स्थिरीकरण कोषमा १० करोड
काठमाडौं : बचत तथा ऋण सहकारी संघ (नेफ्स्कून) स्थिरीकरण कोष सञ्चालनको अन्तिम तयारीमा जुटेको छ। सहकारी ऐनको प्रावधानअनुसार १० करोड पुँजी संकलन भइसकेको छ। सहकारी विभागका रजिस्ट्रार रुद्रप्रसाद पण्डितले सञ्चालनका लागि नेफ्स्कूनबाट फाइल आइपुगेको बताए। सञ्चालन अनुमतिका लागि विभागले सहकारी मन्त्रालयमा पत्राचार गरिसकेको छ। अर्थ तथा कानुन मन्त्रालयबाट स्वीकृति लिएर सञ्चालन अनुमति दिनेछ।
सहकारी ऐन २०७४ ले स्थिरीकरण कोष नेफ्स्कूनकै मातहतमा सञ्चालन हुने उल्लेख गरेको छ। कोषका अध्यक्ष नेफ्स्कून अध्यक्ष र सदस्य सचिव नेफ्स्कूनकै सदस्य सचिव रहन्छन्।
साढे १० करोड रकम जम्मा भइसकेकाले कोष छिट्टै सञ्चालनमा आउने नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले बताए। कोषको रकम समस्यामा परेका सहकारीलाई उद्धार गर्न उपयोग हुन्छ। तर, त्यसका लागि त्यो सहकारीले योगदान गरेको हुनुपर्छ। सानो समस्याले पनि सहकारी डुब्ने जोखिम भएकाले बचतकर्ताको बचत सुरक्षित होस् भन्ने उद्देश्यले स्थिरीकरण कोषमार्फत सहकारीलाई स्थायित्व दिन खोजिएको उनले बताए। नेफ्स्कूनका पूर्वअध्यक्ष एवं राष्ट्रिय सहकारी महासंघका सञ्चालक डीबी बस्नेतले कोष सञ्चालन गर्न ढिलो भइसकेको बताए।
कोषमा योगदान गर्न सहकारीले नाफाको कोषबाट पाँच प्रतिशत स्थिरीकरण कोषमा जम्मा गर्नुपर्छ। नेफ्स्कूनका अनुसार कोषमा जिल्ला संघसहित २ सय ३१ सहकारीले योगदान गरेका छन्।
त्यसमध्ये २ सय २५ वटा प्रारम्भिक बचत तथा ऋण सहकारी छन्। राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडीले स्थिरीकरण कोषमा अझै प्रष्ट भएर जानुपर्ने जरुरी रहेको बताए।