोग कसरी गर्न सक्छौं, यसले उत्पादनमा, बिक्रीमा, हिसाबकिताबलगायतमा कसरी सहयोग गर्नसक्छ भन्ने धेरै कुरा थाहा पाएँ।
अहिले पनि केही कम्पनीहरु आधुनकि प्रविधिबारे जानकार छैनन्। विदेशीमा अध्ययनपश्चात् नयाँ सोँचका साथ काम गर्ने तरिका सिकेर नेपाल फर्किए। त्यहाँ सिकेका कुरा कम्पनीमा कार्यान्वयन गर्दा दीर्घकालमा धेरै राम्रो गर्न सक्छ। ३ दशक अगाडिदेखि काम गरिरहेको हाम्रो कम्पनीलाई सुधार ल्याउन सहयोग गरेको छ। नयाँ व्यवस्थापनले बिक्री कसरी बढ्न सक्छ भन्ने अध्ययन गरेकाले यसलाई कार्यान्वयनमा ल्याएँ। धेरै हदसम्म सफल भएको महसुस गरेको छु।
कम्पनीको भावी योजना के-के छन्?
अब करिब ४ वटा विजनेश भर्टिकलमा जाने योजना बनाएका छौं। नमकिन, स्न्यन्स र अन्य भान्छामा काम लाग्ने प्रडक्टहरु ल्याउदै छौं। अब विराटनगरमा एउटै बिल्डिङमा मल र होटल सञ्चालन गर्ने योजनामा छौं। अब ५-६ महिनापछि केएफसी, पिज्जा हटलगायतको मल सञ्चालन हुने भएको छ। सोही बिल्डिङमा अन्तर्राष्ट्रिय ब्राण्ड र्याडिसन होटल सञ्चालन गर्दैर्छौं। यो फ्रेञ्चाइज र्याडिशन हो। यसमा नाम र व्यवस्थापन सबै र्याडिशनकै हुन्छ। यो पूर्वाञ्चलकै पहिलो पाँच तारे होटल हुने छ। करिब डेढ वर्षपछि सञ्चालन गर्ने योजना छ।