स्थानीय तह निर्वाचन : मेयर र अध्यक्ष लड्न दुई उपसचिवले दिए राजीनामा
नवलपुर : नगरपालिकाको मेयर र गाउँपालिकाको अध्यक्षमा चुनाव लड्न नेपाल सरकारका दुईजना उपसचिवले जागिर छाडेका छन् । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा मेयर लड्न उपसचिव विष्णुप्रसाद भुसालले राजीनामा दिएका हुन् । यस्तै सोही जिल्लाको बुलिङटार गाउँपालिकाको अध्यक्ष पदमा चुनाव लड्न डोलराज पाण्डेले उपसचिवबाट स्वेच्छिक अवकाश लिएका छन् ।
उनीहरु दुवैजना नेपाली कांग्रेसबाट चुनाव लड्ने उमेदवारका आकांक्षी हुन् । मेयर पदमा चुनाव लड्न खोजेका भुसालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट राजीनामा दिएका हुन् । पाण्डेले शिक्षा विकास तथा समन्वय इकाई पश्चिम नवलपरासीको उपसचिवबाट स्वेच्छिक अवकाश लिएका हुन् ।
भुसालले २२ वर्ष र पाण्डेले २८ वर्ष सरकारी सेवामा विताएका हुन् । भुसाल देवचुली नगरपालिका–१० र पाण्डे बुलिङटार–३ का बासिन्दा हुन् । जागिर छाडेका दुवैले सरकारी सेवाको अनुभवले स्थानीय तहको विकास गर्ने सोचका साथ राजनीतिमा आएको बताएका छन् ।
पाण्डे उमेरका कारण १ वर्षपछि अवकाश हुँदै थिए । भुसालको अवकाश हुन ४ वर्ष बाँकी थियो । भुसाललाई मेयरको टिकट दिन जिल्ला र प्रदेशका नेताहरुले आश्वासन दिएपछि राजीनामा दिएको बताइएको छ । ‘नेताहरुको ग्रिन सिग्नलबाटै राजीनामा दिएको हुँ । पार्टीले टुंगाउँला,' भुसालले भने ।
अध्यक्ष पदका आकांक्षी पाण्डेले आफूलाई कुनै नेताले आश्वासन नदिएको बताए । 'नेताहरुको आश्वासनले होइन । सरकारी जीवन धेरै भयो । यही अनुभवबाट गाउँमा केही गरौं भनेर सामाजिक सेवामा आउन खोजेको हुँ ,' पाण्डेले भने ।
मेयर र अध्यक्ष पदका लागि जागिर छाडेका दुवैजनाको उमेदवारको टुंगो अझै लागेको छैन । दुवैजनाको पदमा कांग्रेसका धेरै नेताले आकांक्षा देखाएका छन् । देवचुली नगरपालिकाको मेयरका लागि भुसालसहित १३ जना र बुलिङटार गाउँपालिका अध्यक्षका लागि पाण्डेसहित १० जना आकांक्षीको नाम सिफारिस भई आएको नेपाली कांग्रेसका जिल्ला सचिव होमराज रानाभाटले जानकारी दिए ।